कोशीकी उपसभामुख काठमाडौंमा, प्रदेशसभा बैठक अनिश्चित

उनले सभा सञ्चालन गरेको भए मुख्यमन्त्री उद्धवकुमार थापाले विश्वासको मत पाउने सम्भावना रहन्थ्यो । तर उपसभामुख अनुपस्थित भएको र एमाले र राप्रपाका गरि ८ जना ज्येष्ठ सदस्यले आज उपस्थित हुन नसक्ने जानकारी गराइसकेकाले आजको प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ ।

नेपालभ्युज

कोशीकी उपसभामुख काठमाडौंमा, प्रदेशसभा बैठक अनिश्चित

काठमाडौं। कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आइपुगेकी छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची रहेकाले प्रदेशसभा बैठकमा उनको उपस्थिति निकै महत्वपूर्ण थियो ।

उनले सभा सञ्चालन गरेको भए मुख्यमन्त्री उद्धवकुमार थापाले विश्वासको मत पाउने सम्भावना रहन्थ्यो । तर उपसभामुख अनुपस्थित भएको र एमाले र राप्रपाका गरि ८ जना ज्येष्ठ सदस्यले आज उपस्थित हुन नसक्ने जानकारी गराइसकेकाले आजको प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।

मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत (४७ मत) मात्रै छ ।

विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जेष्ठ सांसदहरूले ‘घरायसी समस्या’ देखाएर धमाधम बिदा लिएका छन् । एमाले र राप्रपा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिलाउने योजनामा छन् ।

प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था गरिएको छ ।

जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय-समयमा बढीमा पाँच सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख-उपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा एमालेकी मालतीकुमारी लिम्बू सबैभन्दा जेष्ठ हुन् । तर, उनले अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा गराइसकेकी छन् ।

सँगै एमालेकै अन्य आठ जेष्ठ सांसदहरूले पनि आजको बैठकमा अनुपस्थित हुने जानकारी दिइसकेका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठैजनाले निवेदनमा ‘घरायसी जरुरी काम’ भएको उल्लेख गरेका छन् ।

यस्तै मालतीकुमारी लिम्बूपछि अध्यक्ष मण्डलका अर्का सदस्य राप्रपाका अम्बरबहादुर विष्ट पनि बैठकमा उपस्थित हुने छैनन् । किनकि उनलाई आफ्नो दल राप्रपाले बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । “पार्टी केन्द्रले नै अनुपस्थित हुनु भनेको छ,” उनले स्वीकारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved