साढे १५ प्रतिशतले घट्यो व्यापार घाटा, मूल्यवृद्धि ७.७४ प्रतिशत

नेपालभ्युज

साढे १५ प्रतिशतले घट्यो व्यापार घाटा, मूल्यवृद्धि ७.७४ प्रतिशत
फाइल तश्वीर

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आर्थिक वर्षको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा मुलुकबाट एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कुल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौ प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ । स्पोञ्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारी साधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेका राष्ट्र बैंकले जनाएको छ ।

मूल्यवृद्धि ७.७४ प्रतिशत

मूल्य गत आर्थिक वर्ष २०७९र८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।

गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो ।

अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।

साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको ८ दशमलव ६५ प्रतिशत छ ।

गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशते छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।

गत आवमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६२ प्रतिशत रहेको छ । अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत थियो । गत असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ४८ प्रतिशत देखिएको छ । जबकि, २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९ दशमलव ०३ प्रतिशत थियो ।

गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७ दशमलव ५५, तराईमा आठ, पहाडमा ७ दशमलव ५६ र हिमालमा ७ दशमलव १२ प्रतिशत छ । अघिल्लो आव उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ७३, ६ दशमलव ४१, ६ दशमलव ८७ प्रतिशत र ६ दशमलव ०७ प्रतिशत थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved