सरकारका काममा जनताले पक्कै धन्यवाद दिएकै होलान : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

सरकारका काममा जनताले पक्कै धन्यवाद दिएकै होलान : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सरकारले विभिन्न प्रकरणमा अनुसन्धान थाल्नु सुशासनका पाइला भएको बताएका छन् ।

मंगलबार बालुवाटारमा भएको कार्यक्रममा प्रचण्डले भुटानी शरणार्थी प्रकरणदेखि लिएर ललिता निवास हुँदै ठूलो मात्रामा अवैधरूपमा विमानस्थलबाटै बाहिरिएको सुन पक्राउ प्रकरण सबै वर्तमान सरकारले सुशासनमा गरेको प्रत्याभूतिको सुरुआत भएको स्पष्ट पारेका हुन् ।

उनले नेपाली नागरिकलाई विदेशी बनाएर विदेश पठाउनेजस्ता जघन्य अपराधका घटनामा संलग्न मानिसलाई पक्राउ गरी कारबाही गर्न नै सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको हो भने।

उनले यस्तो अपराधमा संलग्नलाई सरकारले कारबाही गर्ने र यसको अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘म तेस्रो पटक प्रधानमन्त्री भएदेखि नै मुलुकमा जनतालाई सुशासन, न्याय र सेवाको प्रत्याभूति गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेको हुँ र सरकारको सुशासनको अभियानको सुरुआत यस्ता भ्रष्टाचारका प्रकरणको छानबिनबाट नै थालेको हो, यसमा जनताले सरकारलाई धन्यवाद दिएकै छन् भन्ने मेरो बुझाइ छ ।’

त्यस्तै ललिता निवासको जग्गामा भएको अनियमितताको अर्को फाइल खोल्नुको कारण पनि त्यही भएको उनको भनाइ थियो । उनले भने, “पहिला नक्कली भुटानी प्रकरणको फाइल खोल्यौँ र त्यसबाट यस्तो अपराधमा समेत राज्यका कस्ता कस्ता निकाय, कर्मचारी तथा नेताहरू स्वयं संलग्न हुँदारहेछन् भन्ने देखियो र त्यसपछि देशमा भूमाफियाको जालो कस्तो रहेछ भन्ने कुराको अध्ययन ललिता निवासको फाइलबाट देखियो ।”

देशमा सरकारी जग्गालाई व्यक्ति व्यक्ति मिलेर, सेटिङ गरेर निजी बनाई कसरी अनियमितता गर्दा रहेछन् भन्ने कुराको अध्ययन गरी त्यस्ता व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गरेर यस्तो प्रवृत्तिलाई नै परास्त पार्नका लागि ललिता निवासको जग्गा अनियमितताको फाइल खोलिएको उनले बताए ।

यो अनुसन्धान देशमा भूमाफियाको चलखेललाई पूर्णतः रोक्ने र उनीहरूको जालो तोडेर सरकारी जग्गाको संरक्षण गर्ने अभियानको थालनीका लागि पनि ललिता निवासको जग्गा अनियमितता फाइल खोलिएको उनको स्पष्टीकरण थियो ।

प्रधानमन्त्री प्रचण्डले  भने, “यो त सरकारको सुशासनको थालनी हो र आगामी दिनमा यस्ता सरकारी जग्गा या अन्य अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् ।” त्यसपछि पछिल्लो पटक सुन प्रकरण आएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी सबै प्रकरणमा सरकारले यो गर्नु या त्यो नगर्नु नभनेको र राज्यका सम्बन्धित निकायले बिना कुनै पक्षपात अनुसन्धान गरिरहेकाले दोषी पत्ता लगाएरै छोड्ने विश्वासमा आफू रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved