हेनरी किसिन्जरलाई चीनले किन आफ्नो ‘पुरानो मित्र’ मान्छ ?

किसिन्जर सर्वाधिक धेरै पटक चीन भ्रमण गर्ने अमेरिकी हुन् । उनले १०० वर्षको जीवनमा १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका छन्। तर, कुनै राजकीय पदमा हुन् वा नहुन् चिनियाँ सरकारले उनको भ्रमणलाई उच्च महत्त्व दिने गर्दछ ।

हेनरी किसिन्जरलाई चीनले किन आफ्नो ‘पुरानो मित्र’ मान्छ ?

काठमाडौं। अमेरिका र चीन समकालीन विश्वका दुई मुख्य प्रतिस्पर्धी राष्ट्र हुन् । भनिन्छ, यी दुई देशबीच कुनै दिन युद्ध हुन सक्ने स्तरको दुश्मनी छ । तर, अमेरिकी विद्वान्, लेखक, राजनीतिशास्त्री, कुटनीतिज्ञ तथा पूर्वविदेशमन्त्री हेनरी किसिन्जर भने चीनका असल मित्र मानिन्छन् ।

सन् १९२३ मे २७ मा जन्मिएका किसिन्जरले १०० वर्ष पूरा गरे । तर, गत महिना उनी चीन भ्रमणमा थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङ किसिन्जरको भव्य स्वागत गरे । राष्ट्रपति सीले भने–‘पुराना मित्रलाई हामी कदापि बिर्सन सक्दैनौं ।’

राष्ट्रपति सीसँगको भेटमा किसिन्जरले भने–‘अमेरिका–चीन सम्बन्ध भनेको विश्व शान्ति र मानव समाजको प्रगतिको सवाल हो । यो सम्बन्धलाई समधुर राख्न कसैले कुनै हेलचेक्र्याइँ गर्न मिल्दैन ।’

किसिन्जर सर्वाधिक धेरै पटक चीन भ्रमण गर्ने अमेरिकी हुन् । उनले १०० वर्षको जीवनमा १०० पटकभन्दा बढी चीनको भ्रमण गरेका छन्। तर, कुनै राजकीय पदमा हुन् वा नहुन् चिनियाँ सरकारले उनको भ्रमणलाई उच्च महत्त्व दिने गर्दछ ।

चीनमा हेनरी किसिन्जरको यति धेरै महत्त्व किन छ ? यसलाई बुझ्न सन् १९५० देखि १९७० को दशका घटनातिर फर्किनुपर्दछ । यो २० वर्षको अवधिमा अमेरिका–चीन सम्बन्ध बिल्कुलै खराब थियो ।

सन् १९७० को दशकमा हेनरी किसिन्जरले अमेरिका-चीन सम्बन्धमा अपत्यारिलो परिवर्तन ल्याएका थिए । किसिन्जरको परिर्वतनले चीनको प्रगतिमा धेरै ठूलो योगदान गर्‍यो । कतिपय विश्लेषक भन्छन्–‘सन् १९७० को दशकमा किसिन्जरले त्यस्तो भूमिका नगरेको भए आजको शक्तिशाली र समृद्ध चीन हुने थिएन ।’

१ सय वर्षको उमेरमा पनि चीन भ्रमणमा पुगेका किसिन्जर राष्ट्रपति सीसँग

के भएको थियो ?

सन् १९२७ देखि १९४९ सम्म चीनमा च्याङ काई सेक नेतृत्वको कोमिन्ताङ पार्टीको सरकार र माओ चतोङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीबीच २२ वर्ष लामो गृहयुद्ध भएको थियो । कोमिन्ताङ सेनालाई राष्ट्रवादी सेना वा ‘श्वेत सेना’ भनिन्थ्यो । कम्युनिस्ट पार्टीको सेनालाई जनमुक्ति सेना वा ‘लाल सेना’ भनिन्थ्यो ।

चिनियाँ लाल सेनालाई सोभियत संघको समर्थन थियो र श्वेत सेनालाई अमेरिकाको । यो गृह युद्धमा अन्ततः लाल सेना विजय भयो । सन् १९४९ मा माओले नयाँ जनवादी क्रान्ति पूरा भई कम्युनिस्ट पार्टीको सत्ता स्थापना भएको घोषणा गरे ।

पराजित श्वेत सेनाले भने ताइवानमा पुगेर मोर्चा लियो । लाल सेनाले ताइवान कब्जा गर्न सकेन वा चाहेन । तानइवानमा कोमिन्ताङले छुट्टै सरकार बनाएर शासन सुरु गर्यो ।

अब समस्या के आयो भने विश्वका लागि आधिकारिक चीन कुन हो ? संयुक्त राष्ट्र संघमा चीनको प्रतिनिधित्व कसले गर्ने ? अमेरिकालगायत पश्चिमा विश्वले ताइवानलाई आधिकारिक चीनको मान्यता दियो । अमेरिका चीन सम्बन्ध राम्रो हुन सकेन ।

के गरेका थिए किसिन्जरले ?

भियतनाम युद्ध लम्बिँदै र अन्ततः पराजयको सामना गरेपछि अमेरिकाले चीन नीतिमा पुनर्विचार गर्न थालेको थियो । त्यो बेला भियतनाम उत्तर र दक्षिण दुई देशमा विभाजित भएको थियो । उत्तर भियतनाममा हो ची मिन्ह नेतृत्वको कम्युनिस्ट सरकार थियो र दक्षिणमा अमेरिका समर्थित सरकार । भियतनाम युद्धमा चीनले उत्तर भियतनामलाई साथ दियो । अमेरिकाले साथ दिएको दक्षिण भियतनामले हार व्यहोर्नुपर्‍यो ।

भियतनाम युद्धमा पराजयपछि किसिन्जरले चीनको बढ्दो शक्ति र भूमिका तथा त्यसले विश्व शक्ति सन्तुलनमा ल्याएको परिवर्तनलाई नयाँ ढंगले विश्लेषण गर्न थालेका थिए । त्यो बेला उनी राष्ट्रपति रिचार्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । हिन्द-चीन क्षेत्रको कम्युनिस्ट आन्दोलन र भियतनाम युद्धलाई उनले नजिकबाट नियालेका थिए । सन् १९६७ मा उनले अमेरिका र उत्तरी भियतनामबीच शान्ति वार्ताको पहलकदमी लिएका थिए । किसिन्जर शीत युद्धको अवधिमा चीनलाई सोभियत खेमाबाट खोस्न चाहन्थे ।

इस्लामावादबाट हेनरी किसिन्जर तीन दिन गायब भए । उनको भ्रमण तालिका सार्वजनिक गरिएन । न त, उनलाई पाकिस्तानका कुनै कार्यक्रममा देखियो । पछि संसारले थाहा पायो कि, किसिन्जर गोप्यरूपमा बेइजिङ पुगेका थिए ।

सन् १९७१ को जुलाईमा उनी पाकिस्तान भ्रमणमा आएका थिए । पाकिस्तानका लागि रोमानियाली राजदूतमार्फत् उनले चीनसँग भित्रभित्रै सम्पर्क बनाए । रोमानियाली राजदूतमार्फत् उनले फ्रान्सका लागि चिनियाँ राजदूतसँग सम्पर्क बनाए । त्यसपछि उनले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईसँग सम्पर्क बनाए।

इस्लामावादबाट हेनरी किसिन्जर तीन दिन गायब भए । उनको भ्रमण तालिका सार्वजनिक गरिएन । न त, उनलाई पाकिस्तानका कुनै कार्यक्रममा देखियो । पछि संसारले थाहा पायो कि, किसिन्जर गोप्यरूपमा बेइजिङ पुगेका थिए ।

किसिन्जरको यो गोप्य भ्रमणले राष्ट्रपति रिचार्ड निक्सनलाई चीन भ्रमणको वातावरण बनायो । सन् १९७२ को फेब्रुअरी २१ देखि २८ सम्म राष्ट्रपति निक्सनले चीन भ्रमण गरे । माओ र निक्सनबीच गम्भीर वार्ता भयो । चीन-अमेरिका सम्बन्धले नयाँ मोड लियो ।

के पर्‍यो प्रभाव ?

चीन मूलभूमिले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भिटो राष्ट्रको मान्यता पायो । चीन शीत युद्धकालमा सोभियत धुरीबाट निरन्तर टाढिँदै र अमेरिकाको नजिक हुँदै गयो । माओले सोभियत संघलाई ‘संशोधनवादी गद्दार’ भनेर आलोचना गरे । अन्तर्राष्ट्रिय मञ्चहरूमा अमेरिका र चीनबीच सहकार्य हुन थाल्यो । चीनले ताइवानको मुद्दा थाँती राख्यो । ताइवान र दक्षिण चीन सागरमा सापेक्षिक शान्ति र स्थायित्वको वातावरण बन्यो । चीन र अमेरिकाबीच व्यापार, प्रविधि र लगानी सम्बन्ध बलियो हुँदै गयो ।

सन् १९७४ मा रिचार्ड निक्सनले वाटरगेट काण्डको कारण राष्ट्रपति पदबाट राजीनामा दिए । किसिन्जर निक्सन कालमै सन् १९७३ मा विदेशमन्त्री भइसकेका थिए । निक्सनको राजीनामा पछि उपराष्ट्रपति गेरार्ड फोर्डले सत्ता सम्हाले । सन् १९७७ सम्म किसिन्जर विदेशमन्त्री रहे । यस अवधिमा उनले अमेरिका-चीन सम्बन्धलाई बलियो पार्न धेरै मेहनत गरे । तङ स्याओ फिङको शासनकालमा चीन-अमेरिका सम्बन्ध झनै बलियो भयो ।

यसरी फाइदा भयो चीनलाई 

चीनमा तङको स्याओ फिङका चार महत्त्वपूर्ण सुधारमध्ये एक आर्थिक थियो। माओकालीन कृषि कम्युन तथा राज्य-अर्थतन्त्रलाई तङले निजी स्वामित्व र बजार अर्थतन्त्रमा फर्काए । त्यो बेला चीनलाई अत्याधुनिक प्रविधि र वैदेशिक लगानीको व्यापक खाँचो थियो । चीन-अमेरिका सम्बन्ध सुदृढ भएसँगै चीनमा वैदेशिक लगानी ओइरिन थाल्यो । साथै, चीनले अमेरिका, युरोपलगायत विश्वभरि नै वस्तु निर्यातको अवसर पायो ।

यी अवसर विना चीनले आजको जस्तो आर्थिक विकास गर्नसक्ने थिएन । न त, विश्वको दोस्रो ठूलो अर्थतन्त्र र अमेरिकासँगै जुध्ने महाशक्ति राष्ट्र नै हुन सक्दथ्यो । यस अर्थमा हेनेरी किसिन्जर चीनका निकै पुराना र महत्त्वपूर्ण मित्र हुन् । उनी कुनै सरकारी पदमा हुन् वा नहुन् किसिन्जरको यो गुण चिनियाँहरूले भुल्न सक्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved