काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसल अगाडि बुधबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको डेरामा प्रहरीले छापा मारेको छ ।
पासवानको सिनामंगलस्थित डेरामा छापा मार्ने क्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार, टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार पासवानले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । सीसी क्यामरामा देखिएअनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेका थिए । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो तर डिस्पोज गरिएको वस्तुमा विष्फोटक पदार्थ थिएन ।
घटनास्थलबाट ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को पर्चा समेत बरामद गरिएको थियो ।
Facebook Comment
Comment