नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी, कता कता बन्दैछन् सडक ?

डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारि त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिए।

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी, कता कता बन्दैछन् सडक ?
बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माण हुँदै गरेर हाल काम रोकिएको पुल ।

काठमाडौं। हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्न थालिएको छ।

त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। विकल्पका सडकमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ।  एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ।

त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा–मलेखु सडक छ।

तेस्रोमा नारायणगढ–मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथि अलपत्र परेको पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने बाटो खुल्ने र विकल्प बन्ने छ।

सडक विभागले डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिइसकेको छ। डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले अहिलेको सडकपारि त्रिशूली किनारैकिनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु भएको जानकारी दिए।

“पूर्वी नवलपरासीको गैँडाकोटबाट तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य हुँदै छ,” उनले भने ।

सुरुमा नयाँ सडक बनाउनु पर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयका प्रस्ताव मन्त्रीपरिषद्मा लैजान टिप्पणी तयारीको काम भइरहेको उनले बताए । उक्त टिप्पणी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने छ।

मन्त्रीपरिषद्बाट निर्णय भएलगत्तै नयाँ सडक निर्माणका लागि परियोजनाको विस्तृत अध्ययन डिपिआर बनाउने, स्रोतको खोजी गरी योजना निर्माणका लागि प्रक्रिया अघि बढ्ने छ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटबाट मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ। त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्रे सडक नै छ। अब दासढुङ्गादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ।

त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका विभागीय प्रमुख प्राडा खुमनारायण पौडेलले त्रिशूलीपारि नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था अनि एउटै चट्टानको स्वरूप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताए।

उनले नारायणगढ–मुग्लिन सडकमा पहिरो मात्रै काटेरभन्दा पनि साना–साना सुरुङ बनाएर सडक बनाउन सक्ने हो भने पहिरोको जोखिम कम हुने बताए । यसका अलवा चितवनकै शक्तिखोरबाट पृथ्वीराजमार्गको माझिमटार निकाल्ने गरी सुरुङ मार्गको पनि सडक विभागले अध्ययन सुरु गरेको छ।

भण्डारामलेखु सडक 

चितवनकै भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खुलेर बसेको भण्डारा–मलेखु पहाडी सडकमा अहिले विनियोजन भइरहेको खुद्रे बजेट रोकेर एकै पटक ठूलो योजना अगाडि बढाउन सकिन्छ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भण्डारा–मलेखु सडकको विस्तार तथा निर्माण गरेर भए पनि नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्नुपर्ने बताउँछन् । पाण्डे अर्थमन्त्री हुँदा नै यो सडकको निर्माण प्रक्रिया सुरु भएको हो।

भण्डारा–मलेखु सडक ६९ किलोमिटरको हुन्छ। यो अहिलेसम्म सात किलोमिटर मात्रै कालोपत्रे भएको छ। बाँकी ६२ किलोमिटर कालोपत्रे गर्ने र ठाउँ–ठाउँमा पुल र पहिरो नियन्त्रणका लागि १२ अर्ब रुपियाँ लाग्ने डिई पौडेलले बताए ।

तीन किलोमिटर सुरुङ बनाउन सके सडकको लम्बाइ ४८ किलोमिटर मात्र हुनेछ। जब कि भण्डारा–नारायणगढ–मुग्लिन–मलेखुको दूरी ११४ किलोमिटर छ।

बुद्धसिंह मार्ग

नारायणगढ–मुग्लिन सडकमै पर्ने घुमाउनेमा त्रिशूली नदीमाथिको अलपत्र पुल बनाउन सके मात्रै पनि नारायणगढबाट पोखरा जाने गरी सहज निकास हुनेछ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने पुल अहिले अलपत्र अवस्थामा छ।

बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माण हुँदै गरेर हाल काम रोकिएको पुल ।

२०७१ असारमा पुल निर्माणका लागि सम्झौता भए पनि यो पुल निर्माण हुन सकेको छैन। नौ करोड ५६ लाख रुपियाँमा निर्माण सम्पन्न गर्न मृतसञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ।

१ सय ५ मिटर लम्बाइ रहेको यो पुल निर्माण सम्पन्न भए मात्रै पनि यो बाटो भएर दमौली पुग्न सहज हुनेछ। -गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved