गठबन्धनमा गडबड : धर्मराएकै हो त प्रचण्ड सरकार ?

गठबन्धनमा बढेको गडबडको फाइदा लिने दाउमा छ, प्रमुख प्रतिपक्षी नेकपा एमाले । अहिलेको सरकार ढालेर सकेसम्म आफ्नै नेतृत्वमा बनाउने, नभए कांग्रेसलाई सघाएर नयाँ सरकार बनाउने एमालेको योजना छ ।

नेपालभ्युज

गठबन्धनमा गडबड : धर्मराएकै हो त प्रचण्ड सरकार ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक कार्यक्रममा भने- चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छ । सत्ताघटकमध्ये सबैभन्दा ठूलो दलका महामन्त्री थापाले अझ जोड दिँदै भने- सरकार छाड्न परे पनि डर छैन, आगामी चुनावमा कांग्रेस एक्लै लड्छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद् भवन बाहिर सञ्चारकर्मीसित भने- सरकारको आयु सकिन अब केही दिन मात्रै बाँकी छ ।

यसकै पेरिफेरिमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले ‘प्रमुख दलहरूको संयुक्त सरकार बनाउनुपर्ने’ भन्दै ट्विट गरे ।

यति मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा आउन आग्रह गरिरहेको र रास्वपाले अनेक शर्त राखेर भाउ खोजिरहेको कुरा पनि प्रष्टै छ ।

यीलगायत पछिल्ला घटनाक्रमसँगै नेताका अभिव्यक्ति सुन्दा लाग्छ- सरकार भित्रभित्रै धर्मराएको छ वा अर्कै खिचडी पाकिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठूलो सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गएका बेला गठबन्धभित्रै ‘उप–गठबन्धन’ बनाउनुले राजनीतिमा गम्भीर अर्थ राखेको छ । प्रचण्डले गठबन्धनभित्रै कांग्रेसविरुद्धको ‘उप–गठबन्धन’ बनाएको आरोपसमेत लागिरहेको छ ।

सहायक गठबन्धन बन्नुले मूल गठबन्धनमा गडबड भएको अनुमान गर्न कठिन छैन । हुन त, अहिलेको सत्तागठबन्धनमा धेरैपटक ठाकठुक परेर पनि थामथुम पारेको स्पष्टै छ । तर, यसपालिको गडबड भने थामेर नथामिने स्थितिमा पुग्ने आकलन गरिएको छ ।

मूलतः सत्तासाझेदार दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा मिल्न सकेको छैन । तेस्रो ठूलो दल माओवादीलाई बोकेर हिँडेकोप्रति नेपाली कांग्रेसभित्र चर्कै असन्तुष्टि छ । जुन कुरा नेताहरूले खुलेयाम भाषण गर्दै हिँडेका छन् ।

संसदबाट तीन महिनामा दुईपटक विश्वासको मत लिन बाध्य प्रचण्डलाई यतिन्जेल सरकार टिकाउनु नै सबैभन्दा ठूलो सफलता जस्तो भएको छ । क्रमशः कांग्रेस चिढिएपछि संसदको चौथो ठूलो दल रास्वपालाई सरकारमा भित्र्याउन पाए सहज हुने प्रचण्डको अनुमान छ । र, त्यसको तयारी पनि गरिरहेका छन् । तर, रास्वपाले भाउ खोजिरहेका कारण उनलाई अफ्ठेरो परिरहेको छ ।

सत्तासझेदार मध्येको नेकपा एसले पनि प्रचण्डलाई बेला-बेला घुर्क्याइरहेको हुन्छ । तर, जाने ठाउँ कतै नभएपछि प्रचण्डसँगै टाँसिइरहेको नेकपा एसलाई मिलाइराख्न पनि चुनौती नै छ । बेला-बेलामा एमालेमै फर्कने चेतावनी दिइराख्ने सांसदलाई फकाउन नेकपा एसका अध्यक्ष माधव नेपाललाई हम्मेहम्मे परिरहेको छ ।

गठबन्धनमा बढेको गडबडको फाइदा लिने दाउमा छ, प्रमुख प्रतिपक्षी नेकपा एमाले देखिन्छ । अहिलेको सरकार ढालेर सकेसम्म आफ्नै नेतृत्वमा बनाउने, नभए कांग्रेसलाई सघाएर नयाँ सरकार बनाउने एमालेको योजना छ । तर, जसरी पनि गठबन्धन भत्काउने रणनीतिमा देखिन्छ एमाले।

कांग्रेस पनि सधैंभरि माओवादीलाई बोकेर हिँड्ने पक्षमा नभएको कतिपय नेताको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । यी सबै घटनाक्रमले अब संसदबाट बजेट पारित भएपछि सरकार परिवर्तनको खेल जोडतोडले अघि बढ्ने संकेत गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved