गर्मी बढ्नुको मुख्य कारण ‘सानो केटो’, ‘सानी केटी’ आएपछि बल्ल घट्छ

मौसमको सामान्य प्रक्रियालाई ल–निनो भनिन्छ भने बदलावलाई अल–निनो भनिन्छ। मौसम विज्ञका अनुसार प्रशान्त महासागरमा यो प्रक्रिया ३ देखि ७ वर्षका बीचमा परिवर्तन हुन्छ । ल–निनो चरणमा पूर्वी क्षेत्रको तापमान घट्छ भने अल–निनो चरणमा पूर्वी क्षेत्रको तापमान बढ्छ ।

गर्मी बढ्नुको मुख्य कारण ‘सानो केटो’, ‘सानी केटी’ आएपछि बल्ल घट्छ

काठमाडौं । यसपटक नेपालीले अत्यधिक गर्मीको अनुभूति गरे । व्यक्तिगत भेटघाटमा होस वा समाजिक सञ्जालमा जताततै सुनियो– उफ ! कति धेरै गर्मी ! सात वटा सूर्य लागेजस्तो । कतिपयले त यसलाई राजनीतिक जोक समेत बनाए–प्रचण्ड शासनकालमा गर्मी पनि प्रचण्ड नै हुन्छ कि क्या हो ?

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका ११३ मापनकेन्द्रमध्ये ४ वटामा इतिहासकै सर्वाधिक तापमान रेकर्ड भएको छ भने थप १३ वटा केन्द्रमा उच्चस्तरको तापमान अभिलेख भएको छ । वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, धनगढीजस्ता उच्च गर्मी हुने शहरमा तापमान ४२ डिग्रीभन्दा माथि पुगेको छ ।

नेपालमा मात्र हैन, विश्व मौसम संगठनका अनुसार आगामी ५ वर्ष अर्थात् सन् २०२३–२०२७ बीच पृथ्वीको औसत तापमान सर्वाधिक हुने सम्भावना ९८ प्रतिशत छ । यी वर्षभित्र तापमान वृद्धिको लक्ष्य १.५ डिग्री सेल्सियस छुन सक्ने छ । अहिलेसम्म पृथ्वीको तापमान औद्योगिक क्रान्तियता १.२ डिग्री सेल्सियसले उचालिएको छ । औसत तापमान वृद्धि २ डिग्री सेल्सियसभन्दा बढी भएमा निकै ठूलो जोखिम आउन सक्ने विज्ञहरू ठान्दछन्।

धेरै गर्मी हुनुको कारण के त ? के अत्यधिक कार्बन उत्सर्जन र जलवायु परिवर्तन नै यसको कारण हो त ? के यस्तो गर्मी अब प्रत्येक वर्ष बढ्दै जान्छ ? मौसम विज्ञका अनुसार त्यस्तो हुँदैन । आगामी ५ वर्ष गर्मी बढ्ने सम्भावना धेरै भए पनि त्यसपछिका वर्ष पुनश्च: घट्नेछ । कारण–अहिले प्रशान्त महासागरीय क्षेत्रमा अल–निनो चरण चलिरहेको छ जब ल–निनो चरण आउने छ फेरि तापमान घट्न सक्नेछ ।

के हो अल–निनो र ल–निनो ?

अल–निनो र ल–निनो दुवै स्पेनिस भाषाका शब्द हुन् । यसको अर्थ बुझ्न सामुद्रिक क्षेत्रमा हुने जलवायु प्रक्रियाबारे जान्नुपर्ने हुन्छ । जहाँ हावा र पानी धेरै गर्मी हुन्छ, त्यहाँ दुवै वाफ बनेर माथि जान्छन् र बादल बन्छन् । त्यस्तो बेला समुद्रको पिँध र सामुद्रिक वायु क्षेत्रमा चिसो पानी र हावा भरिन्छ ।

जहाँ यसरी चिसो पानी र हावा भरिन्छ, त्यहाँ न्युन चापको अवस्था सिर्जना हुन्छ । न्यून चापीय क्षेत्रमा वर्षा हुने सम्भावना धेरै हुन्छ । वर्षाले पुन: तापमानलाई कम गर्दछ । उच्च चापीय क्षेत्रमा भने सुख्खा र खडेरीको सम्भावना बढ्छ।

प्रशान्त महासागरीय क्षेत्रमा हुने यी दुई अवस्थालाई नै अल–निनो र ल–निनो भनिन्छ । यो एक चक्रजस्तो हो । अल–निनो चरणका वर्षमा गर्मी बढ्छ र ल–निनो चरणका वर्षमा गर्मी घट्छ।

के हुन्छ प्रशान्त महासागरमा ?

प्रशान्त महासागरको दक्षिण अमेरिकी पश्चिमी तटबाट अस्ट्रेलियाको पूर्वी तटतिर तातो सामुद्रिक हावा बग्दछ । यो तातो हावाले समुद्रको माथिल्लो सतहको पानीलाई अस्ट्रेलियातिरको क्षेत्रमा उचाल्दछ । तातो हावा र पानी अस्ट्रेलियाको पूर्वी तटतिर जम्मा हुन थाल्दछ ।

यसले गर्दा दक्षिण अमेरिकी तटको पिँध र वायु क्षेत्रमा भने चिसो पानी र हावाले प्रतिस्थापन गर्दछ । फलतः अस्ट्रेलिया क्षेत्रमा न्यून चाप, दक्षिण अमेरिका क्षेत्रमा उच्च चाप स्थिति बन्दछ । तसर्थ, धेरै वर्षा अस्ट्रेलिया क्षेत्रमा हुन्छ । यही कारण हो कि दक्षिण अमेरिकाका धेरै क्षेत्र सुख्खाग्रस्त छन् ।

मौसमी परिवर्तनले यो प्रक्रियालाई उल्टो बनाइदिन्छ । तातो हावा कमजोर भएर उल्टो बग्न थाल्दछ। यस्तो बेला भने प्रशान्त महासागरको तातो हावा पूर्वी तटको साटो दक्षिणी तटतिरै बग्दछ । यस्तो बेला भने अस्ट्रेलिया क्षेत्रमा कम पानी पर्दछ ।

मौसमको सामान्य प्रक्रियालाई ल–निनो भनिन्छ भने बदलावलाई अल–निनो भनिन्छ। मौसम विज्ञका अनुसार प्रशान्त महासागरमा यो प्रक्रिया ३ देखि ७ वर्षका बीचमा परिवर्तन हुन्छ । ल–निनो चरणमा पूर्वी क्षेत्रको तापमान घट्छ भने अल–निनो चरणमा पूर्वी क्षेत्रको तापमान बढ्छ । यो वर्ष भारत, नेपाललगायतका पूर्वी क्षेत्रका देशमा गर्मी बढ्नुको कारण प्रशान्त महासागरमा अल–निनो चरण सुरु हुनु हो ।

भारत र नेपालमा कसरी प्रभाव पर्दछ ?

नेपाल र भारतमा वर्षा हुने मनसुन अधिकांशतः प्रशान्त महासागरबाट हैन, हिन्द महासागरबाट उठ्दछ तर प्रशान्त महासागरीय प्रक्रियाको प्रभावले पूर्वी तटीय क्षेत्रमा उच्च चापीय अवस्था सिर्जना हुँदा यस क्षेत्रको मनसुन कमजोर हुन पुग्दछ । तसर्थ, भारतका विभिन्न राज्य र नेपालमा कम पानी पर्ने र चर्को गर्मी हुने गर्दछ ।

वितेका ६५ वर्षमा प्रशान्त महासागरमा १४ पटक अल–निनो प्रक्रिया क्रियाशील भएको छ । सन् १९९१ मा अल–निनो सबैभन्दा प्रभावशाली भएको थियो । तर, यसपटक रेकर्ड तोड गर्मी हुनुको कारण न त अल–निनो चरण मात्र हो, न त जलवायू परिवर्तन मात्र । अल–निनो चरणमा जलवायू परिवर्तनको असर जोडिए पछि गर्मी झनै बढ्ने हो । अझ भनौं जलवायू परिर्वतनले अल–निनो चरणको असर झनै बलियो हुन्छ ।

यस्ता वर्षमा भारत र नेपालमा १०–२० प्रतिशतसम्म कम वर्षा हुन सक्दछ । भारत र नेपालमा ल–निनो असर सकारात्मक हुन्छ भने अल–निनो प्रभाव नकारात्मक हुन्छ ।

कसरी राखियो यी नाम ?

प्रशान्त महासागरमा हुने यो प्रक्रियालाई स्पेनिस भाषाबाट ल–निनो र अल–निनो नामाकरण गरियो । भनिन्छ– सन् १५२८ दक्षिण अमेरिकी मरुभूमिमा पहिलोपटक पानी परेको थियो । त्यो वर्ष स्पेनी गभर्नर फैन्सिस्को पिजारो पेरुको मरुभूमिमा थिए । उनले पेरुमा स्पेनी साम्राज्यको विस्तारका लागि नेतृत्व गरेका थिए ।

उनले आफ्ना स्मरणमा त्यो वर्ष मूरुभूमिका पानी पर्नु स्पेनको विजयका लागि भगवानले साथ दिएको घटनाका रूपमा चित्रण गरेका थिए । सन् १६०० तिर अल–निनो प्रक्रिया झन तीव्र अनुभूत भएपछि स्पेनी साम्राज्यले यसबारे अध्ययन गर्न लगाएको थियो ।

माछा मार्ने माझीले यस्तो मौसमी परिवर्तनलाई अल–निनो (सानो केटो) भन्ने गर्थे । अध्ययनकर्ताले यही नाम टिपे । त्यसको उल्टो प्रक्रियालाई स्पेनिस भाषामा ला–निनो (सानी केटी) भनियो ।

मरुभूमिमा पानी पर्नुलाई माझीले भगवानको बरदान मानेर ‘उद्धारकर्ता बच्चा’ का रूपमा त्यसलाई ‘अल–निनो’ भनेका थिए । अहिले अल–निनो अर्थात् सानो केटोले पूर्वतिर गर्मी ल्याएको हो, चिन्ता नगर्नुस् जब सानी केटी ला–निनो चरण आउँछ, त्यस्ता वर्षमा फेरि गर्मी घट्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved