आलेख

‘टालाटुली बटुली कति राम्री पुतली’

प्रचण्डले नेपाल-भारत बीचको कुटनीतिमा यथार्थ र व्यवहारवादी बाटो (एप्रोच) लिए, जुन जरुरी थियो । पहिलोपल्ट आर्थिक कुटनीतिलाई केन्द्रमा राखे, त्यो पनि सकारात्मक कुरा हो । बंगलादेशसँग व्यापार मार्गको लागि जमिन सट्टापट्टा गर्नसकिने प्रस्ताव पनि आफैँमा रोचक छ । यसमा लामो बहस चाहिन्छ। तर, कम्तिमा एउटा विचार राख्ने हिम्मत जुन चाहिन्थ्यो, त्यो प्रचण्डले देखाए ।

‘टालाटुली बटुली कति राम्री पुतली’

गहिरिएर हेर्ने हो भने नेपालमा हरेक कुरा बनाइएको (क्राफ्टेड), ढाँचाबद्ध (स्ट्रक्चर्ड) र योजनाबद्ध (डिजाइन्ड) देखिन्छ । यस्तो लाग्छ, मानौं हाम्रा विचार, भावना र छनोटहरू कुनै कारखानाका उत्पादन हुन् । ती उत्पादनमा कुनै छेडछाड भयो कि, त्यो बिटुलिएलान् भन्ने डर। नेपालको यथास्थिति भत्कियो कि टेथिस सागर फेरि फर्किएलान् भन्ने डर ।

प्रकृतिले नेपाललाई मध्यवर्ती क्षेत्र (बफर स्टेट) को रूप दिएकै छ, नेपालीको दिमाग पनि ‘मध्य’ मा नै छोडिदिएको छ, दायाँ-बायाँ हुनै नहुने, हमेसा द्विविधाग्रस्त (कन्फ्युज्ड), यता जाऊँ कि उता जाऊँ, के गरूँ के नगरूँ जस्तो । तर संसारमा गति (मुभमेन्ट) नभइ र छलाङ्ग (डिपार्चर) नलगाइकन कुनै पनि राजनीतिक वा सांस्कृतिक समूहले विकास गरेको इतिहास छैन, यो बुझ्नु जरुरी छ ।

जनगणना २०२१ कै परिणाम हेरौं न । हामीले ‘टालाटुली बटुली कति राम्री पुतली’ पारिदिएका छौं। हुन त यो नयाँ कुरा हैन । नेपालमा जनगणना सुरु भएदेखि मिथ्याङ्क (म्यानुफ्याक्चर्ड डाटा) को आरोप लाग्दै आएका छन् । जनगणना सकिएको दुई वर्षपछि परिणाम सार्वजनिक हुन्छ, त्यसमा पनि कति कुरा संशोधन हुन्छ, संवेदनशील मानिएका तथ्याङ्क (मिथ्याङ्क) हरू जातजाति, भाषा, धर्मसम्बन्धी वात-विचारहरू सबभन्दा पछाडि सार्वजनिक गरिन्छ ।

सबलाई सहज (कम्फोर्टेबल) हुनेगरी अंकको जादूयी चमत्कार (म्यानुपुलेसन) देखाइन्छ । सबलाई भन्नाले खसआर्य, जनजाति, मधेसी, हिन्दू, बौद्ध, इस्लाम, इसाई, नेपाली, मैथिली, भोजपुरी, अवधी, थारू, उर्दू । यी सबका सब ।

यहाँसम्म कि भारत, चीन, अमेरिका, बेलायत, ईयूका पनि भावनालाई ख्याल गरिन्छ । तर. यहीँचाहिँ पेट मिचीमिची हाँस्न मन लाग्छ । किनकि, तथ्याङ्कमा पनि भागवण्डा र भनसुन त यो ब्रह्माण्डमै भन्ने हो भने नेपालमा मात्र लाग्छ । सबैको अहंकार तुष्ट हुने, सबैको भ्रमलाई सही सावित गरिदिने (भ्यालिडेट) गज्जबको ‘अलिकति मिलाउनु न’ भन्ने फर्मुला नेपालमा मात्र पाइन्छ ।

यसभन्दा अघि, हिन्दू जनसंख्या सखाप भो, कृश्चियन बेपत्ता बढ्यो भन्ने रोइलो थियो, आक्रोश थियो । खसआर्य के हुने हो भन्ने चिन्ता थियो । अब हल्का बढत (ऐज) पाएपछि सुहाना संसार भयो । निरन्तर वर्चश्ववादको वैधतामा मन प्रफुल्ल भयो । यथास्थिति बनाएर राखिरहनको लागि नेपाली भाषाको आधारमा निरन्तरता देखियो । अब यति भएपछि नीर शाह, भुवन चन्दको पुस्ता चैनले संसारबाट बिदा लिने भए । तर, दीपकराज गिरीको पुस्ता के हुने हो, यति गरेर पनि भन्न नसकिने भयो।

अब नागरिकता विधेयक र राष्ट्रपतिको प्रमाणीकरणसम्बन्धी प्रकरण हेरैं । प्रमाणीकरणपछि एमाले, राप्रपा र रास्वपाले उनीहरूको सपनाको संसार उजाडिएको रूपमा लिए र ठूलै हायातैबा मच्चाए । यसमा मुलुकको जनसांख्यिक अवस्था उथलपुथल होला भन्ने चिन्ताभन्दा पनि उनीहरूको राष्ट्रवादको दोकान बन्द होला कि भन्ने चिन्ता बढी देखियो । मूल कुरा नागरिकताको सवालभन्दा पनि केही मानिसहरूका सहजताको संसार जुन छ नेपालमा, त्यसमाथि कुनै धक्का नपुगोस् भन्ने चिन्ता बढी हो । एउटा बेग्लै प्रभुत्वको संसार जसको प्रशस्तीगान निरन्तर चलिआएको छ नेपालमा, त्यसको सहजता र लाभ (कम्फोर्ट जोन) वाट अच्छे अच्छेहरू निस्कन सकिरहेका छैनन् । र उनीहरू नै फेरी पनि प्रश्न गर्छन् बारम्बार कि नेपाल किन बनेन ?

रेशम चौधरी जेलबाट बाहिर निस्किए । यो आफैँमा मेलमिलाप र एउटा द्वन्द्वको समापन हो । यसको सबैतिरबाट स्वागत हुनुपर्थ्यो । तर, नेपालमा एउटा स्थायी तप्का छ जसले बर्चस्वमा ध्कका लागेको महशुस गर्‍यो यो निर्णयले । दिनदिनै त्यही तप्काले संविधान र कानुनका अक्षरमाथि व्याभिचार गर्छ, त्यसमाथि उनीहरूको कुनै ग्लानीबोध हुँदैन । तर, सत्यनिरुपण र मेलमिलापका प्रयास हुँदा ती तप्का कुण्ठित हुन पुग्दछन् ।

एउटा बनिबनाउ ढाँचा र खाकाबाट बाहिर निस्कन कष्टप्रद छ यो तप्कालाई । राणाकालदेखि चलिआएका त्यै जालझेल र उठाबठकको खेल यिनलाई अहिले पनि प्यारो छ । भ्यागुताले कुवाभित्र गर्ने स्वर्गको अनुभूतिलाई बचाइराख्ने उपक्रम हो यो सबै।

कुवाभित्र स्वर्गको अनुभूति गर्ने भ्यागुते भावना कुनै दलीय सीमाभित्र सीमित छैन नेपालमा । हिजोको राज्यले हजारौं लाखौंलाई अनुशिक्षण गरेको छ । सामन्तवाद र वर्चश्ववादको स्वादिलो चोक्टा लाखौंलाई चखाएको छ । ती स्वाद केही मानिसले बिर्सन सकिरहेका छैनन् । प्रचण्डको भारत भ्रमणलाई पनि यो धरातलमा एकछिन राखेर पर्गेल्ने हो भने तथ्य र यथार्थभन्दा भावना पोखिँदै गरेको छर्लङ्ग देखिन्छ।

प्रचण्डको भारत भ्रमणलाई वस्तुगत किसिमले विश्लेषण गरिनुपर्दछ । तर, यहाँ त भावना र कुण्ठाको बजार छ । भैँसी र राँगोको विश्लेषण छ । यही भ्रमण यदि केपी ओलीले प्रधानमन्त्रीको रूपमा वा ज्ञानेन्द्र शाहले राष्ट्रप्रमुखको रूपमा गरेको भए यहाँका कुलीनहरू प्रशंसा र प्रशस्तीको पहाड खडा गरिरहेका हुनेथिए । उनीहरूले डंका पिट्ने थिए कि, ऊर्जा व्यापारमा ऐतिहासिक सफलता (ब्रेक थ्रु) भयो, बंगलादेशसँग ऊर्जा व्यापारको मार्ग खुल्यो, वा ऊर्जा छेत्रमा लगानी ल्याउन सफल भइयो । किनकि, यो भ्रमण प्रचण्डले गरे र कुनै एक महत्त्वपूर्ण क्षेत्रमा संकेन्द्रित भएर सफलतासम्म पुर्‍याए , कुलीनहरू त्यसै-त्यसै लजाए र तोरीमा प्वाल खोज्न थाले।

यी मान्छेहरूमा अजीव किसिमको मनोदशा छ कि, वीरन्द्रले गरेजस्तो हावभाव (बडी ल्याङ्ग्वेज) किन भएन अथवा ज्ञानेन्द्रले देखाएको जस्तो अकड (एरोगेन्सी) किन देखाइएन । अथवा कम्तिमा ओलीले गरेजस्तो फजुलको नाटक नौटंकी किन भएन । साँच्चिकै दरिद्रको स्वाभिमान ठूलो हुँदोरहेछ । प्रचण्डले व्यावहारिक कुटनीति देखाए, पहिलोपल्ट आर्थिक कुटनीतिमा ध्यान दिए । राजनीतिक एजेन्डामा केही धैर्यताको परिचय दिए । यी सकारात्मक कामको  विश्लेषण छैन । आलोचनाको आँधीबेहरी के छ भने प्रचण्डले अहिलेसम्मका सारा समस्याको समाधान एकै झट्कामा किन गर्न सकेनन्, मोदीसँग टक्कर किन लिएनन्, र भारतीयलाई किन गाली गरेर आएनन् ?

कुनै पनि दुई देशका समस्यामा निकै जटिल हुन्छन् । नेपाल र भारतबीच पनि अनेक समस्या छन् । तर, सबै समस्या जादू गरेजसरी एकै पटकमा समाधान हुने अपेक्षा गर्नु मुर्खता हुन्छ । यो सबैलाई थाहा छ तर पनि संसदमा के को यत्रो हल्ला हो ? अझ केपी ओली जसले सामन्त गोयलसँग राति-राति मन्त्रणा गरे र नेपालको चुच्चे नक्सा पाठ्यपुस्तकबाट गायब गरे, त्यस्तो मान्छे कुन लाजले राष्ट्रवादको कुरा गर्दैछन् ? तर यो नेपाल हो, यहाँका नेतामा लाज र नैतिकताको कुनै बन्धन हुँदैन ।

प्रचण्डले नेपाल-भारत बीचको कुटनीतिमा यथार्थ र व्यवहारवादी बाटो (एप्रोच) लिए, जुन जरुरी थियो । पहिलोपल्ट आर्थिक कुटनीतिलाई केन्द्रमा राखे, त्यो पनि सकारात्मक कुरा हो । बंगलादेशसँग व्यापार मार्गको लागि जमिन सट्टापट्टा गर्नसकिने प्रस्ताव पनि आफैँमा रोचक छ । यसमा लामो बहस चाहिन्छ। तर, कम्तिमा एउटा विचार राख्ने हिम्मत जुन चाहिन्थ्यो, त्यो प्रचण्डले देखाए । यस प्रस्तावबाट नेपालका कुलीनहरू हतप्रभ भए नै, भारतको संस्थापन पनि आशंकाग्रस्त देखियो ।

नेपाल बंगलादेशबीचको ‘चिकेन नेक’ जस्ता अति संवेदनशील क्षेत्रमा जमिन माग्ने काम चीनको उक्साहटमा भएको त हैन भन्ने जस्ता तर्क पनि उठ्न थालेका छन् । यस अर्थमा प्रचण्डले भारतलाई गुलियो तर निल्न गार्हो हुने फल ‘सपेटा’ खुवाइदिएजस्तो छ । अब यसको मूलमा हुनुपर्छ निरन्तरको बहस ।

प्रचण्डको भारत भ्रमण र यसको धुवाँधार विरोधको मूलमा पनि गहिरिएर हेर्ने हो भने त्यै ‘टालाटुली बाटुली’ मनोविज्ञानले नै काम गरेको देखिन्छ । प्रचण्डले कुनै राष्ट्रघातको काम गरेनन् यसपटक । अथवा कुनै अविश्वसनीय काम नै पनि गरेको देखिँदैन । तर, यस्तो सामान्यझैं लाग्ने भ्रमणको यत्रो विरोध हाम्रो मानसिकताकै उपज भन्न सकिन्छ । भारतले वा कुनै अरु देशले कसलाई, कति र कस्तो स्वागत गर्छ, त्यो सम्बन्धित देशको आर्थिक र सामरिक स्वार्थको गहनताले निर्धारण गर्छ । भारतलाई भावनात्मक आँखाले हेर्न छोड्नुपर्छ र यथार्थवादी हुनु जरुरी छ ।

तर, नेपाल यथार्थवादी हुन सक्दैन । किनकि, यहाँ सामन्तवादी गौरवगाथाको दोकान चलिरहेछ । मानिस विगतका चाटुकारिता दुनियाँको स्मरण गरेर रोमान्चित भइरहेका छन् । संवर्द्धनवादले खडा गरेको स्वप्नील कथाहरू स्वादिलो देखिन्छन् । ‘टालाटुली बटुली, कति राम्री पुतली’ को छद्म संसारमा राजा रजौटा, दरबारियाको चमकदमक छ, दयामाया छ, सुखसयल छ र अर्कोतिर प्रजाहरूको भक्तिरसमा भक्तिगान । सांसारिक मायामोहबाट थकित गलित नेपालीहरू भक्तिरसको काल्पनिक सुखमा विलीन हुन चाहन्छन्।

हो, यहीँनेर कर्मयोगी आधुनिक नेपालीको अन्तरआत्माले चित्कार गर्छ र भन्छ- ‘हे पार्थ, अगाडि हेर । विगतका प्रेतहरूको बाहुपाशमा जाने हैन, अग्रपथ रोज, अग्रपथ रोज ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved