प्रतिनिधि सभा सदस्यको संख्या घटाउने गरी संविधान संशोधन गर्न सांसद देवकोटाको माग

नेपालभ्युज

प्रतिनिधि सभा सदस्यको संख्या घटाउने गरी संविधान संशोधन गर्न सांसद देवकोटाको माग
फाइल फोटो

काठमाडौं  ।  राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभा सदस्यको संख्या घटाउन प्रस्ताव गरेका छन् ।

सांसद  देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने प्रस्ताव गरेका हुन् । राष्ट्रियसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे।

उनले आगामी आर्थिक वर्षको बजेट केन्द्रीकृत सोच र मानसिकताबाट पछाडि हट्न नसकेको बताए । अधिकांश मन्त्रालयले राखेका कार्यक्रम र बजेटलाई राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएका कार्यक्रमले रोकेको उनको भनाइ थियो ।

सार्वजनिक खर्च पुरावलोकन आयोगले सिफारिस गरेका कार्यालयलाई खारेज गर्ने लगायतका विषय सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई गर्नुपर्ने वित्तीय हस्तान्तरण लगायतका विषयमा सरकार प्रभावकारी हुन नसकेको बताए ।

‘प्रतिनिधि सभा धेरै ठूलो भयो, संख्याले पनि व्यवस्थापन गर्न गाह्रो भयो, प्रतिनिधि सभाको २७५ लाई घटाएर १६५ मा मात्रै सिमित गर्नेगरी तुरुन्त संविधान संशोधनको विधि अघि बढाउनुपर्छ । बजेटमा मलाई उत्साह, उमंग र जाँगर आएन, संघीयताको दृष्टिले हेर्दा पनि सन्तुष्टि भेट्ने ठाउँ छैन’ उनले भने, ‘प्रदेश र स्थानीय तहले पाउनुपर्ने अनुदान घटाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम चिहानमा पुगेको थियो, त्यसलाई ब्युँताइएको छ । बजेटको अनुसूचि यहाँ हेर्ने हो भने मन्त्रालयको विनियोजन हेर्दा हरेक अधिकांश मन्त्रालय लगभग दुई तिहाई भन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत छ, त्यसकारण केन्द्रिकृत सोच र मानसिकताबाट बजेट बनाइएको छ ।’

सदस्य देवकोटाले मन्त्रालयको विनियोजन हेर्दा दुई तिहाई भन्दा बढी मन्त्रालयको बजेट केन्द्रिकृत सोच र मानसिकताबाट  बनेको पुष्टि हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved