बहुदलदेखि गणतन्त्रसम्म जो मन्त्री र बदनाम दुवै भए

बहुदलदेखि गणतन्त्रसम्म जो मन्त्री र बदनाम दुवै भए

नेपालमा २४ चैत २०४६ मा बहुदलीय व्यवस्था घोषणा भयो। ०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकार ‘कु’ गरेपछि ३० वर्ष पञ्चहरूले शासन गरे।

पञ्चायी व्यवस्थाकाविरुद्ध संघर्ष गरेका कांग्रेस र कम्युनिस्टले ०४६ को ऐतिहासिक जनआन्दोलनपछि पालैपालो बहुदलीय प्रजातन्त्रको उपयोग गरे। २०६१ माघ १९ मा पूर्वराजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएर २०६३ वैशाख १२ मा ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरे। त्यसपछि सत्तामा माओवादी र मधेसवादी दलको प्रवेश भयो ।

०६३ पछि ०७९ सम्म कांग्रेस, एमाले, माओवादी र मधेसवादीसँगै पूर्व पञ्चहरूको पार्टी राप्रपाले सत्ताको बढी उपयोग गरे भने ०७९ पुस १० देखि राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ दल पनि सत्ताको स्वाद चाख्न आइपुग्यो।

बहुदलपछिको ३४ वर्षमा ११ नेता २५ पटक प्रधानमन्त्री भए । बहुदलपछि प्रधानमन्त्री भएका कांग्रेस संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराई २०४७ र २०५६ मा गरी दुईपटक प्रधानमन्त्री भए भने कांग्रेसकै स्व. गिरिजाप्रसाद कोइराला ५ पटक, शेरबहादुर देउवा ५ पटक र स्व. सुशील कोइराला एकपटक प्रधानमन्त्री भए। बहुदलपछि कांग्रेसबाट मात्रै १३ पटक प्रधानमन्त्री भए।

यसैगरी, एमालेबाट स्व. मनमोहन अधिकारी एकपटक, केपी शर्मा ओली दुईपटक, माधवकुमार नेपाल र झलनाथ खनाल एक-एकपटक गरी एमाले नेताबाट पाँचपटक प्रधानमन्त्री भए। माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड तीनपटक र डा. बाबुराम भट्टराई एकपटक गरी ४ पटक प्रधानमन्त्री भए भने राप्रपाबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द तथा २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मीले समेत मन्त्रिपरिषदको नेतृत्व गरे।

यही बीचमा पटक-पटक गरी सयौं नेता मन्त्री बने। कतिपय मन्त्री पदमै रहँदा र कतिपयले पद गुमाएपछि व्यक्तिगत र राजनीतिक जीवनमै बद्नामीको कालो ‘धब्बा’ लगाए। पूर्वमन्त्री भइसकेकाहरूलाई हत्या, अपहरण, भ्रष्टाचार, किर्ते र यौन दुर्व्यवहारको आरोप लाग्यो। यीमध्ये भ्रष्टाचारको आरोपमा जेल परेका खुमबहादुर खड्काको निधन भइसकेको छ। अर्का २ जना पूर्वमन्त्री मोहम्मद अफ्ताब आलम र सञ्जय साह ‘टक्ला’ जेलमै छन् । रौतहटको ईट्टाभटामा जिउँदै मानिस जलाएको घट्नामा मोहम्मद आलम र जनकपुर बमकाण्डमा सञ्जय शाह दोषी ठहरिएका हुन्।

भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका अर्का पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, जयप्रकासप्रसाद गुप्ता, पूर्व गृहमन्त्री गोविन्दराज जोशी जेल जीवन विताएर फर्किए पनि राष्ट्रिय राजनीतिमा पहुँच गुमाए। यसैगरी, अपहरण र व्यवसायी धम्क्याएर ५० लाख रकम माग गरेको आरोपमा जेल परेका श्यामसुन्दर गुप्ता पनि अहिले बेखबर छन्।

भ्रष्टाचार मुद्दामै फरार भएका तर, पछि अदालतमा धरौटी बुझाएर निस्केका विजयकुमार गच्छदार राजनीतिक जीवनमा फर्के पनि पहिलेको जस्तो रवाफमा छैनन्। कांग्रेस छाडेर फोरम र पुनः कांग्रेस फर्केका गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए।

पूर्वसभामुख तथा उपप्रधान एवं गृहमन्त्री समेत रहेका कृष्णबहादुर महरा पनि यौन दुर्व्यवहारको आरोपमा जेल बसे । यद्यपि, उनलाई अदालतले निर्दोष भएको फैसला गरेपछि डिल्लीबजार कारागारबाट रिहा गरियो।

पूर्वमन्त्री बद्री मैनाली र डम्बर श्रेष्ठमाथि पनि भ्रष्टाचार मुद्दा लाग्यो। यद्यपि, उनीहरूले यसमा आफूहरू दोषी नभएको इन्कार गरिरहेका छन्। मैनालीलाई ५ लाख धरौटीमा छाडियो। अर्कोतिर नेपाल वायु सेवा निगमको चर्चित भ्रष्टाचार काण्ड ‘लाउडा’ प्रकरणमा मुछिएका तात्कालीन पर्यटन मन्त्री तारिणीदत्त चटौतले पछि ‘क्लिन चिट’ लिन भ्याए। नेपाललाई २ अर्ब घाटा भएको यस प्रकरणमा अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ र सञ्चालक तीर्थलाल श्रेष्ठलाई सजाय दिए पनि तत्कालीन पर्यटनमन्त्री चटौतलाई चोख्याइयो।

उता, सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री विक्रम पाण्डेको छवि पनि स्वच्छ मानिएको छैन। उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यसैगरी, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुनेगरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको चर्चामा हुँदाहुँदै उनको सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाउनुपरेको थियो। लामिछाने नागरिकता र राहदानी विवादमा तानिए । यद्यपि, नागरिकता पुनर्प्राप्तिपछि सांसद निर्वाचित भएर आएका उनीमाथि अझै मुद्दा पर्नेक्रम जारी छ।

यसैगरी, एमाले नेता गोकुल बास्कोटा पनि ७० करोड प्रकरणमा मुछिए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनको नाम जोडेर अडिओ प्रकरण बाहिर आयो। त्यसैगरी, शेरबहादुर तामाङ, सरिता गिरी र शरदसिंह भण्डारी पनि विवादमा तानिएपछि राजीनामा दिने अवस्थामा पुगे। तामाङले बंगलादेशमा अध्ययनरत छात्राका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। यसैगरी, गिरीले भारत र नेपाल सम्बन्धका विषयमा र भण्डारीले नेपालबाट तराईका २२ जिल्ला टुक्रिन सक्ने अभिव्यक्ति दिएपछि पदबाट राजीनामा दिनुपर्‍यो।

पूर्व-उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरी हिरासतमा छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरूको संलग्नता र करोडौं रुपैयाँको चलखेल आरोप उनीहरूमाथि लागेको छ। उनीहरू माथि शुक्रबारदेखि अदालतमा बयान सुरु हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved