डेढ अर्ब लगानीमा ठमेलमै खुल्यो नयाँ होटल ‘बाराही काठमाडौं’

नेपालभ्युज

डेढ अर्ब लगानीमा ठमेलमै खुल्यो नयाँ होटल ‘बाराही काठमाडौं’
काठमाडौं। बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइबारदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठवटा सुइट र ७२ वटा डिलक्स रुम गरी ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए ।
होटलमा कफी सप, रेष्टुरेन्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ । होटलको सातौं तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ छ । स्विमिङ पुलको मोहोडातर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको थापा बताउँछन् । साढे चार फिट गहिरो स्विमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ ।
बाराही ग्रुपले  व्यावसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुइँतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ । काठमाडौंको ‘मिड पोइन्ट’मा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिमश्रृंखला देख्न सकिन्छ ।
सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । सपिङ कम्प्लेक्ससहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अञ्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।
नेपालली पर्यटनको ‘गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौंमध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपको ‘प्रिमियम प्रपर्टी’ रहेको थियो । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । चार दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटलमा पछि सुविधा थप गरी  होटल बाराही नामाकरण गरिएको हो ।
पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आबद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लजसमेत सञ्चालनमा छन् ।
बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड  सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)मा समेत जाने थापाले बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved