आरजु देउवा विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गरे कारबाही हुने !

रास्वपा गएका नेतालाई बधाई दिन पनि नपाइने

आरजु देउवा विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गरे कारबाही हुने !

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका जिम्मेवार नेता र तीनका परिवारको नाम जोडिएपछि नेपाली कांग्रेसले पार्टी नेताविरुद्ध आएका कुनै पनि समाचार लाइक गर्ने र सेयर गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ।

कांग्रेसले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने नेता कार्यकर्तालाई बधाई दिनसमेत प्रतिबन्ध लगाएको छ। पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा पत्नी कांग्रेस नेतृ तथा सांसद आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जाल र अनलाइनमा लेखिएका समाचारलाई पार्टीका जिम्मेवार नेताकार्यकर्ताबाटै लाइक र कमेन्ट आउन थालेपछि कांग्रेसको बागमती प्रदेश समिति बैठकमा समेत यसले चर्चा पाएको थियो।

बैठकमा दोलखा पार्टी सभापति बर्मा लामाले पार्टीको जिम्मेवार नेताले नै पार्टी नेता विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गर्ने अनि पार्टी छाडेर रास्वपा गएकालाई प्रगतिको शुभकामना भन्दै बधाई दिनु गम्भीर विषय हो भनेका थिए। लामाको जस्तै कुरा अन्य सदस्यले पनि उठाउन थालेपछि कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र प्रदेश पदाधिकारी तथा सदस्यले समेत त्यसमा चासो राखेका थिए।


बैठकमा सभापति इन्द्र बानियाँले यसरी लाइक कमेन्ट गर्ने र सेयर गर्नेलाई कारबाही गर्ने चेतावनी नै दिए। त्यसो त समाचार लाईक, सेयर गर्ने मात्रै होइन आरजुका विरुद्ध आएका समाचारमा ‘खुच्चिङ’ र ‘बल्ल मज्जा आयो’ भन्ने कमेन्ट समेत नेताहरूबाटै गरेको देखियो भन्दै केही नेता बैठकमै जुर्मुराए। स्रोतका अनुसार पार्टी छाडेकालाई बधाई दिने मात्रै होइन पार्टी नै छाडेको घोषणासमेत बैठकमा गरियो ।

चितवनबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सदस्य देवकी गौतमले बैठकमै पार्टी छाडेको घोषणा गरिन् भने प्रदेश कार्यसम्पादन समिति सदस्य लामा कर्पु बैठकमै आएनन् र मेसेज लेखेर राजीनामा पठाए । अन्य केही सदस्यले पनि पार्टी छाड्छौं भन्ने सन्देश पठाए।

गौतमले राजीनामा लेख्दै ‘आफ्नो वडामा ७ सय भन्दा बढी क्रियाशील कांग्रेस सदस्य हुँदा पनि रूखमा भोट ५ सय पनि नआएको’ भन्दै आफुले जिम्मेवारी छाड्ने र त्यो ठाउँ अरुलाई दिने उल्लेख गरिन्। तर,उनको राजीनामा स्विकृत गरिएन। त्यसको केही समयपछि उनि आफैँले फेसबुकमा लेखिन्–‘बैठकबाट राजीनामा अस्विकृत भएकोले नेता साथीहरू,पदाधिकारी एवं सभापतिज्यूको अनुरोधलाई मनन गर्दै राजीनामा फिर्ता लिएको छु।’

नेता विरुद्धका समाचार लाइक र कमेन्ट गरेको विषयमा पनि बैठकमा निकै चर्को बहस भएको सदस्यहरु बताउँछन्।‘अब आइन्दा यस्तो देखिएमा पहिले स्पष्टीकरण सोधिने र चित्तबुझ्दो नभए ६ महिनालाई कारबाही नै गर्ने भन्ने कुरा भएको छ’ नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार दुलालले नेपाल भ्युजसँग भने–‘सभापतिज्युले पनि रुलिङ नै गरेर पार्टी र नेताविरुद्ध अराजक गतिविधि गर्ने कसैलाई पनि म छाड्दिन भन्नुभयो।’

यस विषयमा नेपाली काङ्ग्रेस बागमती प्रदेश समिति प्रबक्ता तिलक रुवालीले पनि पार्टीमा छाडा प्रवृत्ति बढ्दै गएपछि नियन्त्रण गर्नुपरेको प्रतिक्रिया दिए । ‘पार्टीको आफ्नै विधि विधान छ, पार्टीको नीति सिद्धान्त र बिचार छाडेर अराजक बन्न भएन भन्ने कुरा हो’ उनले नेपालभ्युजसँग भने-‘काङ्ग्रेसको नेता कार्यकर्ता हुँ भन्ने अनि घन्टी-घन्टी  भन्न पाइन्न भन्ने कुरा पनि हो।’
बैठकले बागमती प्रदेश सम्मेलन गर्ने विषयमा पनि निर्णय गरेको र जेठ २० गतेभित्र प्रतिनिधि पठाउन जिल्ला सभापतिहरूलाई भनिएको समेत प्रवक्ता रुवालीले बताए ।

त्यसो त पार्टीले पनि विधी र प्रक्रियामा गएर कार्यसम्पादन गर्न नसकेको तथा प्रदेश र संघीय सरकारमा सहभागिता जनाउँदा पनि जनमुखी कामहरू गर्न नसकेको धेरैको गुनासो थियो। ‘हाम्रै पार्टी नेता र पदाधिकारीको कार्यशैली हेर्दा मलाई नै राजीनामा दिने सोच आइसक्यो’ दुलालले भने–‘पार्टीले जनताको पक्षमा काम गरेर पार्टी बलियो बनाउनुपर्नेमा झन् लथालिङ्ग होला जस्तो भइसक्यो। सरकारी बजेटले आफ्ना खेत, निजी पर्खाल र घरजाने बाटो बनाउन थाल्दा जनतामा कसरी राम्रो बन्न सकिन्छ।’

स्रोतका अनुसार देउवा पत्नीका विरुद्ध समाचार आएको विषयसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाणको गिरफ्तारी र उनकी पत्नी मञ्जु खाणको कुरा पनि बैठकमा उठेको थियो । तर, त्यस विषयमा कसैले बचाउ गर्ने अवस्था भएन र ‘तैं चुप मै चुप’ मै विषय सकियो।


Comment

8 thoughts on “आरजु देउवा विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गरे कारबाही हुने !

  1. ने•का• बागमती प्रदेश कार्यसमिति पाटीको के कस्ता संगठन बिस्तारका गतिविधि संचालन गरिरहेको छ? जनतालाई सुशासन र जनमुखी क्रियाकलापहरु मार्फत जीविकोपार्जन सहजीकरण गर्न तथा भ्रष्टाचार नियन्त्रणका के कस्ता अभियान सञ्चालन गरेको छ? यसको आधारमा संगठन बिस्तार हुने हो । अनियमित र भ्रष्टाचारको बिरोध गर्दा पाटीको सान बढ्छ होईन? कि के हो सभापति ज्यू ?? यतातीर ध्यानाकर्षण हुनु पर्दैन र ?? भ्रष्टाचार र अनियमितता को बिरोध गर्दा पाटीका नेता होइन आफ्नै बा रिसाए पनि फरक पर्दैन ।

  2. तिम्रा बाउका छाउरा हुन र सर्वभौम जनतालाई बँधुवा बनाउन ! भ्रस्टचार गर्नेलाई नजिक आफन्तलाई लुकाउदा अरुलाई फसाउने प्रबृदी यो कालो काँग्रेसको नियत नै हो ।

  3. आरजु देउवा विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गरे कारबाही हुने भनेर व्हिप जारी भएछ र गगन थापा तथा बिश्व प्रकाश शर्मा को मुख बन्द भएको, गज्जब को लोकतन्त्र

  4. नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य भएर अन्य पार्टीको गतिविधिमा संलग्न हुन्छन भने उनीहरू काङ्ग्रेस पार्टीका सच्चा सिपाही हैनन साथै उनीहरूले पार्टीमा रहेर पार्टी बिरोधि गतिविधि सञ्चालन गरे बैदिक भाषामा पितृ दोष लाग्छ भने आधुनिक बिअज्ञानको भाषामा प्रकृति दोष अवश्य लाग्ने हुँदा यो भाव जान्ने व्यक्तिले कि त पार्टी छोड्नै पर्छ या त गल्ती गर्नै हुँदैन ।
    जाहा सम्म आर्जु देउवाले गरेको नराम्रो काम भ्रष्टाचार बिरूद्धमा बोले लाईक कमेन्ट गरे कारवाही हुन्छ गरिन्छ भन्नु चाहि हिटलरी शासन भन्दा पनि कडा प्रकृतिको समाचार मानिन्छ। आफ्नो पार्टीका सदस्य लाई टिकट बितरण गर्दा होस, शसस्त्र प्रहरी जनपद र निजामती कर्मचारीलाई पैसा कमाउने ठाउँमा सरुवा गर्दा होस, बढुवा गर्दा पैसा लिएर कसैले गराउन अर्थात आर्जु राणाले गरेमा बोल्न नपाउनु, लेख लेखेर पोष्ट गर्न नपाउनु, कमेन्ट गर्न नपाउनु भनेको चाहि “छुचुन्द्रोको टाउकोमा चमेलीको तेल” जस्तो कुरा हो यो। हामीले २००३ सालमा नेपाली काङ्ग्रेस पार्टी गठन गर्दा होस वा २००७ सालमा प्रजातन्त्र प्राप्त गर्दाहोस, वा २०४६ चैत २६ गते दोस्रो आन्दोलन सफल पार्दा होस वा ०६२/०६३ को आन्दोलन गरि ०६३ मङ्सिर-५ गते बिद्रोही पक्ष र सरकार पक्षबाट बीच शान्ति सम्झौता गर्दा नेता र नेताका श्रीमतीले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनका लागि ल्याएका थिएनौ,
    हाम्रा पुर्वज स्वर्गीय नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शम्सेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाले यही भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाउनका लागि आफ्नो सम्पत्ति घरबार छोडेर र कसैले जीवन नै एक्लै बिताएर ल्याइदिएको हैन, त्यसैले भ्रष्टाचार गर्ने कमि कमजोरी गर्ने र नेपालीलाई नक्कली भुटानी बनाएर त्यस्मा पनि शरणार्थी बनाएर अमेरिका पठाई अकूत सम्पत्ति कणाउने भ्रष्टाचारी व्यक्तिलाई लेख्ने कमेन्ट गर्ने कालोमोसो दल्ने सबै काम गरिन्छ।
    नेपाली काङ्ग्रेस पार्टी कसैको बुबाको मात्र पार्टी हैन, कसैको हजुरबुबाको पार्टी हैन यो पार्टीलाई याहा सम्म ल्याउन हजारौ कार्यकर्ताले बलिदान गरेका छन । यो समाचार लेख्ने अनलाइन खबर मार्फत सम्बन्धित व्यक्ति समक्ष पुगोस, भ्रष्टाचार नगर्नेलाई केही नगर्ने र गर्नेलाई जे गर्नपनि तयार रहेने जानकारी होस, धन्यबाद जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved