नेपाली चलचित्र उद्योगमा एक यस्ता कलाकार छन् जसको परिचयका लागि उनको नाम होइन काम नै काफी छ। नेपाली चलचित्रमा मात्रै होइन भारतीय चलचित्र उद्योगमा पनि उनको कामको प्रशंसा भइरहेको हुन्छ। केही वर्षअघि उनले दमदार अभिनय गरेको भारतीय चलचित्र ‘मेरी कोम’ ले विश्वव्यापी चर्चा पाएको थियो।
नेपाली चलचित्र क्षेत्रमा त उनको वास्तविक नामभन्दा चलचित्रमा पाएको पात्रको नाम नै ‘ब्रान्ड’ बनेको छ ‘राते काइँला’। चलचित्र ‘चिनो’ मा अभिनय गरेपछि उनको वास्तविक नाम नै ‘राते काइँला’ भइदियो। हो, उनै ‘राते काइँला’ अर्थात् सुनील थापासँग नेपालभ्युका लागि हामीले कुराकानी गरेका छौँ।
तपाईंले चलचित्र क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?
– धन्यवाद, हुन त मैले मेरो करिअर सुरु गर्दा नै क्यामेराबाट रिएक्टिङ गर्नुपर्ने हो। मैले भाग्यवश (लक्कीली) सुरु गर्दैमा ४/५ वटा सुपरहिट बलिउड चलचित्र खेल्न पाए। नेपाली चलचित्र शुरु गर्दा पनि ‘हिट’का ‘हिट’ हुन थाल्यो। कस्तो भने मलाई अहिले पनि सुनील थापा भन्दा पनि बढी ‘राते काइला’ भनेर नै चिन्छन्। तर, कहिलेकाहीँ लाग्छ पहिले क्यानबाट अभिनय गर्दा भन्दा अहिलेको डिजिटल मेकिङले गर्दा अलि मज्जा लाग्दोरहेनछ। किनभने, क्यानमा जति टेक लियो त्यति क्यान खर्च हुने भएकोले ओके भएपछि त्यहीँबाट डाइरेक्टरले कट गरेर अर्को टेक लिन्थे।
अहिले डिजिटलमा जति गरे पनि हुने तर, डिजिटल फर्म्याट राम्रो भए पनि अल्छिपना बढ्ने रहेछ। जस्तो मैले हिन्दी फिल्म ‘मेरीकोम’ अभिनय गर्दा त्यसको नायिका प्रियङ्का चोपडाले ‘थापा सर कस्तो लागिरहेको छ?’ भनेर सोध्दा मैले खासै इन्जोइङ गरिनँ भन्दा उनी छक्क पर्दै ह्वाई ? भनिनँ। किनभने मेरो पहिलो टेकमा जुन ऊर्जाको साथ मैले अभिनय गर्छु नि त्यो १५/२० पटक दिनुपर्दा त्यो ‘इनर्जी’ नै हुन्न। किनभने इनर्जी घटिसकेको हुन्थ्यो। हुनत हामीले पनि फिल्म निर्माणमा धेरै प्रगति गरेका छौँ। जस्तो प्रेमगीत ३ हेर्नुस् न।मैले प्रेमगीत ३ खेले। यसले हाम्रो लागि त ‘स्वर्गको ढोका’ खोलेको जस्तै भयो।
हाम्रो फिल्मको विदेशमा मार्केट नै थिएन। जब ‘लुट’ आयो त्यसले यहाँको माहोल बदल्यो र प्रेमगीत ३ ले बलिउडको ढोका खोलिदियो। अर्को कुरा हाम्रो फिल्म रिलिज हुँदा भन्दा अझै पनि भारतीय चलचित्रले मार्केट बढी पाइरहेको छ। अनि अर्को कुरा भारतीय चलचित्र ‘उचाइ’ जब नेपालमा सुटिङ भयो त्यसले हाम्रो टुरिजम मार्केटलाई पनि सपोर्ट गर्यो। अझै अमिताभ बच्चन नेपाल नआइकन पनि डिजिटल माध्यमले गर्दा उहाँ आएरै अभिनय गरेको जस्तो देखियो। अझै,अमिताभ सर आएर नेपालको बारेमा केही बोलिदिनुभएको भए राम्रो हुन्थ्यो। उता प्रेमगीत-३ ले नेपाल चिनायो यता ‘उचाइ’ले यहाँको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्यायो। यो हाम्रो लागि राम्रो कुरा हो।
भारतीय कलाकारले नेपालमा सुटिङ गर्दा नेपालको पर्यटनमा पनि सकारात्मक प्रभाव पर्ने कुरा गर्नुभयो। तर,भारतीय कलाकारको नेपाली कलाकारलाई बुझ्ने अवस्थाचाहिँ के रहेछ ?
-बलिउडमा के छ भने कलाकारलाई उनीहरूले हेप्दैनन्। नेपाली कलाकार भनेर सम्मान गर्छन्। जस्तो हाम्रोमा विदेशी निर्देशक आएर ‘क्याराभान’ बन्यो। त्यसले पनि यहाँको पर्यटनलाई सहयोग नै पुर्यायो। जस्तो ‘मेरी कोम’ चलचित्र निर्माणको समयमा भारतमा इन्टरनेसनल फिल्मकर्मीको स्टल थियो र मलाइ निम्तो दिइयो। तर, त्यहाँ पुगेर हेर्दा हाम्रो चलचित्र क्षेत्रको ‘स्टल’ वा उपस्थिति नै थिएन। मैले किन भएन ? भनेर प्रश्न गर्दा अनौठो जवाफ पो आयो। नेपालमा चलचित्र क्षेत्रमा काम गर्ने संस्था पनि छ ? भनेर सोधियो। मैले किन छैन ! भनेर जवाफ दिए।
भनेपछि के नेपालमा चलचित्र विकास बोर्ड वा चलचित्र क्षेत्रलाई विकास गर्ने संस्था पनि छ भनेर चिनाउनुपर्ने अवस्था पो देखियो ?
-हो, तर यो ८/१० वर्ष अगाडिको कुरा हो। मैले एउटा बुहारी भन्ने चलचित्र खेलेको थिए। पछि थाहा भयो त्यस चलचित्रको गीत हिन्दीमा पूरै कपी गरिएको देखे। यसमा के छ भने बलिउड चलचित्रकर्मीले हाम्रो गीतहरू ‘कपी’ गर्छन्। जस्तो ‘बर्फी’ फिल्म हेर्नुस् त जहाँ हाम्रो नेपाली कलाकार भोला सापकोटाले पनि अभिनय गर्नुभएको छ। हामीले पनि एभरेस्ट फिल्म एकेडेमी सुरु गरेका छौँ। जसले एक वर्षको कोर्समा हाम्रा विद्यार्थीले बनाएको फिल्मले अन्तर्राष्ट्रिय अवार्ड पनि जितेका छन्। यो हाम्रो लागि सकारात्मक कुरा हो।
अहिलेको समयमा हिन्दी बोल्ने मानिस विश्वको कुनै ठाउँमा हराउँदैन किनभने भारतीय चलचित्रका कारण विश्वभरि हिन्दी भाषाको प्रभाव छ। अब हामीले पनि नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन बलिउडबाट के सिक्नुपर्ने रहेछ ?
–एउटै कुरा, ‘मार्केट बढाउन’ सिक्नुपर्यो। जस्तो,बलिउडमा मलाइ याद छ। भारतमा फिल्म चलेन भने पनि विदेशमा चलेको कारण पनि पैसा उठाइरहेका हुन्छन्। त्यो कमाइले लगानीकर्ताहरू टिकिरहेका हुन्छन्। तर, अब हामीकहाँ पनि त्यो स्तरको चलचित्र निर्माण हुन थालिसक्यो। हाम्रोमा प्रेमगीत ३ आउनु अगाडि निर्माताको व्यक्तिगत सम्बन्धको कारण अमेरिकामा बस्ने नेपालीसँग समन्वय गरेर रिलिज गर्दै आएका थिए। तर, अब नेपाली फिल्मले पनि त्यो बाटो खोलिदिएको छ। कतिपय फिल्म राम्रो बनेर पनि ‘पब्लिक च्वाइस’ आवश्यक हुने रहेछ। अहिले मानिसहरू टेलिभिजनसमेत हेर्न छाडिसकेको अवस्थामा उनीहरूलाई हल सम्म तान्ने फिल्म बनाउन ठूलो मेहनत र चुनौती छ। मलाई त यो डर पनि लागिरहेको छ कि ५ वर्षपछि सुनील थापाको फोटोबाटै डिजिटल प्रविधिबाट फिल्म बन्न थाल्यो भने त्यसको भुक्तानी कसरी पाउने ?
भारतीय चलचित्र पहिले पनि नेपालमा सुटिङ भएकै थिए र आज पनि हुने गरेका छन्। जब बलिउड कलाकार नेपालमा सुटिङ गरेर फर्किन्छन् उनीहरूले गएपछि ‘आहा नेपाल’ भने भन्ने कुराचाहिँ के रहेछ ?
-नेपाल भनेको जस्तो अमिताभ बच्चन ‘उचाइ’का लागि नेपाल आइदिनुभएको भए। जस्तो उहाँ ‘खुदाहा कि गवाह’ सुटिङमा नेपाल आउनुभयो। अहिले यो डिजिटल प्रविधिमा उहाँ आइदिनुभएको भए यस्तो मज्जा आउँथ्यो कि हाम्रो नागरिकसँग पनि जब उहाँको भेट हुन्थ्यो। उहाँहरूको एउटै ट्विट लाखौँ करोडौंले हेर्छन्।अनि नेपालबारे थाहा हुन्थ्यो।
जस्तो दुई साता अगाडि एक जना दक्षिण भारतीय नायक नेपाल आउनुभयो। उहाँले खिचेका तस्वीर वाहु ! भनेर सामाजिक सञ्जालमा आउँदा खेरी म धेरै खुसी छु। यो हाम्रो लागि गज्जब हो। हामीले के सिक्ने भन्दा पनि अन्तर्राष्ट्रिय फिल्म मेकरहरू हाम्रोमा आउँदा हामीले अभिनय वा सहायक क्यामेरामेन हुनु र त्यो अवसर कसरी लिने भन्ने कुरा मुख्य हुन्छ।
त्यसोभए हामीले गर्न सक्ने तर नगरेको कुरा के रहेछ ?
– हेर्नुस् फिल्म निर्माण भनेको जुवा जस्तो पनि हो। भाग्यले साथ दियो भने फिल्म मेहनत गरे अनुसार ‘हिट’ पनि हुन्छ। नत्र कहिलेकाहीँ ‘तास खेल्दा दाउ’ नआएजस्तो फिल्म नै चल्दैन। यसको लागि सायद कर छुट पनि हुनुपर्छ। राम्रो चलचित्र निर्माण गरेर विश्वको कल्चरल मुभी निर्माण गरेर ‘फिल्म महोत्सव’ मा पठाउन सकेमा र कुनै अवार्ड जित्न सक्दा त्यसले असाध्य राम्रो हुन्छ।त्यसले विदेशी दर्शक त पाइहाल्छ फेस्टीबलको रिजल्ट आउँदा। साथमा नेपाली दर्शक पनि तान्नेछ।
जस्तो कुनै दिन यस्तो आउन सक्छ ? कि नेपाली चलचित्रमा भारतीय र नेपालीको संयुक्त निर्माण र अभिनय होला ?
-अवश्य हुन्छ। जहाँसम्म लाग्छ त्यो सुरुवात भैसकेको छ। देवयानी भन्ने एउटा नयाँ फिल्म म गर्न गइरहेको छु कि त्यसमा ‘हिरो’ मुम्बईबाट ल्याइएको छ। त्यसको स्क्रिप्ट पढ्दाखेरी नै म खुसी छु। कहिलेकाहीँ कलाकारले स्क्रिप्ट र रोल राम्रो छ भने पैसा मात्रै पनि हेर्दैनन्। उनीहरूलाई कहिलेकाहीँ कुनै एउटा शहरमा उठेको सबै रकम दिन्छौँ पनि भनिन्छ। यसले एउटा शहरमा फिल्म चल्यो भने कलाकारको पनि कमाइ राम्रो भयो यदि चलेन भने कम कमाइ हुन्छ। तर, पैसा पाइन भन्ने अवस्था हुँदैन।
भारतीय चलचित्र ‘मेरी कोम’ प्रवेश र भारतीय कलाकारलाई कसरी सम्झनुहुन्छ ?
-यस्तो भयो, यदि भारतीय चलचित्रको कथामा नेपाली कलाकारको अभिनय चाहिएको अवस्थामा खुसीसाथ सम्मान दिएर चलचित्रमा लिने गरेका छन्। अब ‘मेरी कोम’ चलचित्रको त के भन्ने मलाइ भगवान् पशुपतिनाथले नै ‘ल सुनील थापा राम्रो रोल आएको छ खेल्नुस्’ भनेर वरदान नै दिएको जस्तो भयो। अर्को कुरा बलिउडमा कलाकारलाई हेप्ने वा होच्याउने भन्ने हुँदै हुँदैन। अहिलेसम्म मैले त्यस्तो सुनेको पनि छैन र आफूलाई त्यस्तो लागेको पनि छैन।
भारतीय कलाकारको सम्बन्ध र व्यवहार कस्तो पाउनुभयो ?
-जस्तो डेनी डेन्जोङ्पासँग मैले काम गरे। प्रियङ्का चोपडा,सञ्जयलीला भन्सालीसँग काम गरे। उहाँहरूसँग काम गर्दा प्राय भेट हुँदैन र पनि सम्मान पाइन्छ। जस्तो मेरो ‘मेरी कोम’ रिलिज हुँदा डेनी सावले सिक्किमबाट फोन गरेर ‘ए सुनील ल बधाई छ ! ‘बहुत नाम सुना तुम्हारा’ भनेर बधाई दिनुभयो। यो मेरो लागी त ‘अवार्ड’ जस्तै भयो नि। अनि प्रियङ्काले बोलाएर अँगालो मारेर ‘बधाई छ थापा सर’ भन्यो। सञ्जयलीला भन्सालीले पनि ‘बधाई छ थापा सर, धेरै खुसी लाग्यो’ भनेर बधाई दिए। त्यो सबै मेरा लागि अवार्ड नै त हो।
‘मेरी कोम’मा कसरी तपाईंले नै अवसर पाउनुभयो ?
-यो ‘मेरीकोम’ मा मैले गरेको रोल सबैभन्दा पहिला अमिताभ बच्चनलाई आएको रोल हो। उहाँले होइन मलाई अलि गाह्रो होला भनेर खेल्नुभएन। त्यसपछि डेनी साबलाई भनियो र उहाँले पनि खेल्नुभएन। त्यसपछि आदिल भन्ने कलाकारलाई अफर गरेर उसको अडिसन पनि लिइएछ तर चित्तबुझ्दो नभएपछि एक जना मुम्बईमा फिल्म उद्योगमै प्राविधिक काम गर्ने साथी महेश पौडेल भाइले मेरो नम्बर दिएर ‘सुनील थापा दाइ इज दियर आइ विल गिभ नम्बर’ भनेछन्। अनि मलाई कल आयो। अनि मुम्बई यात्रा तय भयो। तर, मलाई सुरु सुरुमा लाज के लाग्न थाल्यो भने प्रियङ्का चोपडाले ‘वर्कआउट’ गरेको देखेर। उहाँको मेहनत वाह ! कस्तो लगनशील कलाकार। त्यसपछि मैले पनि आफूलाई त्यसै अनुरूप तयार पारे।
अरू चलचित्रको कुरा पनि आइरहेको थियो। तर, तपाईं यतै हुनुहुन्छ किन ?
– मलाई एउटा कुरा के भने नेपाली फिल्म खेलेरै ‘ओस्कर अवार्ड’ सम्म पुग्ने ठूलो इच्छा छ। मलाई सलमान खानको फिल्मबाट पनि अफर आएको थियो। जुनबेला म प्रेमगीत-३ को लागि मनाङमा थिए। म उहाँहरूसँग सम्पर्कमा हुन्थे तर त्यस लगत्तै ‘कोरोना’ सुरु भयो र स्थगित भयो। पछि हलिउड फिल्मबाट समेत मलाई अफर आयो। ‘द ग्रेट ग्रेण्डपा’ नामको फिल्ममा मलाई बाजेको रोल दिने तयारी थियो। तर, त्यो फिल्म पनि कोरोनाले रोकियो सायद २०२४ मा त्यो चलचित्र बन्ने अझै सम्भावना छ भनेर मलाई अमेरिका बस्ने भाइहरूले भन्नुभएको छ।
नेपाली चलचित्र क्षेत्रले ‘उद्योग’को मान्यता किन पाएन ? साँच्चिकै नेपाली चलचित्र मनोरञ्जनको क्षेत्र मात्रै हो कि उद्योग हो ?
– यो धैर्यताको कुरा हो। विस्तारै विस्तारै सायद नेपाल उद्योग वाणिज्य महासंघमा साथीहरू पुग्नुभएको छ। केही समय धैर्य गरौं उद्योगको ढोका पनि खुल्छ।
चलचित्र क्षेत्रका साथीहरूको मनमुटाव सामाजिक सञ्जालमा छरपस्ट हुनु र फिल्म सिटी घोषणा हुन नसक्नु अनि फिल्म जुधाउने कुराले के सन्देश दिन्छ ?
-यसलाई मिलाउने प्रयास जारी छ। तर, कहिलेसम्म हो भन्नेचाहिँ धैर्य गर्नैपर्ने हुन्छ। वर्षौंदेखि फिल्म नजुधाउने प्रयास गरिएकै छ। एकै पटक ४ वटासम्म फिल्म नजुधाऔँ भनेकै छौँ। हेरौँ अब खोलाको पानी कहिले निलो भएको हेर्न पाइन्छ !
भारत पाकिस्तानको सम्बन्ध जति नराम्रो भए पनि कहिलेकाहीँ खेल क्षेत्रले सम्बन्ध सुधारको काम गरेको देखिन्छ। नेपाल र भारतको सम्बन्धमा चलचित्र क्षेत्रले पनि अझै सुमधुर सम्बन्ध बनाउन सक्छ ?
-गज्जब। प्रेमगीत-३ ले यो कुरा प्रमाणित गरिसक्यो। बलिउडका दर्शकले हाम्रो फिल्म मन पराइदिनु पनि यसको प्रमाण हो। उताको दर्शकले नेपाली फिल्म मनपराइदिनु र हामीले बलिउडको फिल्म मनपराउनुले सम्बन्ध यसै पनि राम्रो हुन्छ। हामीबीचको सम्बन्ध यसै पनि राम्रो छ। त्यसमा नेपाली चलचित्र र भारतीय चलचित्रले पनि हाम्रो सम्बन्ध अवश्य राम्रो बन्दै जान्छ। बलिउडका कलाकार नेपाल र नेपालीप्रति धेरै सकारात्मक छन्।
अन्त्यमा भारतीयहरूले विदेशमा गएर बलिउडका ठुला अवार्ड कार्यक्रमहरू गर्दछन्। त्यो नेपालमा गर्न सक्ने अवस्था कत्तिको छ ?
-अवश्य छ। मज्जाले गर्न सकिन्छ। नेपालमा जुन भर्खरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना भयो नि। त्यो नेपालले जित्यो। हेर्नुस् अब आईसीसीले अर्को अन्तर्राष्ट्रिय गेम तुरुन्तै यहाँ राख्छ। त्यस्तै, चलचित्रमा पनि यो हुन्छ। सकारात्मक सोच राखेर अगाडी बढ्ने हो भने सबै कुरा हुन्छ। उनीहरूलाई चाहिने भनेको एउटा हल मात्रै हो। त्यो हामी दिन सक्छौँ। अरू केही समस्या छैन।
Facebook Comment
Comment