देशको अर्थतन्त्र उकास्न तत्काल आर्थिक सुधारका उपाय अवलम्बन गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपालभ्युज

देशको अर्थतन्त्र उकास्न तत्काल आर्थिक सुधारका उपाय अवलम्बन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्काल सुधारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्वबजेट अन्तर्क्रिया कार्यक्रममा बोल्दैअध्यक्ष ढकालले भने, ‘मुलुकको बृहत् आर्थिक परिसूचकहरूले अर्थतन्त्र प्रतिकुलतातिर गैरहेको देखाइरहेको समयमा हामी आगामी आर्थिक वर्षको बजेटको तयारी गर्दैछौँ । मूलतः उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले पछिल्ला ३ त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक छ। यसले मुलुक मन्दीतर्फ उन्मुख भइरहेको देखाएको छ। तर म प्रतिकुलतामा सम्भावना खोज्ने व्यक्ति हुँ। तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक भए पनि यस वर्ष १.८६ प्रतिशत वृद्धि हुने प्रक्षेपण कार्यालयको छ। अबका दिनमा अर्थतन्त्रमा सुधार हुँदै जाने आधारमा यो प्रक्षेपण गरिएको हुनुपर्छ।’

अब अर्थतन्त्र विस्तारै लयमा फर्किंदै जानेमा आफूलाई आशा एवं विश्वास रहेको पनि ढकालले बताए। ‘मैले नेपाली अर्थतन्त्रमा सम्भावना देख्नुका पछाडि केही आधार छन्। २०७२ को विनाशकारी भूकम्पपछि दुई वर्ष लगातार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि भएको थियो’, उनले भने, ‘अर्को पछिल्लो कोभिड १९ महामारी पछिको पहिलो वर्ष ४ र दोस्रो वर्ष पाँच प्रतिशत वृद्धि सम्भव हुनु नेपाली अर्थतन्त्र रेजिलेन्ट हुनुको उदाहरण हो।’

नेपाली अर्थतन्त्रमा केही मूलभूतः गुण रहेको र ती अन्यत्र विरलै पाइने ढकालले बताए। ‘हामीकहाँ स्वच्छ र नविकरणीय ऊर्जाका प्रायः सबै स्रोत उपलब्ध छन्। हरेक प्रकारको खेती गर्न सकिने मौसम र भूबनोट छ’, उनले भने, ‘नेपालमा सञ्चालित प्रायः सबै बहुराष्टिय कम्पनी नाफामा छन्। नेपालीहरूको मेइडेन एज २४ वर्ष छ अर्थात् यो युवाहरूको देश हो।’

विश्वका दुई ठूला बजारसँग सीमा जोडिएको मात्र नभई भन्सारररहित पहुँच पनि रहेको ढकालले बताए। ‘हालसम्म युरोप, अमेरिकालगायत बजारमा पनि नेपाली उत्पादनले भन्साररहित पहुँच पाउँछन्। सबै मौसममा पर्यटकहरू रमाउन सक्ने वातावरण छ’, उनले भने, ‘यस्तो अवस्थामा हामी गरिब भइरहनुपर्ने कुनै कारण देखिँदैन। तर, केही व्यवस्थापकीय र केही नियामकीय समस्या छन्ु। राजनीतिक अस्थिरता र सुशासनको अभाव छ। सबैभन्दा ठूलो कुरो निजी क्षेत्रमाथिको विश्वास एकदमै न्यून छ।’

‘हामी सबैलाई थाहा छ, कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको भूमिका ८१ प्रतिशत छ। राजश्व संकलन र रोजगारीमा पनि निजी क्षेत्रको त्यति नै हिस्सा छ’, उनले भने, ‘भारत, चीन, रुवान्डा, बंगलादेशजस्ता मुलुकमा गरिबी तीव्र गतिमा घटनुका मुख्य कारण निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो।’

अब आउने नीतिहरूले त्यो आँट गर्नुपर्ने ढकालले बताए। ‘हामी यत्तिकै बस्यौँ भने अर्थतन्त्रमा सुधार हुँदैन। यो सुधार तत्कालै आउने मौद्रिक नीतिको चौथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमार्फत गरिनुपर्छ’, उनले भने, मैले महासंघको नेतृत्व सम्हाल्दै गर्दा यी विषयलाई आफ्नो प्राथमिकतामा राखेको छु। पहिलो विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्कालीन सुधारका उपाय अवलम्बन गर्नुपर्छ।’

आगामी दिनमा पनि यस्तो समस्या आउन नदिने केही संरचनात्मक सुधार अहिले नै आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताए। ‘जस्तो कि हामीकहाँ ७ प्रतिशत माथिको आर्थिक वृद्धि हुँदा तरलतामा चाप पर्ने गरेको छ। त्यसैले बजारमा निरन्तर रकम प्रवाह भइरहने उपायको खोजी गरिनुपर्छ’, उनले भने, ‘त्यसैले हाम्रो दोस्रो प्राथमिकता स्वदेशी र विदेशी लगानीलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु हो। नेपालमा वार्षिक करिब २० अर्ब विदेशी लगानी आउने गरेको छ। नेपालजस्तै अतिकम बिकसित मुलुकहरू बंगलादेश, क्याम्बोडिया भन्दा यो १० गुणा कम लगानी हो।’

सन २०१९ मा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन नयाँ ल्याइएको उल्लेख गर्दै ढकालले भने, ‘एकद्वार केन्द्र पनि स्थापना गरियो। तर पनि लगानी बढन सकेन। रोजगारी र राजश्वका लागि मात्र नभई निर्यात बढाउन पनि विदेशी लगानी अपरिहार्य रहेको विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ।’

उक्त प्रतिवेदनले सन २०२० को निर्यातका आधारमा १२ गुणा निर्यात बढाउन सकिने आधार पेस गरेको ढकालले बताए। ‘तर, यसको एउटा सर्त विदेशी लगानी विस्तार गर्नु पनि हो, जसले उच्च मूल्य अभिवृद्धिसँगै प्रविधि आकर्षित गर्नेछ’, उनले भने।

अध्यक्ष ढकालले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएयता निर्यात मात्र तीन गुणा बढेको बताए। ‘जब कि आयात ८ गुणासम्म बढ्यो। निर्यात बढाउन तीनपटक रणनीति वने’, उनले भने, ‘तर, पनि उपलब्धि हासिल हुन सकेको छैन।’

‘यसैबीच नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ। त्यसपछि विशेषगरी युरोप र अन्य विकसित मुलुकमा पाइरहेको भन्साररहित सुविधा गुम्न जानेछ। साना तथा मझौला उद्यमी यसबाट बढि प्रभावित हुनेछन्’, उनले भने, ‘यसबारे महासंघले अध्ययन गरेको छ। रणनीति तयार पारि मुख्य पाँच विषय सम्बोधन गर्नुपर्ने हाम्रो राय छ।’

लक्षित उपलब्धि हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य नभई सम्भव नरहेको पनि ढकालले बताए। ‘यस दिशमा गत साउनमा हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आर्थिक रुपान्तरणका लागि सार्वजनिक निजी साझेदारी गरेका छौँ’, उनले भने।

अर्को कुरा दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिनु जरुरी रहेको ढकालको भनाइ थियो। ‘नेपाल श्रमशक्ति सर्वेक्षणले मुलुकमा ११ प्रतिशत पूर्ण बेरोजगारी देखाएको छ। अर्धबेरोजगारी त धेरै बढी छ’, उनले भने, ‘यता उद्योग–व्यवसायले दक्ष जनशक्ति पाइरहेका छैनन्। वैदेशिक रोजगारीमा जाने ७४ प्रतिशत युवा अदक्ष छन्। त्यसैले आय बढाउन दक्षता बढाउनु आवश्यक छ। अर्को निजी क्षेत्रको मर्यादाको विषय छ।’

आफूहरूले यसपटकको बजेट सुझाव तयार पार्दा पनि यी विषयलाई विशेष प्राथमिकता दिएको पनि ढकालले बताए। ‘पहिलो विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउनु आवश्यक छ। त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक छ। यससँगै निर्माण, उद्योग एवं साना उद्योगहरूलाई पुर्नकर्जा आवश्यक परेको छ’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved