अवैधरूपमा वैदेशिक रोजगारीमा गएकाहरूलाई एक पटकका लागि वैधता दिने सरकारको तयारी

नेपालभ्युज

अवैधरूपमा वैदेशिक रोजगारीमा गएकाहरूलाई एक पटकका लागि वैधता दिने सरकारको तयारी

काठमाडौं। सरकारले अवैधानिक तरिकाबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ।

मंगलबार काठमाडौंमा आयोजित ‘सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार’ विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्।

उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरू विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको जानकारी दिए। उनले वैदेशिक रोजगारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमिकहरू बढी शोषणमा परेको बताए।

अवैधरूपमा विदेश गएका नेपाली नागरिकहरूलाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रूपमा काम थालेको उनले बताए।

कार्यक्रममा बोल्दै ओरेक नेपालका संस्थापक अध्यक्ष रेणु राजभण्डारीले महिलाहरूको श्रमको मूल्य पाउनेगरी सामाजिक सुरक्षा योजना आवश्यक रहेको बताइन्। उनले प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमको आवश्यक्ता रहेको उल्लेख गरिन्।

महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीबाट अलपत्र बनेर आएका महिलाहरूको व्यवस्थापनका लागि सातै प्रदेशले सोच्न जरुरी रहेको बताइन्। उनले वैदेशिक रोजगारीमा गई अलपत्र परेका महिलाहरूको अभिभावकत्व राज्यले लिनुपर्ने बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved