नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने, बजेट अभाव

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने, बजेट अभाव

चितवन। नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र विस्फोट गरिने भएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भने, “पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन। त्यसैले आगामी कात्तिकपछि मात्र विस्फोटको काम हुनेछ।”

विस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ। पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने हुन्छ

। बारुद खरिद प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो। बारुद खरिदको अनुमतिका लागि नेपाल सरकारले भारतीय दूतावासमा फाइल पठाएको थियो। दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ अझैसम्म प्राप्त हुन सकेको छैन। आयोजना प्रमुख कार्कीले सोमबारसम्ममा दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिने जानकारी प्राप्त भएको बताए ।

“बारुद खरिदका लागि भारतीय दूतावासले सोमबार अनुमतिपत्र दिने भएको छ तर वर्षाका कारण अहिले बारुद ल्याएर काम गर्न सकिने अवस्था छैन,” उनले भने।

कुनै पनि आयोजनामा विस्फोट गराउनुपर्दा आयोजनाको स्थानीय जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिएपछि मात्रै आयात गर्न पाउने कानुनी व्यवस्था छ।

भारतबाट आयात गरिने बारुदका लागि नेपाली सेनाले भण्डारण र विस्फोट गराउने व्यवस्था मिलाउनेछ। यसका लागि नेपाली सेनासँग लिखित सम्झौता गर्न बाँकी छ। तुइनखोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन आयोजनाले १५ मेट्रिकटन बारुद खरिद प्रक्रिया अगाडि बढाएको छ।

विश्व बैङ्कको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ आर्थिक सहयोगमा नारायणगढ–मुग्लिन सडक आयोजनामा अहिले १५ वटा पुल निर्माणको काम भइरहेको छ। आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले २०७६ चैत १० गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएका ती पुलमध्ये अहिलेसम्म ११ वटाको निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा छ भने तुइनखोलासहित चिसेन्जी, काली, सिमलताल र नाम्चेखोलामाथिका पुल निर्माणकै क्रममा रहेको जानकारी दिए।

निर्माणकै क्रममा भएकामध्ये तुइन खोलामा पहाड काट्नुपर्ने कारणले र चिसेन्जीखोलाको पुल क्षेत्रमा क्षतिपूर्ति उपलब्ध गराउन नसक्दा निर्माण प्रक्रिया सुरु नभएको हो भने सिमलताल र नाम्चेपुल निर्माणको अन्तिम चरणमा छ। यद्यपि सम्झौताअनुसार आगामी पुस ९ गतेभित्र विस्फोटको काम सकेर पुल निर्माण गरिसक्नुपर्नेछ।

बजेटको अभाव

अहिले पुल निर्माणका लागि बारुदको अभावसँगै बजेटको पनि समस्या भएको छ। आयोजना प्रमुख कार्कीले अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा नदिँदा पुल निर्माणको काम रोकिनुपर्ने अवस्था आएको बताए।

अनक कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ। “अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा बजेटकै अभावमा पनि पुल निर्माणको काम तत्काल अगाडि बढाउन सकिने अवस्था छैन,” उनले भने उनले कन्स्ट्रक्सनले आठ करोड रुपियाँभन्दा बढीको निर्माण सम्पन्न गरेको बजेट निकासा गर्नुपर्ने भए पनि त्यो रोकिएको बताए।

क्षतिपूर्ति वितरण सुरु

नारायणगढ–मुग्लिन सडक सीमाभित्र रहेका घरटहरालाई क्षतिपूर्ति दिने काम भने सुरु भएको छ। पहिलो चरणमा ११ वटा घरटहराका धनीलाई ५० लाख रुपियाँ क्षतिपूर्तिबापतको रकम निकासा भइसकेको आयोजनाले जनाएको छ।

गत फागुन ३० गते मन्त्रीपरिषद् बैठकले सडक सीमा क्षेत्रभित्र रहेका घरटहराधनीलाई क्षतिपूर्तिका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। “पहिलो किस्ताबापत ११ जनाको खातामा क्षतिपूर्ति रकम उपलब्ध गराउने गरी कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरलाई विनियोजन गरेर पठाइसकेका छौँ। एक/दुई दिनमै पीडितको खातामा रकम जम्मा हुनेछ,” उनले भने।

सो सडक सीमाभित्र रहेका २५ वटा घरटहरालाई क्षतिपूर्तिका लागि मन्त्रीपरिषद्को बैठकले ९७ लाख रुपियाँ छुट्याएको थियो।  – गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved