नेपाली क्रिकेट नयाँ अध्याय सुरु गर्ने अवस्थामा : सन्दीप लामिछाने

नेपालभ्युज

नेपाली क्रिकेट नयाँ अध्याय सुरु गर्ने अवस्थामा : सन्दीप लामिछाने

काठमाडौं। एसीसी प्रिमियर कपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका सन्दीप लामिछानेले नेपाली क्रिकेट नयाँ अध्यायको सुरुवात गर्ने क्रममा रहेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध ७ विकेटको जित निकालेपश्चातको पत्रकार अन्तर्क्रियामा सन्दीपले नेपाली क्रिकेट नयाँ अध्यायतर्फ लम्किरहेको बताए।

सन्दीपले भने, ‘हामी नयाँ अध्याय सुरु गर्ने अवस्थामा रहेका छौँ। विगतमा विकास हुँदै गए पनि भारत र पाकिस्तानजस्तो टेस्ट मान्यताप्राप्त राष्ट्रहरू खेल्ने अवसर जुरेको थिएन। यो एउटा सुरुवात हो।’

उनले यो नेपाली खेलाडीहरूको लागि सिक्ने राम्रो अवसर रहेको बताए। ‘उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्दा उनीहरूले तालिम गर्ने शैली, मैदानमा प्रदर्शन गर्दा अपनाउने रणनीतिलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नेछौँ। यो हाम्रो लागि फलदायिक हुनेछ।’, सन्दीपले भने।

सन्दीपले टोलीको बलियो पक्ष सबैले आफ्नो भूमिका बुझ्नु रहेको बताए। उनले भने, ‘अहिले टोलीमा सबै खेलाडीले आफ्नो भूमिका बुझेका छन्। प्रशिक्षक मोन्टी देशाईंले बनाएको रणनीति पनि फलदायिक छ। गृह मैदानसँगको निकटता र समर्थकको उपस्थिति, यी सबैको मिश्रणले हामीलाई बलियो बनाएको छ।’

उनले खेललाई जिताउन गुल्सनको योगदान अतुल्नीय रहेको पनि बताए। खेलाडी, प्रशिक्षक, नेपाल क्रिकेट संघ क्यानलगायत धेरैको समन्वयले नेपाली क्रिकेट टोलीको प्रदर्शनको स्थरमा वृद्धि भएको सन्दीपले बताए। उनले समर्थकको बाक्लो उपस्थितिको पनि खुलेर प्रशंसा गरे।

सर्वोत्कृष्ट खेलाडीको उपाधि लिने क्रममा उनले भने, ‘जसरी घामपानी नभनी हाम्रो लागि तपाईंहरु ‘समर्थकहरू आइदिनुभयो, त्यो निकै नै प्रेरणादायिक रह्यो। यसले हामीलाई थप उर्जा प्रदान गर्यो। तपाईंहरू हाम्रो परिवार बन्नुभइसक्यो। दुवै दिन आएर हौसला प्रदान गर्नुभएकोमा अपार माया र धन्यवाद। आगामी दिनमा पनि यस्तै साथको अपेक्षा गर्छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved