आयकर नतिरेपछि दुर्गा प्रसाईंलाई १५ दिने ‘अल्टिमेटम’

नेपालभ्युज

आयकर नतिरेपछि दुर्गा प्रसाईंलाई १५ दिने ‘अल्टिमेटम’

काठमाडौं। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालय झापाले १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिएको हो। प्रसाईं हाल चर्को बैंक ब्याज र लघुवित्तविरुद्ध आन्दोलनको अगुवाइ गरिरहेका छन्। उनी राजा फर्काउने अभियानमा समेत सक्रिय छन्।

प्रसाईंले झापाको विर्तामोडमा सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ। उनको मेडिकल कलेज पनि सम्बन्धन नपाएको भन्दै विवादमा पर्दै आएको छ।

पटक–पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ।

सो कार्यालयले सञ्चालक दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ। प्रसाईंले आफुले राज्यलाई तिर्नुपर्ने कुनै पनि बक्यौता बाँकी नराखेको भन्दै आएका छन्।

प्रसाईंले बैंक तथा लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने अभियान चलाएको भन्दै आलोचनासमेत हुँदै आएको छ। लामो समय माओवादी राजनीतिमा सक्रिय प्रसाईं नेकपा कालमा एमाले अध्यक्ष ओलीसँग निकट भएपछि उनलाई पार्टीले केन्द्रीय सदस्य बनाएको थियो।

बैंक तथा लघुवित्तविरुद्ध आन्दोलन र राजा ल्याउने अभियानको नेतृत्व गरेपछि उनलाई एमालेले कारबाही गरेको छ। सामाजिक सञ्जालमा पार्टीहरूको विरोध गर्ने र अभियन्तालाई समेत थर्काउने उनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको २ करोड मागेको टेलिफोन अडिओको विषयमा समेत विवादमा तानिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved