चितवन र तनहुँका पुराना कांग्रेस नेतालाई कसरी भयो बीपीभन्दा रवि ठीक ?

कांग्रेस सुध्रिने वा जाग्ने अवस्था नदेखेरै रास्वपा रोजेको हुँ : पौडेल

नेपालभ्युज

चितवन र तनहुँका पुराना कांग्रेस नेतालाई कसरी भयो बीपीभन्दा रवि ठीक ?

काठमाडौं। पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले प्रजातान्त्रिक बिचार र बीपी कोइरालाभन्दा रवि लामिछानेको विचार मन पाराएका छन्।

गत वर्षको स्थानिय चुनावमा भरतपुर महानगरको मेयर पदमा बागी उम्मेदवार रहेका पौडेल मंसिर ४ को निर्वाचनमा समेत बागी उठेर पराजित भए। निर्वाचनमा उठिरहँदा आफू लोकतन्त्र र कांग्रेसको इमान्दार सिपाही रहेको तर, पार्टीले बीपी विचार छाडेर अरुको गुलाम बनेको आरोप उनको थियो।

चितवन कांग्रेसमा लोकप्रिय नेताभित्रै पर्ने पौडेललाई गठबन्धनका उम्मेदवार विरुद्ध बागी उठेपछि पार्टीले कारबाहीसमेत गरेको थियो। तर, पार्टीले गरेको कारबाही फुकुवा भइसकेपछि उल्टै उनले कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सघाउने उद्घोष गरिसकेका छन्।

नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री एवं पूर्वमन्त्रीसमेत रहेका गोविन्दराज जोशी पनि तनहुँमा रामचन्द्र पौडेलको क्षेत्रमा बागी उम्मेदवार थिए। स्थानीय निर्वाचनमा छोरालाई व्यास नगरपालिकाको मेयरमा बागी उठाएका जोशी मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा भने आफैं पौडेलविरुद्ध बागी उठे।

निर्वाचनमा छोरा मेयरमा र आफू सांसदमा पराजित भएसँगै निष्क्रिय रहेका जोशीलाई पनि कांग्रेसले पार्टीमा सक्रिय हुन आह्वान गर्दै कारबाही फुकुवा गर्‍यो ।

तर, उनले पनि पार्टीको कारबाही फुकुवापछि कांग्रेससँग संवादको ढोका बन्द भएको भन्दै रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सहयोग गर्ने अभिव्यक्ति सार्वजनिक गरे।

हेर्दा सामान्य लागे पनि चितवन र तनहुँमा पौडेल र जोशी फ्याक्टरले निर्वाचनको नतिजामा प्रभाव पार्ने देखिन्छ। जगन्नाथ पौडेलले मेयरमा १४ हजारभन्दा बढी मत ल्याएका थिए भने प्रतिनिधिसभामा पनि उनको मत सम्मानजनक थियो। यद्यपि, उनले मत पाएको सबै क्षेत्र उपनिर्वाचन हुँदै गरेको चितवन-२ भित्र पर्दैन।

तर, भरतपुरको पूर्वउपमेयरसमेत रहेका कानुन व्यवसायी पौडेलसँग केही लोकप्रिय मत रहेको छ। ‘पौडेलसँग अझै पनि निर्णायक मत छ भन्ने कुरा कांग्रेसले भुल्न हुँदैन’ चितवन-२ का कांग्रेस क्रियाशील सदस्य विष्णु बस्ताकोटी भन्छन्–‘कांग्रेसले हिजो पौडेल सहित धेरै पुराना नेतामाथि अन्याय गरेकै हो तर,अहिले रवि लामिछानेको भड्काउमा लागेर पौडेलले कांग्रेस उम्मेदवारलाई अन्याय नगर्दा राम्रो हुन्छ। उहाँलाई कांग्रेसमै राख्ने वातावरण हुनुपर्छ।’

तनहुँमा पनि अवस्था उस्तै छ। करिब ७ हजार मत रहेको भनेर बार्गेनिङ गर्दै आएका जोशी माथिको कारबाही फुकुवा भए पनि जोशीले कांग्रेसमा सक्रिय हुन अनिच्छा देखाउँदै स्वर्णिमलाई सघाउने आशय देखाएका छन्।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईकै मत स्वर्णिम वाग्लेले काट्ने अवस्थामा जोशी समूहसमेत उतै लाग्दा भट्टराईलाई जित निकाल्न कठिन हुनसक्ने तनहुँ कांग्रेसका नेताहरू बताउँछन्।

‘तनहुँ १ कांग्रेसकै बलियो क्षेत्र हो। तर, जोशी समूहलाई मिलाएर अघि बढ्दा जति सहज हुन्छ उहाँले विपक्षी उम्मेदवारलाई बोक्दा परिस्थिति जे पनि हुनसक्छ’ तनहुँ कांग्रेसका एक नेता भन्छन्–‘चुनावी नतिजा कांग्रेसकै पक्षमा आउँछ तर,जोशी समूहले असहयोग नै गर्दाचाहिँ ढुक्क हुन सक्ने अवस्था रहेन।’

कांग्रेसलाई असहयोग गर्दै रवि जिताउने अभियानमै हिँडेका जगन्नाथ पौडलचाहिँ कांग्रेस अब सच्चिने ठाउँमै नरहेकोले आफूले रास्वपा रोजेको बताउँछन्।

‘कांग्रेस अब कांग्रेस रहेन, त्यो पहिल्यै माग्रेस (माओवादी–कांग्रेस) भइसक्यो। यसलाई बीपी, किसुनजी र गणेशमानको भन्दा प्रचण्डको माया धेरै भइसक्यो’ पौडेलले नेपालभ्युजसँग भने–‘अब कांग्रेस सुध्रिने वा जाग्ने अवस्था नदेखेरै रवि जत्तिको युवालाई साथ दिनुपर्छ भनेर रास्वपा राजेको हुँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved