दुना-टपरीबाट उद्यमी बन्दै धनगढीका महिला, प्लास्टिकमुक्त धनगढी बनाउन सहयोग

नेपालभ्युज

दुना-टपरीबाट उद्यमी बन्दै धनगढीका महिला, प्लास्टिकमुक्त धनगढी बनाउन सहयोग

धनगढी। बढ्दो शहरीकरणसँगै प्रदूषण बढिरहेका बेला धनगढी उप महानगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना-टपरी उत्पादनमा जोड दिएको छ ।

उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका दुना-टपरी विस्थापन गरी त्यसको विकल्पमा सालका दुना-टपरीलाई प्राथमिकता दिएपछि अहिले धनगढी उप महानगरका महिलाहरू दुना-टपरी उत्पादनमा जुटेका छन् ।

घरको चुलो चौकामा सीमित रहने गृहणीहरू पछिल्लो समय उत्पादनमूलक व्यवसायतिर लागेपछि निम्न वर्गीय महिलाहरूको आर्थिक अवस्थामा पनि सुधार भएको छ ।

धनगढी उपमहानगरपालिकाले दुना-टपरी बनाउने तालिमसँगै मेसिनसमेत उपलब्ध गराएपछि उनीहरू दिन रात खटिएर दुना-टपरीको उत्पादनमा लागेका छन्।

वनजङ्गलमा खेर जाने सालको पातबाट दुना-टपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । धनगढी उपमहानगरपालिकाले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना-टपरीलाई प्राथमिकता दिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको हिमाली दुना-टपरी उद्योगकी अध्यक्ष ममता बानिया अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म दुना-टपरी बनाउँन बस्दछिन् ।

परम्परागत नेपाली दुना-टपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती भए पनि अहिले उपमहानगरपालिका प्लास्टिक मुक्त अभियान सुरु गरेपछि केही सहज भएको बानियाँको अनुभव छ ।

दुना-टपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुना-टपरी उद्योग उपयुक्त हुँदै गएको उनको भनाइ छ । यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीय रूपमा समेत फाइदा पुगेको छ भने बजारमा बिक्री गर्दै आम्दानीको स्रोत बनेको छ।

गत माघ महिनाबाट दुना-टपरी उत्पादन सुरु गरेका हिमाली दुना-टपरी उधोगका महिलाहरूले थोरै भए पनि आम्दानी गर्न थालेका छन् । करिब ३० जनाको समूह रहेको उधोगबाट हाल कच्चा पदार्थ, तथा बिजुली बिलसम्मको आम्दानी भइरहेको उनीहरू बताउँछन् ।

धेरै ठूलो टिम भएका कारण सुरुको आम्दानी नदेखिए पनि बिस्तारै आम्दानी हुन सुरु भएको हिमाली दुना-टपरी उधोगका सदस्य रजनी कुँवरको भनाइ छ । “दुना-टपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, कुँवरले भनिन्, “आफ्नै वन पाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन ।

गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुना-टपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने कुँवरको विश्वास छ।

दुना-टपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको उद्योगकी सदस्य सीतादेवी चौधरीको भनाइ छ। “पहिले-पहिले श्रीमानले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नुनतेल, बच्चाको कापी किताब यसैबाट पुग्न लागेको छ।”

सामुदायिक वनमा स्थापित दुना-टपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ। विस्तारै धनगढी बजार र जिल्लाभरि नै बजारका होटल तथा रेस्टुरेन्टबाट माग आएको त्यसैअनुसार उत्पान बढाउने सोचमा आफूहरू रहेको चौधरीले बताइन् ।

“अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, एक दिन जङ्गल गएर टिपेको पातले तीन-चार दिन लाफा बनाउन सकिन्छ।

धनगढी उपमहानगरपालिकाले पछिल्लो वर्ष मात्रै १ सय ८० जना महिलाहरूलाई दुना-टपरी उत्पादनसम्बन्धी तालिम दिइसकेको छ, भने ५० जना तालिम लिइरहेका छन् ।

तालिमसँगै उत्पादनसँग जोड्नका लागि धनगढी उपमहानगरपालिकाले समूहगत रूपमा ९ वटा मेसिन उपलब्ध गराएको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जानकारी दिए । उनले दुना-टपरी उत्पादनमा जोड दिएको उप महानगरले हरेक काममा प्लास्टिकको विकल्पमा दुना-टपरी प्रयोगमा ल्याउने दाबी गरे।

घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै महिलाहरू सामूहिक रूपमा दुना-टपरी उत्पादनमा जुटेका महिला आफ्नो कामबाट खुसी छन् मेयर हमालले भने विपन्न उपभोक्ताको सहभागिता गराई आर्थिक रूपमा सबल पार्ने योजनासँग एकातर्फ प्लास्टिक मुक्त धनगढी र अर्काेतर्फ महिलालाई आत्मनिर्भर बनाउन सवैको सहयोग आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved