स्वर्णिमलाई गगनको व्यङ्ग्य- ‘गृह पाए फेरि दाइ भाउजू प्यारो हुने त होला नि !’

नेपालभ्युज

स्वर्णिमलाई गगनको व्यङ्ग्य- ‘गृह पाए फेरि दाइ भाउजू प्यारो हुने त होला नि !’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ बाट उम्मेदवार बनेका अर्थविद् स्वर्णिम वाग्लेलाई व्यंग्यको झटारो हानेका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट पार्टीका उम्मेदवार गोविन्द भट्टराईको मनोनयनपछि कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी छाड्दा ‘दाइ भाउजूले पार्टी बिगारे’को आरोप लगाउने वाग्लेलाई व्यंग्य गरेका हुन्।

थापाले रास्वपाका नेताहरूको ध्यान पार्टी र सिद्धान्त भन्दा पनि रोजेको मन्त्रालय पाउने की नपाउने भन्ने मात्रै रहेको आरोपसमेत लगाए।

‘नयाँ आउनुभएको साथीको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने मात्रै रह्यो’ महामन्त्री थापाले भने, ‘अब तनहुँवासीले प्रश्न गर्नुपर्छ । पुष्पकमल दाहाल र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको, केही दिनपछि गठबन्धनबाट किन निस्केको, फेरि केही दिनपछि नयाँ गठबन्धनमा राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ? अहिले सरकारबाहिर किन बसेको ?’

तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले अगाडि थपे–‘कांग्रेसलाई दाजु भाउजुको पार्टी भन्नेले फेरि यही सरकारमा सहभागी हुने त होला नि ।’

उनले अझ अगाडि भने–‘कतिपय साथीले नेपाली कांग्रेस पार्टी दाजु भाउजुको पार्टी भयो भन्नुभयो, म चुनौतीका साथ भन्छु उपनिर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारले नयाँ पार्टीलाई तपाईंलाई म गृह मन्त्रालय दिन्छु भन्यो भने नयाँ पार्टी सरकारमा आउँछ कि आउँदैन ? आउँछ ।’

महामन्त्री थापाले त्यो बेला दाइसँग बस्दिन भाउजूसँग बस्दिनँ भन्न सक्ने कि नसक्ने ? भन्ने प्रश्न समेत गरे। ‘त्यो बेला दाइ पनि कति राम्रो भाउजु पनि कति राम्रो भन्ने त होला’ उनले भने–‘तपाईंलाई परेको बेला दाइ पनि ठीक, तपाईलाई माफी दिए भाउजू पनि ठीक, तपाईंले भनेको मन्त्रालय प्राप्त भएन भने सबै बेठीक यही हो नयाँ पार्टी ? यही हो नयाँ चाला ?’

महामन्त्री थापाले गृह मन्त्रालय पाए फेरि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने टिप्पणी समेत गरे। उनले तनहुँवासीले रास्वपाका नेता आउँदा विगतमा किन सरकारमा गएको ? किन बाहिरिएको ? र गठबन्धन बदलेर राष्ट्रपतिमा किन रामचन्द्र पौडेललाई मत दिएको ? भनेर प्रश्न गर्नुपर्ने समेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved