रवि लामिछानेविरुद्ध रिट लिएर युवराज पौडेल पुगे सर्वोच्च अदालत

नेपालभ्युज

रवि लामिछानेविरुद्ध रिट लिएर युवराज पौडेल पुगे सर्वोच्च अदालत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको भन्दै सर्वोच्चमा रिट दर्ताका लागि युवराज पौडेल (सफल) आइतबार अदालत पुगेका छन्।

राहदानीका विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालत पुगेका हुन् । यद्यपि, उनको रिट भने दर्ता भएको छैन। लामिछाने उपर कानुनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग छ ।

अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दूराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।

राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले गरेको निर्णय गलत भन्दै पौडेलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर महान्याधिवक्ताले निष्कर्ष निकालेको दाबीसमेत गरेका छन् ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने पनि पौडेलको माग रहेको छ ।

दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा उल्लेख गरेका छन् ।

लामिछानेविरुद्धको रिट मुख्य रजिस्ट्रारले अध्ययन गरिरहेको र दर्ता गर्ने नगर्ने निर्णय हुन बाँकी रहेको पौडेलले जानकारी दिए । रवि लामिछाने आगामी वैशाख १० को उपनिर्वाचनमा पुनः चितवन २ बाट उम्मेदवार बन्ने तयारीमा छन्। उनी हाल चितवनमै चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved