ब्लग

अप्रिल फूलमा जन्मिएको म, त्यसैले ढाँटिरहन्छन् आफ्नै सपनाहरू !

पेशाले पत्रकार भएर हो, अरुबारे र अरुका बारे खुबै लेखियो र अझै लेखिनेछ पक्कै । उनीहरूका जीवनबारे, उनीहरूका दुःखबारे, उनीहरूका पीडा, दर्द र सुखानुभूतिबारे अनि उनीहरूका सपनाहरूबारे त कति लेखियो कति ।

अप्रिल फूलमा जन्मिएको म, त्यसैले ढाँटिरहन्छन् आफ्नै सपनाहरू !

पेशाले पत्रकार भएर हो, अरुबारे र अरुका बारे खुबै लेखियो र अझै लेखिनेछ पक्कै । उनीहरूका जीवनबारे, उनीहरूका दुःखबारे, उनीहरूका पीडा, दर्द र सुखानुभूतिबारे अनि उनीहरूका सपनाहरूबारे त कति लेखियो कति ।

अरुका सपनाबारे लेख्दालेख्दै आफ्नै सपनाहरू अलिखित रहे । त्यसैले यहाँचाहिँ म आफ्नै सपनाहरूबारे लेख्दैछु, जो मलाई ढाँटिरहन्छन् पटक-पटक । जसरी ढाँटेका थिए इंग्ल्यान्डका राजाले आफ्ना जनतालाई अप्रिल फर्स्टमा ।

अप्रिल फर्स्ट अर्थात् अप्रिल फूल । अप्रिल फर्स्ट मेरो लागि सिर्फ अप्रिल फूलमात्रै पटक्कै होइन । अप्रिल फर्स्ट मेरो जन्मदिन पनि हो । र, जन्मदिन के हो ? जन्मिएरै हुर्किँदै गर्नुभएका तपाईंहरूलाई मैले बताइरहनुपर्ने कुरै रहेन ।

ढाँट्ने सपनाहरूसँग म धन्य छु, कुनै गुनासो छैन । किनकी, ढाँट्नेहरूले जस्तो साँचो र सत्यबारे बुझाउने क्षमता अरुले राख्दैनन् ।

सोचिल्याएँ— अस्ति, हिजो र आज भन्दाभन्दै जीवनका धेरैवटा वसन्तहरू पार गरिसकेछु । पार गरिएका वसन्तहरू गन्दै जाँदा हातका औँलाहरू चाँडै रित्तिन्छन् । तर गरेका काम, हात लागेका उपलब्धि र नढाँट्ने सपनाहरू गन्दा एउटै पनि औँला भाँच्न नपर्ने ।

यही सन्दर्भलाई म आफ्नै जन्मदिन (अप्रिल फूल) सँग जोड्न पुग्छु यदाकदा । प्रश्न गर्छु आफैँलाई— के म अप्रिल फूलमा जन्मिएको भएर हो आफ्नै सपनाहरूले ढाँटेको ? के अप्रिल फूलमा जन्मिएकाहरूलाई आफ्नै सपनाहरूले ढाँटिरहन्छन् हो बारम्बार ? अनुत्तरित प्रश्नहरू बेलगाम थुप्रिन्छन् । जसलाई सम्हाल्ने हैसियत छाडेर म कतै फुत्किएको छु, धागोबाट चङ्गा फुत्किएजसरी । त्यो भेटिन पनि सक्छ र नभेटिन पनि सक्छ; भाग्यको कुरा ।

साथी–सर्कलमा अक्सर मैले भन्ने गर्छु— आयाम द ड्रीमर । हुन त म ड्रीमर नै हुँ पनि । सपनाहरू टन्न देख्छु, यत्रतत्र बुन्छु । र, कहिलेकाहीँ यो पनि ठहर गर्छु कि— धेरै सपनाहरू बुन्नु नै पूरा नहुनु पनि हो रहेछ क्यार, सबैको हुने मान्छे कसैको हुँदैन भनेझैँ ।

तपाईं सोध्नुहोला, ‘तँलाई के-के र कुन-कुन सपनाहरूले ढाँटे ?’ मसँग जवाफ छैन । यत्ति थाहा छ, सपनाहरूले जरुर ढाँटेका छन्, ढाँट्दै आएका छन् । तर, ढाँट्ने सपनाहरूसँग म धन्य छु, कुनै गुनासो छैन । किनकी, ढाँट्नेहरूले जस्तो साँचो र सत्यबारे बुझाउने क्षमता अरुले राख्दैनन्, कसैले राख्दैनन् र केही राख्दैन । यसबारे भरपत्यार दिन सक्छु म, आफ्नै भोगाइहरूको गाँठो फुकाएर ।

जे होस् सपनाहरू पूरा भएका छैनन् । चाहनाहरू लय समात्दैनन् । बाटो भुल्छन् इच्छाहरू । मलाई लाग्छ अक्सर, यो पनि त उही अप्रिल फूलको असर हुँदो हो । खैर— तपाईंलाई सपनाहरूले नढाँटून् । साथीहरूलाई ढाँट्न दिनूस् जत्ति पनि, आफ्नाहरूलाई ढाँट्न खुल्ला छाड्नूस् । किनकी उनीहरूले त प्रकारान्तरले साँचो ओकल्छन् । बताइदिनेछन् तपाईंलाई सत्य । तर, सपनाहरूले कहिल्यै साँचो बताउँदैनन् । त्यसैले उनीहरूले नढाँटून् पनि ।

अँ साँच्ची, म जन्म दिने भगवान्‌रूपी आमाबुवाप्रति नतमस्तक छु । यस सन्दर्भमा धेरै कुराहरू लेखिरहनुपर्ने, बोलिरहनुपर्ने र व्याख्या गरिरहनुपर्ने कुरा रहेन । जे लेखेपनि, जे बोलेपनि सबै-सबै अपूर्ण हुन्छ जन्मदाताका लागि । मनको साइनो मनसँग, मुटुको साइनो मुटुसँग छँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved