उद्योगी व्यवसायीको चुनावमा पनि छिर्‍यो राजनीति

कुन उम्मेदवारलाई कसले बोक्दैछ ?

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका उपाध्यहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दौडमा छन् ।

नेपालभ्युज

उद्योगी व्यवसायीको चुनावमा पनि छिर्‍यो राजनीति

काठमाडौं। उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी पनि बढ्न थालेको छ।

यही चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा कसलाई वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने चर्चा चलिरहँदा राजनीतिक दलका नेताले समेत चुनावलाई नजिकबाट नियालिरहेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने प्रचलन छ।

यतिबेला वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू आफ्ना सदस्य उद्योग वाणिज्य संघ र सदस्यसँग भोट माग्न व्यस्त छन् । अहिलेसम्म ५ जना व्यवसायीले वरिष्ठको उम्मेदवार बन्ने तयारीसहित घोषणा गरेका छन् ।

यद्यपि, उम्मेदवारले प्यानल घोषणा गरे पनि उम्मेदवारी दर्तासम्म सहमति खोज्ने प्रयाससमेत भएको छ । घोषणा गरेकामध्ये तीनजना उद्योगी भने राजनीतिक पार्टीको साथसमेत खोज्दै चुनावी अभियानमा होमिएका छन्। महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका उपाध्यहरू रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षको दौडमा छन् ।

महासंघको साधारणसभाबाट अध्यक्ष बाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने विधानमा व्यवस्था छ। यसभन्दा अघिको चुनावमा वरिष्ठ उपाध्यक्षका दुई जना मात्रै उम्मेदवार हुने गरेका थिए ।

महासंघमा भवानी राणा अध्यक्ष हुँदादेखि विधानमा वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने व्यवस्था गरिएको हो।

वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका छोरा हुन्। उनलाई स्वाभाविकरूपमा नेकपा एमालेको समर्थन छ ।

एमाले नेतृ सहाना प्रधानको समेत छोरा भएका कारण उमेशलाई धेरै कम्युनिस्ट नेताहरूले माया गर्दछन्। उनलाई नेकपा एकीकृत समाजवादी निकट व्यवसायीले समेत सघाउने तयारी रहेको बुझिएको छ।

अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई दुवै नेपाली कांग्रेससँग नजिक छन्। उनीहरूलाई नेपाली कांग्रेसको समर्थन रहने भनिए पनि कुन उम्मेदवारलाई कांग्रेस भित्रको कुन पक्षले समर्थन गर्ने भन्ने विवाद छ।

कांग्रेस महामन्त्री गगन थापासँग राम्रो सम्बन्ध भएका अञ्जन श्रेष्ठलाई शेखर कोइराला समूहले समर्थन गर्ने देखिन्छ । पोखराको लक्ष्मी ग्रुपसँगै उदायका अन्जन व्यवसायी आजाद श्रेष्ठका भान्जासमेत हुन्। लक्ष्मी ग्रुपका संस्थापकसमेत रहेका उनलाई नेकपा मा‌ओवादी केन्द्रले समेत सघाउने तयारी रहेकाे स्रोतले जनाएको छ।

यता, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको समर्थन भने रामचन्द्र संघाईलाई रहेको कांग्रेसभित्र चर्चा छ। देउवापत्नी आरजु राणाले संघाईलाई वरिष्ठ उपाध्यक्ष बनाउन आफ्नो पक्षका उद्योगी व्यवसायीलाई फोन गर्ने, भेला गर्नेसमेत गर्न थालेको स्रोतको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved