मदन भण्डारीको हत्यारा पत्ता लगाऊ भन्दा प्रजातन्त्रको रक्षा गर्न भन्दै २१ जना मारियो : केपी ओली

नेपालभ्युज

मदन भण्डारीको हत्यारा पत्ता लगाऊ भन्दा प्रजातन्त्रको रक्षा गर्न भन्दै २१ जना मारियो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० सालमा भएको हत्याको छानबिन माग गर्दा २१ जनाको हत्या भएको बताएका छन् ।

एमालेले आइतबार आयोजना गरेको ‘सुखानीको बलिदान’को स्मृतिमा आयोजित ५०औं शहीद दिवसका अवसरमा बोल्दै ओलीले भने–‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रसंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो।’

उनले हत्याको छानबिन गरिदेऊ भन्दा झापाका डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको बताए । बहुदल आएपछि पनि कांग्रेसले प्रजातन्त्रको रक्षा गर्ने नाममा गोली हानेर मान्छे मारेको उनको आरोप थियो ।

उनले माओवादी जनयुद्धका नाममा १७ हजार मानिस मारिएको र त्यो जनयुद्ध नभएर हत्या गर्ने युद्ध मात्रै भएको टिप्पणी गरे। उनले माओवादीको युद्धले राजा फालेको भन्ने कुरा पनि हास्यास्पद भएको बताए ।‘गणतन्त्रका लागि द्वन्द्व र हिंसा गरेको भनियो ।

०६३ सालमा बृहत् शान्ति सम्झौता भयो’ उनले भने–‘अनि ०६५ सालमा राजतन्त्र संविधान सभाले हटायो। जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’

कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै उनले राजनीतिलाई छलछाम र षड्यन्त्रको खेल बनाइएकोमा आपत्ति जनाए । तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो ।

सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीको हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved