काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्तिहरू मिल्छन् कि भन्ने डरले प्रतिक्रियावादीहरू तर्सिएको बताएका छन्।
उनले जनताको पक्षमा संविधान जारी भएपछि माओवादीप्रति अझै बढी आक्रमण र घेराबन्दी भएको समेत बताए। ‘माओवादी एजेन्डाले जितेपछि माओवादी नरुचाउने शक्तिहरू आतंकित भएका छन्’ अध्यक्ष प्रचण्डले भने–‘त्यसैले पनि अब झन् माओवादी शक्तिहरू सबै एकै ठाउँमा जोडिन आवश्यक छ । शान्ति प्रक्रियापछिका भंगालाहरू पार लगाएर महासागर बन्न जरुरी छ’
उनले अलि अलि कमजोरी सबैले गरेको र त्यसले अनुभव पनि बटुलेको भन्दै सबैको अनुभवलाई ‘हाम्रो अनुभव’को रूपमा जोडेर एकता गर्ने बेला आएको बताए। ‘बाबुरामजीको आफ्नै अनुभव, किरणजी र विप्लवजीका आफ्नै अनुभव छन् यसलाई अब हाम्रा अनुभव र साझा अनुभव बनाऔं’–उनले भने–‘हामी माथि प्रतिक्रियावादीहरूको षड्यन्त्र भइरहेकै छ । फेरि एक ठाउँमा केन्द्रित भएर अगाडि बढौं।’
आफूले जनयुद्धका कमान्डरको हैसियतमा राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दी धेरै खेपेको भए पनि बाबुराम वा वैद्य र विप्लवजीले पनि त्यो अनुभूति गरिरहेको र ती शक्तिहरूसँग लडिरहेको आफूले बुझेको समेत उनले बताए । यो समयमा धेरै बोल्दा कुरा बिग्रन सक्छ भन्दै उनले बोल्न भन्दा कमै गरेर देखाउन आफू पुनः प्रधानमन्त्री भएको बताए।
उनले शहीद, घाइते र वेपत्ताका परिवारलाई न्याय दिन नसकिएको स्वीकार गर्दै त्यसैका लागि अझै संघर्ष गर्नुपरेको समेत औंल्याए । सबै मुद्दामा एक्लै लड्न गाह्रो हुने भएकोले माओवादीहरू एक ठाउँमा आउनुपर्ने पनि उनको जोड थियो । ‘माओवादीहरू मिल्छन् भनेर प्रतिक्रियावादीहरू तर्सिएका छन्, त्यसैले पनि हामी पुनः एक ठाउँमा उभिनुपर्ने भएको छ’ उनले भने–‘समयले छुटायो, भङ्गालो बनायो, अब सबै भङ्गालोहरू एक ठाउँमा ल्याएर महासागरको यात्रा तय गर्नुछ।’
Facebook Comment
Comment