भूमि आयोगमा चार सय बढीको निवेदन

नेपालभ्युज

भूमि आयोगमा चार सय बढीको निवेदन

चितवन ।  राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् ।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन् । गाउँपालिकाबाट दुई सय २३ वटा निवेदन परेको उनले जानकारी दिए । यस्तै भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४, राप्ती नगरपालिकाबाट १९ र रत्ननगर नगरपालिकाबाट १३ वटा निवेदन परेका छन् । कालिका नगरपालिकाबाट अहिलेसम्म निवेदन नपरेको उनले बताए ।

आएका निवेदनमाथि छानविन गरी आयोगले निर्णय गर्ने उनले बताए । उनले भने, ‘जग्गाको मूल्य बराबरको राजश्व बुझाई सकेकाको अद्यावधिकका लागि छिट्टै निर्णय गर्छौँ ।’ जग्गा धनी प्रमाण पूर्जा पाएर पनि समय तोकिएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगले जिल्लामा पूर्जा वितरण गरेका थिए । पुराना आयोगले पाँच वर्ष र १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी पूर्जा वितरण गरेको उनले बताए ।

आयोगले निवेदन सङ्कलन गरेर उनीहरुलाई अब पूर्ण स्वामित्वका लागि निर्णय गर्ने उनको भनाइ छ । जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइने आयोगले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved