काठमाडौं। रक्तदान गर्नु भनेको जीवनदान गर्नु हो। त्यति मात्र नभएर रक्तदान गर्दा मानसिक स्फूर्ति हुनुका साथै विभिन्न रोगको जोखिम पनि कम हुन्छ । रक्तदान गरिसकेपछि केही समयमै ब्लड रिकभर भइहाल्ने भएकाले यसमा आत्तिनुपर्ने अवस्था रहँदैन। साथै, आत्मसन्तुष्टिसमेत मिल्छ । रक्तदान गर्दा शरीरलाई निम्न फाइदाहरू हुन्छन् ।
मुटुरोगको जोखिम कम हुन्छ
नियमित रूपमा रक्तदान गर्दा आइरनको स्तर नियन्त्रित हुन्छ । रगतमा आइरनको मात्रा उच्च हुँदा प्रायः रक्तनलीहरू बन्न हुने हुन्छ, जसले गर्दा मुटुमा समस्या देखिन्छ । यस्तो अवस्थामा रक्तदान गर्दा अतिरिक्त आइरनको मात्रा कम हुन्छ जसले गर्दा रक्तनलीहरूलाई काम गर्न सजिलो हुन्छ । त्यसैले मुटुसम्बन्धी रोग तथा हृदयघात जस्ता समस्याको खतरा कम हुन्छ ।
क्यान्सरको सम्भावना कम हुन्छ
रगतमा आइरनको मात्रा बढ्दै जाँदा कतिपय अवस्थामा रक्त क्यान्सरको खतरा पनि हुन सक्छ । त्यसैले, नियमितरूपमा रक्तदानले आइरनको मात्रा सन्तुलित हुन्छ जसले गर्दा रक्त क्यान्सरको जोखिम कम हुने अध्ययनले देखाएको छ ।
मानसिक स्वास्थ्यमा सुधार
रक्तदान गर्दा शारीरिक स्वास्थ्यका साथसाथै मानसिक स्वास्थ्यमा पनि सुधार आउन सक्छ । कसैका लागि राम्रो काम गर्दा मन तथा दिमागमा जुन खालको सन्तुष्टि प्राप्त हुन्छ यसले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । रक्तदान गर्नाले कुनै न कुनै रूपमा कसैको जीवनदान गर्नु जस्तै हो, जसको बारेमा हामीले सोंच्दा पनि सकारात्मक तथा खुसी महसुस गर्दछौं । यसले हाम्रो मानसिक स्वास्थ्यमा राम्रो असर गर्दछ ।
तौल घट्नु
स्वस्थ व्यक्तिले समयसमयमा रक्तदान गर्दा तौल घटाउनमा सहायता मिल्छ र रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुन्छ । रक्तदानलाई तौल घटाउने दैनिक प्रक्रियाको रूपमा लिनु हुँदैन । कुनै पनि स्वास्थ्य जोखिमबाट बच्नका लागि रक्तदान गर्नुभन्दा पहिला डाक्टरसँग सल्लाह लिनु अत्यावश्यक हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
कैयौं प्रकारको बिमारीहरूलाई रोक्नका लागि रोग प्रतिरोधी क्षमता एकदमै महत्त्वपूर्ण हुन्छ । लगातार रक्तदान गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ ।
जब कोही व्यक्तिले रक्तदान गर्छ तब उसको शरीरमा लाल रक्त कोषिकाहरू नयाँ ढंगले बन्न सुरु हुन्छन् । नयाँ ब्लड सेल्सहरू बन्नाले ल्यूकोसाइट्सको वृद्धि हुन्छ, जो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने र कैयौं बिमारीहरूबाट बचाउनका लागि आवश्यक मानिन्छ ।
Facebook Comment
Comment