मुग्लिन–नारायणगढ सडकखण्ड अझै १५ दिन बन्द हुने

नेपालभ्युज

मुग्लिन–नारायणगढ सडकखण्ड अझै १५ दिन बन्द हुने
फाइल फोटो

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको पुल निर्माणका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएकोले अझै १५ दिन सडक बन्द हुने भएको छ । गएको पुस ५ देखि सडक दैनिक ४ घण्टा बन्द गरिँदै आएको थियो ।

उक्त सडकखण्डमा पर्ने चिसेन्जी खोला र तुइनखोलामा पुस ५ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम भइरहेको थियो । अझै केही दिन काम नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजनाले जनाएको छ।

सडक आयोजनाका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर बाँकी काम पूरा गर्ने तयारी छ । सडक खण्डको कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउने काम भइरहेको छ ।

यसअघि नै कालीखोला नजिकको भित्ता काट्ने काम सकेर पुल निर्माण सुरु भएको छ । तर, तुइन खोलाको मुग्लिनतर्फको भीर काट्न गाह्रो भइरहेकोले समय थप गरिएको हो । दैनिक ४ घण्टाको दरले बाटो बन्द गरेर दुई महिना काम गर्दा पनि केही प्रतिशत मात्रै काम भएको आयोजनाको भनाइ छ ।

यो सडकखण्डमा अनक कन्स्ट्रक्सनले पुल निर्माणको काम पाएको छ । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । सडक विस्तार भइसक्दा पनि पुल निर्माण हुन नसक्दा यात्रामा कठिनाइ हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved