प्रचण्ड–ओली भेट, फेरि उठ्यो रविको कुरा

नेपालभ्युज

प्रचण्ड–ओली भेट, फेरि उठ्यो रविको कुरा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ । दुई नेताबिच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

भेटमा राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । यद्यपि,  भर्खरै सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेका विषयमा समेत नेताहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले रास्वपाले सरकार छाड्दा पनि प्रधानमन्त्री गम्भीर नबनेको भन्दै रविलाई फेरि सरकारमा ल्याउनेबारे के सोच्नुभएको छ ? भन्ने प्रश्न जिज्ञासा राखेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गठबन्धन नटुटोस र रविजीको मन पनि नदुखोस् भन्नेमा गम्भीर रहेको जवाफ दिएका थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि दुई नेताबीच छलफल भएको थियो । त्यही प्रसंगमा ओलीले तपाईंले (प्रधानमन्त्रीले) नै सबै मन्त्रालय राख्ने कि रविजीलाई फकाएर ल्याउने ? वा अन्य कसैलाई ल्याउने सोच्नुभएको छ ? भन्ने प्रश्न समेत गरेका थिए । स्रोतका अनुसार यसको जवाफ भने प्रचण्डले दिएनन् ।

यसअघि, सोमबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो । राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन् ।

पुस १० मा भएको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ । यद्यपी माओवादी पनि राष्ट्रपति एमाले बाहेक अरुलाई बनाउने मुडमा छन् । कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नारा उठाउँदै आएका छन् । यसबीचमा कांग्रेस र एमाले दुवैले राष्ट्रपति आफूहरूले भनेकै व्यक्ति बन्ने दाबी गर्दै आएको छ । माओवादी भने मौन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved