काठमाडौं। पोखरा–१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ।
काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे।
सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउने क्रममा सापकोटा पनि जलेकी थिइन्।
दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ।
उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ । आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म थाहा नभइसकेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।