अनुसन्धान भन्छ-धनाड्य साथी हुने गरीबका बच्चा पनि पछि धनी हुन्छन्

नेपालभ्युज

अनुसन्धान भन्छ-धनाड्य साथी हुने गरीबका बच्चा पनि पछि धनी हुन्छन्

एजेन्सी । अघिल्लो वर्ष हार्वर्ड विश्वविद्यालयको समूहले गरिबीबाट निस्कन कुन कुराले बढी मद्दत गर्छ भनेर जान्ने कोसिस गरे । यसका लागि लगभग ७ करोड २० लाख फेसबुक प्रयोगकर्ताको डाटा लिइयो । २५ देखि ४४ वर्षका यी मानिसहरूमाथि गरिएको यो अनुसन्धानमा पढाई र सपनाले जति ठुलो भूमिका निभाउँछ, त्यति नै ठुलो भूमिका साथीहरूले पनि निभाउँछन् भन्ने थाहा भयो । साथी, ती पनि धनी ।

द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार कमजोर आर्थिक हैसियत भएका बालबालिका वा किशोर किशोरीहरू ७० प्रतिशत बलियो आर्थिक स्थिति भएको घर परिवारको कोलोनी वा घेरामा बस्छन् भने हुर्किएपछि उनीहरूको आम्दानी औसतमा २० प्रतिशतले वृद्धि हुन्छ । यो ठुलो कुरा हो ।

अध्ययन वा कामले पनि भविष्यमा यति वा त्यति प्रतिशतले आम्दानी बढ्छ भन्ने ग्यारेन्टी दिँदैन तर धनी साथीको सङ्गतले भने आम्दानी २० प्रतिशतले बढ्छ भनेर अनुसन्धानले दाबी नै गरेको छ । अनुसन्धानकर्ताले यसलाई आर्थिक सम्बन्ध भनेका छन् ।

यो अनुसन्धानमा थुप्रै इलाकालाई समावेश गरिएको छ जहाँ धनी–गरिब दुवै बस्छन् तर सङ्ख्या भिन्न छन् । हामी यहाँ यस्ता दुई इलाकाको उदाहरण लिऔँ । अमेरिकाको मिनियापोलिसमा धेरैजसो जनसङ्ख्याले राम्रो पैसा कमाउँथे जबकि केही प्रतिशत मानिस गरिब परिवारका थिए । दुवै तप्काबीच मेलमिलाप थियो ।

यस्तै इन्डियानापोलिसमा धनी–गरिबबीच दुरी थियो र त्यहाँ कमजोर आर्थिक स्थिति भएका मानिस बढी थिए । लामो समयसम्म चलेको यो अनुसन्धानमा के पाइयो भने मिनियापोलिसका बालबालिका जब युवा भए तब उनीहरूको कमाई लगभग धनाढ्यकै बराबरीमा आयो ।

यस्तै, इन्डियानापोलिसका बालबालिका वयस्क हुँदा पनि कमजोर आर्थिक अवस्थामा बाँचिरहेको देखिए । दुवै ठाउँमा एक समयमा गरिब परिवारको कमाईमा केही वर्षभित्र ठुलो अन्तर देखियो ।

अनुसन्धानमा यो पनि देखियो कि भिन्न भिन्न आर्थिक हैसियत भएका बच्चा एउटा उमेरसम्म मात्रै एक–अर्कासँग दोस्ती गर्न सक्छन् । १५ वर्षको उमेर पछि उनीहरू एक–आपसमा मिल्न सक्दैनन् । यसलाई फ्रेन्डिङ बायस भनिन्छ। अनुसन्धानकर्ताले समाजमा आर्थिक असमानता कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्य ध्यानमा राखेर यो अनुसन्धान गरेका हुन् ।

धनी साथीसँगको उठ–बसले तपाईँलाई कसरी धनी बनाउँछ ? यो कुरा भने रोचक छ । यसका लागि भर्चुअल डाटाभन्दा फरक अनुसन्धाताले यस्ता वयस्कलाई छाने जो नितान्त फरक आर्थिक अवस्था हुँदा पनि साथी थिए । भिन्न गतिविधिका लागि उनको मस्तिष्कको प्रतिक्रिया हेरियो ।

फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ प्रविधिमार्फत ब्रेन स्टडीमा देखे कि साथीहरू निकै छिटो एक–अर्काको रोजाइसँग जोडिन थाल्छन् । अर्थात्, यदि धनी बच्चालाई स्वस्थ खान र सफा बस्ने बानी छ भने उनीसँग बस्ने अर्को बच्चाले पनि त्यही मन पराउन थाल्छ र त्यस्तै जीवनयापनका लागि कोसिस गर्नेछ । यसै कारण यस्ता बालबालिकाले बढी मेहनत गर्छन् र युवावस्थामा ती सबै कुरा पाउने कोसिस गर्छन् जुन उनीहरुले देख्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved