एजेन्सी । यदी तपाईंलाई तनाव छ भने यसको व्यवस्थापन कसरी गर्ने भनेर यहाँ हामीले बताउनेछौं ।
विभिन्न अध्ययन तथा चिकित्सकीय परामर्शका आधारमा तनावलाई व्यवस्थापन गर्ने विधिहरुको विकास भएको छ । जसलाई तपाईं आजैदेखि लागू गर्न सक्नुहुन्छ ।
यहाँ चार वटा विधि बारे बताइएको छ जसलाई तपाईंले गम्भीरतापूर्वक पालना गर्नुभयो भने तनावबाट छुटकारा पाउन सक्नुहन्छ ।
आहार व्यवस्थापन
तनावमा शरीरको ऊर्जा घट्ने र पाचन अंगहरु गडबड हुने आदि समस्या आउने हुँदा त्यसलाई हल गर्नु आवश्यक हुन्छ । तनाव हुनासाथ एक–दुई घुट्की पानी पिउने, पानीमा मह वा सख्खर र थोरै कागती पनि राखेर पिउनु उपयोगी हुन्छ ।
ताजा फलफूलको रस र नरिवलको पानी निकै उपयोगी मानिन्छ । तरकारीको झोल पिउने वा झोलिलो खानेकुरा खानु पनि फाइदा हुन्छ ।
सात्विक खानपान, फलाहार, सलाद, अंकुरित काँचो अमृताहार आदि खाने बानी गर्नुपर्छ । खानपान स्वस्थकर, स्वादिलो र सकभर प्राकृतिक खानुहोस् ।
बढी चिल्लो, अमिलो, पिरो, पत्रुखाना (जंकफुड), मद्यपान, धूम्रपानलगायत समस्या र लक्षणलाई बढाउने अन्य कुराहरु त्याग गर्नुपर्छ । केही सुख्खा फल जस्तै– आलमोण्ड, ओखर, मुनक्का, दाख आदि पनि उपयोगी हुन्छ ।
तनाव हुने व्यक्तिले चियाकफी धेरै नपिएको राम्रो मानिन्छ । चिया–कफीमा भएको टेनिन र क्याफिनले तनाव अझै बढाउने काम गर्छ । यदि गर्नै परे दैनिक सानो एक वा धेरैमा दुई कप पिउन सकिन्छ ।
तनावबाट उत्पन्न भएको विकार हटाउन योग र प्राकृतिक चिकित्सामा आधारित भई शरीरको निर्विषीकरणको खानपान विधि अपनाउनुपर्छ, जसमा अल्पाहार, एकाहार, फलाहार, रसाहार, काँचो आहार, निराहार, विशेषाहार आदि पर्दछन् ।
अत्यधिक कम वा बढी खाने बानी हटाउनु पनि जरुरी छ ।
विहार व्यवस्थापन
विहारको वास्तविक अर्थ दिनचर्या र रात्रिचर्या हो । दिनचर्या र रात्रिचर्यालाई व्यवस्थित गर्न सकियो भने त्यसले तनाव आफैं कम हुन्छ ।
बिहान उठेदेखि भोलिपल्ट नब्युँझिउन्जेल गरिने क्रियाकलापहरु स्वास्थ्यको विपरीत हुने किसिमले नगरी स्वास्थ्य, व्यक्तित्व विकास, बौद्धिक तथा आर्थिक उन्नति, नैतिकता आदिलाई समेत ध्यान दिएर समुचित किसिमले सुधार्नुपर्दछ ।
विचार व्यवस्थापन
विचारले मानिसलाई पतन गर्ने वा माथि उठाउने गर्छ । सकारात्मक विचार लिने र नकारात्मक विचार त्याग्नुपर्छ । उचित सोचविचारले मानसिक समस्याहरु कम हुन्छन् भने मनोशारीरिक तथा शारीरिक रोगहरु पनि कम हुन्छन् ।
अझ तनावमा त प्रत्यक्षरुपले शारीरिक लक्षण तथा समस्याहरु उत्पन्न हुने भएकोले मनमा विचार कम आउने, आए पनि सकारात्मक मात्र आउने गर्नलाई उपायहरु अपनाउनुपर्छ । यसबाट तनाव कम हुने र यसको असर पनि हट्न सहयोग पुग्छ ।
व्यवहार व्यवस्थापन
प्रत्येक व्यक्तिमा कुनै न कुनै नराम्रो आनिबानी हुन सक्छ । त्यस्ता बानीहरु स्वयंले पत्ता लगाउने र हटाउने गर्नुपर्दछ । अरुसँग आफ्नो व्यवहारको बारेमा सुधार्नुपर्ने कुराको सुझाव लिन पनि सकिन्छ ।
अरुको नराम्रा बानी व्यवहारको सूची तयार गर्ने, ती कुराहरु आपूmमा छ कि छैन विश्लेषण गर्ने र त्यसलाई सुधार्ने गर्नुपर्दछ ।
बोलिचाली, शरीरको हाउभाउ, आँखाको भाषा आदिलाई उचित ढंगले गर्नुपर्दछ । परिवार, साथीभाइ, सेवाग्राही, नातेदारलगायत अपरिचित व्यक्तिप्रति के–कस्तो व्यवहार गर्ने भनेर सदैव सचेत हुनुपर्छ । सानो गल्तीले ठूलो समस्या आइपर्न सक्छ ।
समय व्यवस्थापन
तनाव व्यवस्थापनको महत्वपूर्ण पाटो समयको व्यवस्थापन पनि हो । समयको सही सदुपयोग गर्न नजान्दा पनि कतिपय अवस्थामा तनाव बढ्ने गर्छ ।
समयको व्यवस्थापन गर्न दैनिक रुटिन बनाउने र प्राथमिकताका आधारमा बढी महत्वपूर्ण कामहरु पहिला सक्न समय निकाल्ने गर्नुपर्छ ।
आफ्नो लागि, आफ्नो डाक्टर आफैं, आफ्नोको लागि, आफन्तको लागि, साथीका लागि, समाजको लागि, सृजनाको लागि, प्रस्तुतिका लागि, रमाइलोका लागि, समाजका लागि, अध्यात्मका लागि दैनिक, साप्ताहिक समय निकाल्नुपर्छ ।
कसका लागि कहिले र कति समय दिने, यसका लागि लेखेर योजना बनाउनुपर्छ ।
अर्थ व्यवस्थापन
आर्थिक पक्ष बलियो भयो भने मन एकप्रकारले ढुक्क हुन्छ । त्यसैले पैसाको प्रयोग, बचत र उचित व्यवस्थापन गर्न जान्नुपर्छ ।
जथाभावी खर्च गर्ने, अनावश्यक ठाउँमा लगानी गर्ने, पैसा उडाउने गर्दा त्यसले आर्थिक जोखिम बढ्छ र पैसाकै कारण दुःख, दुश्मनी, असुरक्षा आदि आउन सक्छ । जसले गर्दा तनाव पनि बढ्छ ।
आम्दानी, खर्च र बचतका बीचमा सन्तुलन भएमा तनाव कम हुन्छ ।
यसरी विभिन्न विधिहरु अपनाएर तपाईंले आफूमा हुने तनावलाई व्यवस्थापन गर्न सक्नुहुन्छ । समयमै यी सबै कुराहरुमा ध्यान दिन सकियो भने यसले ठूलो रुप लिँदैन र स्वास्थ्यमा ठूलो हानी पुर्याउन सक्दैन ।
Facebook Comment
Comment