के राष्ट्रपति निर्वाचनले प्रधानमन्त्री प्रचण्डको अग्निपरीक्षा लिँदैछ ?

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनलाई राष्ट्रिय सहमतिको विषय बनाउनुपर्ने र यसमा सत्ता गठबन्धनबाहिर रहेर सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई पनि समेट्नुपर्ने तर्क गर्दै आएका छन् ।

के राष्ट्रपति निर्वाचनले प्रधानमन्त्री प्रचण्डको अग्निपरीक्षा लिँदैछ ?

काठमाडौं। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल फागुन २९ गते समाप्त हुँदैछ । संविधानको धारा ६३ को उपधारा १ मा भनिएको छ–‘राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।’

तर,राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धि ऐन–२०७४ को दफा ४ को उपदफा १ मा भने– ‘आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तिमा १ महिनाअघि वा कुनै कारणले पद रिक्त हुन आएमा वा त्यस्तो पद रिक्त मितिले एक महिनाभित्र निर्वाचन हुने गरी मिति तोकी सोको जानकारी नेपाल सरकारलाई’ दिनुपर्ने हुन्छ ।

संविधान र सम्बन्धित ऐनको यो प्रावधानअनुसार माघ २९ गतेभित्र नयाँ राष्ट्रपतिको चुनाव हुने गरी निर्वाचन आयोगले निर्वाचनको मिति तोकिसक्नुपर्ने हो । तर, अहिलेसम्म निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति भने तोकेको छैन । आयोगले निर्वाचनको मिति तोक्न किन र के कारणले ढिलो गरेको हो प्रष्ट छैन ।

तर, कतिपयले पदावधिसँग सम्बन्धित विवादमा यसको कारण हुन सक्ने ठानेका छन् । संविधानमा राष्ट्रपतिको पदावधि ‘निर्वाचित भएको मिति’ ले पाँच वर्ष हुने भनिएको छ । यसमा ‘निर्वाचन भएको मिति’ वा ‘निर्वाचन परिणाम घोषणा भएको मिति’ वा राष्ट्रपतिले ‘पदभार ग्रहण गरेको मिति’ भन्ने विवाद उठ्न नसक्ने हैन। तर, यति सानो र प्राविधिक कारण देखाएर राष्ट्रपति पदको निर्वाचन प्रक्रियामा विलम्ब गर्नु कसैका लागि पनि उचित हुँदैन ।

संविधानको धारा ६२ को उपधारा १ ले संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपति चयन हुने प्रष्ट व्यवस्था गरेको र हालै यी दुवै सभाको निर्वाचन भइसकेको सन्दर्भमा नयाँ राष्ट्रपति चयनका लागि विलम्ब गर्नुपर्ने कुनै कारण छैन ।

राष्ट्रपति निर्वाचनको संवैधानिक तथा कानुनी पाटो मात्र हैन, राजनीतिक पाटोसमेत उत्तिकै महत्त्वपूर्ण बन्न पुगेको छ । सामान्यतः संवैधानिक राष्ट्रपति राजनीतिक खिचातानीको पद नबन्नुपर्ने हो । संवैधानिक राष्ट्रपतिले कुनै गल्ती गर्छ वा राजनीतिक पक्षधरता राख्छ भन्ने अपेक्षा गरिँदैन । अन्तर्राष्ट्रिय प्रचलन हेर्दा यो पदलाई सबैका लागि उत्तिकै सम्मानित र मर्यादित, निष्पक्ष र तटस्थ हुने अपेक्षा राखिन्छ ।

तर, नेपालको वस्तुगत अवस्था भने त्यस्तो रहेन । देशका दुवै राष्ट्रपति कुनै न कुनै रूपमा राजनीतिक रूपले पर्याप्त निष्पक्ष र तटस्थ रहन सकेनन् । प्रथम राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणका कारणले विवादित बन्न पुग्यो । तर, नयाँ संविधान बनिनसकेको संक्रमणकालीन विशिष्टता थियो भनेर चित्त बुझाउन सकिने ठाउँ थियो ।

तर, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा भने संवैधानिक कर्तव्य र दायित्व पूरा गर्न नसकेको भन्दै सर्वोच्च अदालतले परमादेश नै जारी गर्नुपर्ने अवस्था आयो । विशेषतः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुई-दुई पटकको असंवैधानिक संसद विघटन, सरकार बन्ने प्रक्रियाका दाउपेच, र संसदले दुई-दुई पटक बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारी सर्वत्र विवादित र आलोचित भइन् ।

उनले नेपालको संविधान, २०७२ ले निर्धारण गरेको कार्यक्षेत्र विपरीत संवैधानिक राष्ट्रपतिको कर्तव्य र मर्यादालाई भुलेर मातृपार्टी एमालेको राजनीतिक हितका लागि काम गर्ने कुचेष्टा गरिन् । सम्भवत: यी कारणले राष्ट्रपति पदको महत्त्व बढ्न पुग्यो ।

राजनीतिक दाउपेच र खिचातानीका समयमा आफ्नो राष्ट्रपति भए अनुकुल हुने मनोविज्ञान बन्यो । यो मनोविज्ञानले संवैधानिक राष्ट्रपति पदको मर्यादा र सम्मान कमजोर भयो भने अर्कोतिर पदको राजनीतिक भूमिका र मोह भने अस्वाभाविक रूपमा बढ्न पुग्यो ।

अहिले संसदका पहिलो र दोस्रो ठूलो दल, नेपाली कांग्रेस र एमाले राष्ट्रपति पद प्राप्तिका लागि मरिहत्ते गरेर लागेका छन् । तर, यी दुवै दलले अहिलेसम्म आफ्ना उम्मेद्वारको भने टुंगो गरेका छैनन् । संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहने हुँदा राष्ट्रपतिको निर्वाचन परिणाम आश्चर्यजनक र चामत्कारिक हुने सम्भावना कमै हुन्छ । अहिलेको सत्ता गठबन्धनका सबै दलको मतभार जोड्दा प्रष्ट बहुमत पुग्ने देखिन्छ ।

तर, नेपाली कांग्रेसले बडो आश्चर्यजनक आशावादिता देखाइरहेको छ । यो कांग्रेसको एक सामान्य राजनीतिक आशावादिता मात्रै हो कि यसभित्र कुनै रहस्य छ भन्ने प्रश्न आज सर्वाधिक महत्त्वपूर्ण बनेको छ।

एमालेको सहयोग र समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिको निर्वाचनलाई राष्ट्रिय सहमतिको विषय बनाउनुपर्ने र यसमा सत्ता गठबन्धनबाहिर रहेर सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई पनि समेट्नुपर्ने तर्क गर्दै आएका छन् ।

एमालेले भने प्रधानमन्त्रीको यो तर्कलाई आशंकाको दृष्टिले हेरेको छ । माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डबाट आफ्नो राष्ट्रपतिको उम्मेद्वारलाई कुनै धोका त हुने हैन भन्ने आशंका एमालेमा छ । सभामुख र उपसभामुखको चुनावमा सबै गठबन्धन दलले वचनबद्धता अनुरूप मतदान गरेबाट एमालेको आशंका केही कम भएको छ तर, समाप्त भएको छैन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति पदको निर्वाचनबाट प्रधानमन्त्री प्रचण्डको कांग्रेसप्रतिको धारणा प्रष्ट हुने बताएका छन् भने वरिष्ठ नेता तथा राष्ट्रपतिका आकांक्षी रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डसँग लबिङ गर्न छोडेका छैनन् ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डमा कतै न कतै द्विविधा भएको भान हुन्छ । प्रधानमन्त्री प्रचण्ड सबै मुख्य पद एमालेको पोल्टामा पारेर आफूले आफैँलाई घेराबन्दीमा पार्ने मनस्थितिमा नभएजस्तो लाग्दछ । एमालेले राष्ट्रपति नपाउँदा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन । त्यस्तो अवस्थामा एमालेका लागि या त जे भयो भयो भनेर गठबन्धनमै बस्नुपर्नेछ या पुनर्विचार गर्नुपर्नेछ ।

राष्ट्रपति नपाउँदैमा गठबन्धन छाडिहाल्न पनि एमालेलाई सहज छैन । किनकि, यहाँ एउटा पदको मात्रै कुरा छैन । भविष्यमा प्राप्त हुने प्रधानमन्त्रीदेखि प्रदेश सरकारसम्म गुम्ने अवस्था आउन सक्छ ।

एक विश्लेषक गेजा शर्मा वाग्लेले यस विषयमा केही विकल्पहरू ट्विट गरेका छन् । उनी लेख्छन्–‘राष्ट्रपति निर्वाचन राजनीतिक टर्निङ पोइन्ट ?, गठबन्धनको भविष्य राष्ट्रपति निर्वाचनले निर्धारण गर्ने, प्रचण्डको अग्निपरिक्षा राष्ट्रपति निर्वाचनमा हुने, ओलीको वास्तविक अवतार राष्ट्रपति निर्वाचनपछि सुरु हुने, कांग्रेसको कार्यदिशा र देउवाको भविष्य निर्वाचन परिणामले निर्धारण गर्ने ।’

शर्माले उठाएका यी विकल्प काल्पनिक हुन् भनिहाल्न सकिने अवस्था छैन । तर, राष्ट्रपति निर्वाचनले प्रधानमन्त्री प्रचण्डको परीक्षा लिने र सत्ता गठबन्धन नै संकटमा पर्ने आशंका गर्न भने हतारो हुनेछ । किनकि, राष्ट्रिय सहमतिका लागि अहिले दलहरूबीच प्रयास भइरहेको देखिन्छ । यस्तो अवस्थामा सबैलाई स्वीकार्य हुने पात्रलाई राष्ट्रपति बनाएर अघि बढ्ने सम्भावना पनि उत्तिकै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved