पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाका आफन्तलाई शव बुझाउन सुरु

नेपालभ्युज

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाका आफन्तलाई शव बुझाउन सुरु

पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरु गरिएको थियो । बाँकी शवको परीक्षण भइरहेकाले मङ्गलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ ।

ती शवलाई हेलिकप्टरमार्फत मङ्गलबार काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।

शव बुझ्न अस्पताल परिसरमा बिहानैदेखि मृतकका आफन्त जम्मा भएका थिए । शव हस्तान्तरणमा अस्पतालले ढिलाइ गरेको भन्दै कतिपयले गुनासोसमेत गरिरहेका थिए । शव परीक्षणको प्रक्रियाले समय लिएपछि परिवारले बेलैमा शव बुझ्न नपाएका हुन् ।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ । विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved