एनआईसी एसिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

नेपालभ्युज

एनआईसी एसिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

काठमाडौं। एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंस्थित न्युरोड विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिस्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङ्गस्थित बिराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।

क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सीधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५०० र १ हजार दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिनेछ ।

रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्य अनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (OTP) प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ ।

मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ ।

बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ ।

बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहक महानुभावहरूलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ । साथै, यस बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहक महानुभावहरूको अत्यावश्यक बैंकिङ्ग सेवालाई अझ सहज एवं सरल बनाउदै लैजाने अठोट लिएको छ ।

एनआईसी एसिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved