खुट्टा किन बाउँडिन्छ ?

नेपालभ्युज

खुट्टा किन बाउँडिन्छ ?

एजेन्सी । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ ।  खुट्टाको तिघ्रा नेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ ।

खुट्टा बाउँडिदा कडा दुखाइ हुन्छ । प्रायः राति खुट्टा बढी बाउँडिने गर्छ । एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन सक्छ ।

तिघ्राबाहेक खुट्टाको पैतला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्दछन् । यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन् । पल्टिएको ठाउँमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महशुस हुन्छ ।

प्रायस् सबै उमेरका मानिसमा यो समस्या देखिने भए पनि अधवैंशे तथा बुढाबुढीलाई बढी हुने गर्छ । खुट्टा फर्किने समस्याको यकिन कारण त केही छैन । तर, सामान्यतया केही कारणले यस्तो समस्या देखापर्छ  ।

गर्भवती महिलालाई पनि खुट्टा बाउँडिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरु भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा चाप दिँदा खुट्टा बाउँडिने समस्या बढी हुन्छ ।

थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुट्टा बाउँडिन सक्छ । थाइराइड हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ । क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ । थाइराइड हर्मोन कम हुँदा मेटाबोलिज्म पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिज्मको आवश्यकता पूर्ति हुन नसकेर खुट्टा बाउँडिने गर्छ ।

पोषक तत्वहरू जस्तै – सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा खुट्टा बाउँडिने गर्छ । यी पोषक तत्वले स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छन् भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ ।

कडा ठाउँमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा वा एकै ठाउँमा बसिरहँदा मासु थाक्न गई खुट्टा फर्किने सम्भावना बढी हुन्छ । सन् २०१२ मा इर्गोमिक्समा प्रकाशित एक अध्ययनअनुसार लामो समयसम्म उभिनु पनि खुट्टा फर्किनुको एउटा मुख्य कारण हो ।

शरीरमा पर्याप्त मात्रामा तरल पदार्थ नहुँदा यसले शरीर तथा दिमागलाई शिथिल बनाउँछ । जसले गर्दा शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न दिँदैन । हाम्रो शरीरको मासु ७० प्रतिशत जति पानीले बनेको हुन्छ । जसले मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । त्यसैले, पर्याप्त पानी नपिउँदा पनि खुट्टा बाउँडिने समस्या हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved