सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त

नेपालभ्युज

सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको, नगर सभाको १२ औँ अधिवेशन पुस २९ गतेका लागि आव्हान गर्ने निर्णय भएको छ । सोमबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बालाजु बाइसधारामा रहेको सभा कक्षमा बसेको कार्यपालिकाको ११ औँ बैठकले सहरी योजनाविद् इञ्जिनियर तपेन्द्रबहादुर खड्कालाई सहरी योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन २०७५ को व्यवस्थाअनुसार उपाध्यक्ष नियुक्तिका लागि मंसिर २० गते प्रमुखबाट सिफारिस भएको थियो ।

विधायन समितिबाट बैठकमा पेश भएका ६ वटा कार्यविधि तथा निर्देशिका मस्यौदा बैठकले स्वीकृत गरेको छ । यसरी स्वीकृत भएका कार्यविधि तथा निर्देशिकाहरुमा ‘काठमाडौँ महानगरपालिका छात्रवृत्ति कार्यविधि, २०७९’, ‘पुनर्ताजगी विदा सम्बन्धी कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका आय ठेक्का कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका वहाल व्यवस्था निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ रहेका छन् ।

बैठकले ३ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । यसरी नियुक्त हुनेहरुमा टंगाल माध्यमिक विद्यालय टंगालमा राजेन्द्र अधिकारी, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा प्रकाश सुवेदी र शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, ठँहिटीमा सुदामप्रसाद गौत्तम रहेका छन् ।

दरबार हाइ स्कूलभित्रका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई नमूना विद्यालयको भौतिक पूर्वाधार तयार पार्न ३० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ । यसका लागि विद्यालयले भौतिक सुधारको प्रस्ताव तथा कार्ययोजना पेश गर्नुपर्नेछ ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ बमोजिम बैठकले ७ जनालाई निरीक्षण अधिकृत तोकेको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा यस अघि बसेको अनुगमन समितिको बैठकले निरीक्षण अधिकृतको नामसहित उपभोक्ताका तर्फबाट संस्थागत प्रतिनिधित्वका लागि उपभोक्ता अधिकार अनुसन्धान मञ्च र व्यक्तिगत रुपमा विमला खनाललाई प्रतिनिधित्व तोक्न सिफारिस गरेको थियो ।

आज तोकिएका निरीक्षण अधिकृतहरुमा निर्देशक बलराम त्रिपाठी, वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा, वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली, उपनिर्देशक रामप्रसाद पौडेल, उपनिर्देशक सरिता राई, उपनिर्देशक सजिना महर्जन, पशु चिकित्सक डा. पूजा खनाल रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved