चार्ल्स शोभराज आजै छुट्दै, कारागारले अध्यागमनको जिम्मा लगाइदिने

सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै (बिहीबार)  थुनामुक्त हुने भएका छन्।

नेपालभ्युज

चार्ल्स शोभराज आजै छुट्दै, कारागारले अध्यागमनको जिम्मा लगाइदिने

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै (बिहीबार)  थुनामुक्त हुने भएका छन्।

स्रोतका अनुसार कारागारबाट छुटेपछि उनलाई अध्यागमनमा बुझाइनेछ। अध्यागमन स्रोतले भन्यो ‘‘आफ्नो मुलुक नफर्किँदासम्म उनी अध्यागमनकै नियन्त्रणमा हुनेछन्।’’

सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतलाई पत्र पठाएको छ। अदालतले कारागार विभागलाई पत्र पठाएपछि विभागले शोभराजलाई अध्यागमनको जिम्मा लगाउने छ। शोभराज भने केही समय होटेल हायतमा बसेर मुटुको उपचार गराउने तयारीमा छन्।

२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छुट्दै, भारतमा जेलबाटै भागेका थिए

शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार १५ दिनभित्र उनलाई आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारको नाममा आदेश दिएको थियो।

शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो । भक्तपुर जिल्ला अदालतले शोभराजलाई ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो । जसलाई सर्वोच्च अदालतले २०६७ साउन १४ मा सदर गरेको थियो ।

२०६० सालमा नेपाल आएका बखत शोभराज त्यसभन्दा २८ वर्ष पहिलेको हत्या अभियोगमा पक्राउ परेका थिए । २०६० असोज २ मा पक्राउ परेका शोभराजविरुद्ध त्यसपछि मात्रै पुराना मुद्दा ब्युँताएर फैसला गरिएको थियो । उनलाई भएको जन्मकैद अनुसार २०८० असोज १ सम्म उनी थुनामा बस्नुपर्ने थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि जेष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसका लागि उनले बारम्बार सर्वोच्च अदालतमा रिट दायर गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved