मेयर हर्क साम्पाङको अवचेतनमा बसेको ‘जातीय हिंसा’ र अहंकार

क्षमायाचना विनम्रता र सहअनुभूतिको प्रतिक हो । त्यो कोही गिर्ने वा झुक्ने कुरा हैन । सार्वजनिक क्षमायाचना गर्न अस्वीकार गरेर मेयर साम्पाङले आफ्नो कद बढाएका छैनन, बरु झनै गिराएका छन् । स्वतन्त्र रुपमा जित्दैमा र अलिकति लोकप्रिय काम गर्दैमा कसैलाई सधै अड्बाङे र अबान्छित व्यवहार गर्ने अधिकार प्राप्त हुँदैन ।

मेयर हर्क साम्पाङको अवचेतनमा बसेको ‘जातीय हिंसा’ र अहंकार

काठमाडौं । दैनिक दर्जनौं विवादास्पद ट्विट र स्टाटस लेख्दै आएका धरानका मेयर हर्क साम्पाङ पछिल्लोपटक एक ट्विटमा जातीय द्वैष, घृणा, वितृष्णा, अपमान र तिरस्कार झल्किने शब्द प्रयोग गरेपछि थप विवादमा तानिएका छन् । त्यसले उनको अवचेतनमा जातीय हिंसाको भावना गडेर बसेको प्रमाण दिन्छ ।

विडम्बनाको कुरा– आफूबाट भएको गल्ती कमजोरीका लागि विनम्रतापूर्वक सार्वजनिक क्षमायाचना गर्नुको साटो उनले उल्टै त्यसको बचाउ र गौरवीकरण गर्दै आएका छन् । साम्पाङले प्रयोग गरेको शब्द ‘चमारे बुद्धि’ जातीय हिंसा र विशेषतः समाजको उत्पीडित वर्ग, समुदाय दलित वर्ग, समुदायप्रति लक्षित आपत्तिजनक शब्द हो भन्ने कुरामा कुनै बहस जरुरी छैन । घामजस्तै छर्लङ्ग चिजलाई समेत अनेक तरिकाले बङ्ग्याउनु किमार्थ उचित हैन ।

यो शब्द विशेषतः तराई मधेसको एक जातीय समुदाय ‘चमार जाति’ र आमरूपमा दलित समुदाय लक्षित छ भन्ने प्रष्टै बुझिन्छ । मेयर साम्पाङको यस्तो अभिव्यक्तिले कुनै खास जातीय समुदायको बुद्धि राम्रो र कुनै खास समुदायको बुद्धि कम वा नराम्रो हुन्छ अर्थात् बुद्धि जातमा आधारित हुन्छ भन्ने अर्थ दिन्छ । यो बिल्कुलै असंगत, अवैज्ञानिक रुढीवादी र जातिवादी तर्क हो ।

मेयर साम्पाङ एकातिर ‘श्रम संस्कृतिका’ कुरा गर्दछन्। आफूले ढुंगा फोरेका, बेल्चा चलाएका र भारी बोकेको फोटो तथा भिडियो पोस्ट गर्दा गौरवान्वित हुन्छन् । अर्कोतर्फ उनले श्रमलाई अपमानित गर्ने शब्द प्रयोग गर्छन् । 

मान्छेको बुद्धि जातले निर्धारण गर्दछ भन्ने कुरा कहीँ कतै पुष्टि छैन । चमार जातिको परम्परागत पेशा छालाको काम हो । जुत्ता बनाउने काम यो जातिको मुख्य परम्परागत पेशा हो । मेयर साम्पाङ एकातिर ‘श्रम संस्कृतिका’ कुरा गर्दछन् । आफूले ढुंगा फोरेका, बेल्चा चलाएका र भारी बोकेको फोटो तथा भिडियो पोस्ट गर्दा गौरवान्वित हुन्छन् । अर्को तर्फ उनले श्रमलाई अपमानित गर्ने शब्द प्रयोग गर्छन् ।

यो बुझ्न सकिन्छ कि, उनले यो आपत्तिजनक शब्द जातीय द्वन्द्वका बेला कुनै व्यक्तिलाई लक्षित गरेर हैन, राजनीतिक आरोप-प्रत्यारोपको उत्तर दिने क्रममा प्रयोग गरेका थिए । यो शब्द प्रयोग गर्नुको उनको उद्देश्य ‘जातीय’ नभएर ‘राजनीतिक’ थियो ।

तर, राजनीतिक प्रयोजनका लागि उनले जुन जातीय शब्द प्रयोग गरे, त्यसले उनको अवचेतनमा जातीय हिंसा र घृणाको भावना गढेर बसेको छ भन्ने प्रमाण दिन्छ । राजनीतिक आरोप-प्रत्यारोपमा राजनीतिक शब्द नै प्रयोग हुन सक्थे, जातीय शब्द प्रयोग गर्न जरुरी थिएन ।

यो घटनाक्रममा उनको चेतनभन्दा अवचेतन प्रकट भएको छ । यदाकदा व्यक्तिले त्यस्ता गल्ती गर्दा कमजोरी स्वीकार गरी सार्वजनिक क्षमायाचना गर्न जरुरी हुन्छ । मेयर साम्पाङले क्षमायाचना गर्न अस्वीकार मात्र गरेका छैनन, आफू ‘झुक्दै नझुक्ने नेपालको छोरो’ भन्दै अनावश्यक दंभ, अहंकार र घमण्ड प्रदर्शन गरेका छन् ।

मेयरजस्तो महत्त्वपूर्ण र संवेदनशील राजकीय पदमा भएको व्यक्तिले यस प्रकारको अहंकार प्रदर्शन गर्नु बिल्कुलै अशोभनीय हो । सत्ता, शक्ति र सार्वजनिक जिम्मेवारी कुनै दम्भ र अहंकारका विषय हैनन् ।

मेयरजस्तो महत्त्वपूर्ण र संवेदनशील राजकीय पदमा भएको व्यक्तिले यस प्रकारको अहंकार प्रदर्शन गर्नु बिल्कुलै अशोभनीय हो । सत्ता, शक्ति र सार्वजनिक जिम्मेवारी कुनै दम्भ र अहंकारका विषय हैनन् । त्यो पद उनले तिनै जनताबाट पाएका हुन, जसको उनी अहिले अपमान गर्दैछन् ।

मान्छेबाट चेतन, अचेतन वा अवचेतन ढंगले अनेक गल्ती कमजोरी हुन सक्दछन् । खराब मनसायले जानीजानी गरेका कुकर्म दण्डनीय मानिन्छन् तर, अचेतन वा अवचेतनरूपमा गरिएका गल्तीका लागि क्षमायाचना जरुरी हुन्छ ।

त्यसरी सार्वजनिक क्षमायाचना गर्दा पदमा बसेकाहरूको प्रतिष्ठा सकिने हैन, झन् बढ्दछ । संसारमा त्यस्ता थुप्रै उदाहरण छन कि प्रधानमन्त्री वा राष्ट्रपतिजस्तो पदमा बसेका व्यक्तिले पनि सार्वजनिक क्षमायाचना गरेका छन् ।

क्षमायाचना विनम्रता र सहअनुभूतिको प्रतीक हो । त्यो कोही गिर्ने वा झुक्ने कुरा हैन । सार्वजनिक क्षमायाचना गर्न अस्वीकार गरेर मेयर साम्पाङले आफ्नो कद बढाएका छैनन, बरु झनै गिराएका छन् ।

दलित आयोगको ध्यानाकर्षणलाई लक्षित गरी उनले अनेक आपत्तिजनक ट्विट गरेका छन् । दलित आयोग देशको संवैधानिक निकाय हो । जातीय तथा दलित हिंसाका सवालमा यसले ध्यानाकर्षण गराउन सक्दछ । यसको मेयर सम्पाङले सम्मान गर्न सक्नु पर्दथ्यो ।

मेयर साम्पाङ आफैँ ‘जनजाति समुदाय’ व्यक्ति हुन् । हिन्दू वर्णाश्रम व्यवस्था उनको सामुदायिक परम्परा र संस्कृति हैन । नेपालका जनजातीय समुदायमा कुनै वर्णव्यवस्था पाइँदैन । यस अर्थमा मेयर साम्पाङको अवचेतनमा यस्तो भावना नहुनु पर्दथ्यो । तर, उनको ट्विटले नेपालमा जातीय हिंसा, तिरस्कार र घृणाको भावना कसरी गढेर बसेको छ भन्ने उजागर गर्दछ ।

जनजातीय समुदायमा समेत मनुवादी अपसंस्कारहरूको आरोपण गहिरो भएको डरलाग्दो यथार्थलाई यसले चित्रण गर्दछ । आधुनिक लोकतन्त्र र राष्ट्रिय–राज्यमा जातीय विद्वैष, घृणा, अपमान, तिरस्कार, विभेद र हिंसा कानुनीरूपमा दण्डित र बर्जित हुन्छन् । नेपालको कानुनले यस्ता सबै व्यवहार र अभिव्यक्तिलाई दण्डनीय बनाएको छ ।

सार्वजनिक क्षमायाचना नगरे मेयर साम्पाङलाई कानुनी कार्बाहीको दायरामा ल्याउनुपर्ने हुन्छ ।

मेयर साम्पाङ विधिको शासन र कानुनी व्यवस्थाभन्दा माथि कुनै विशेष प्राधिकार वा अग्राधिकार भएका व्यक्ति हैनन् । तसर्थ उनलाई मुलुकको प्रचलित कानुनभन्दा बाहिर कुनै प्रकारको विशेषाधिकार हुँदैन ।

विधिको शासनमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन । राजतन्त्रमा कुनै एउटा वंश वा परिवारका केही व्यक्तिलाई कानुनभन्दा माथि राख्ने प्रचलन हुन्थे । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको मुुलक हो । यहाँ कुनै परिवार वा व्यक्ति अब कानुनभन्दा माथि छैन ।

मेयर साम्पाङ विधिको शासन र कानुनी व्यवस्थाभन्दा माथि कुनै विशेष प्राधिकार वा अग्राधिकार भएका व्यक्ति हैनन् । तसर्थ, उनलाई मुलुकको प्रचलित कानुनभन्दा बाहिर कुनै प्रकारको विशेषाधिकार हुँदैन ।

छुवाछुत र जातीय हिंसा आधुनिक मानव समाजका लागि कलंक हुन् । सार्वजनिक पदमा बसेका व्यक्तिले यसलाई प्रोत्साहन हैन, निरुत्साहित र न्यूनीकरण गर्न भूमिका खेल्नुपर्दछ । मेयर साम्पाङले भने उल्टो गरेका छन् । अवचेतनरूपमा नै किन नहोस्, उनले जातीय हिंसालाई प्रवर्द्धन गर्ने प्रयत्न गरेका छन्, त्यो आपत्तिजनक विषय हो ।

अरु दृष्टिकोणले मेयर साम्पाङका कतिपय काम राम्रा र प्रसंशनीय होलान् नै, त्यो भिन्नै प्रसंग हो । त्यही कारणले मेयर साम्पाङका लागि यसप्रकारको छुद्र वचन प्रयोग गर्ने अधिकार उपलब्ध हुँदैन । साम्पाङले त्यो शब्द प्रयोग गर्नु जति आपत्तिजनक छ, सार्वजनिक क्षमायाचना गर्न अस्वीकार गर्नु झनै आपत्तिजनक छ ।

लोकतन्त्रले नयाँ-नयाँ ‘हिरो’ जन्मिने, जन्माउने अवसर दिन्छ तर लोकतन्त्र भनेको ‘हिरोइज्म’ हैन । कुनै लोकप्रिय व्यक्ति वा पदाधिकारी नै किन नहोस् लोकतन्त्रमा कुनै प्रकारको ‘हिरोइज्म’ सह्य हुँदैन । ‘हिरोइज्म’ भनेको पपुलिज्मकै एक रूप हो, जो प्रकारान्तले अधिनायकवादको नजिक पुग्दछ ।

लोकतन्त्र सफल हुन विधिको शासन जति जरुरी छ, सार्वजनिक पदवाहक र सत्ता सञ्चालकमा विनम्रता उत्तिकै जरुरी छ । मेयर स्थानीय सरकारको कार्यकारी प्रमुख हो । देशको संविधान, कानुन, लोकतान्त्रिक प्रचलन र संस्कृतिको मर्यादा राख्नु पनि मेयरको कर्तव्यभित्र पर्दछ ।

स्वतन्त्र उम्मेद्वारका रूपमा जित्दैमा र अलिकति लोकप्रिय काम गर्दैमा कसैलाई सधैं अड्बाङे र अवाञ्छित व्यवहार गर्ने अधिकार प्राप्त हुँदैन । यस्तो अधिकार मेयर हर्क साम्पाङसँग पनि छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved