बेइजिङ डायरी

चीनमा किन पढ्ने ?

तथ्याङ्कका अनुसार, डिग्री प्राप्त गर्न खोज्ने चिनियाँ विद्यार्थीहरूका लागि जीवविज्ञान, इन्जिनियरिङ र भौतिक विज्ञानलगायत विषयहरू सबैभन्दा लोकप्रिय छन्। यसका अतिरिक्त, वाणिज्य र कानुन लगायतका विषय पढ्ने चीनमा पढ्ने विद्यार्थीहरुको संख्या पनि बढ्दै आएको देखिन्छ।

चीनमा किन पढ्ने ?

लगभग एक महिना अगाडि नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा इन्जिनियरिङ गर्न चीन जान चाहने विद्यार्थीसँग आवेदन माग गरेको सूचना जारी गरेको थियो। चीन सरकारबाट सन् २०२३–२४ मा प्राप्त हुने इन्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन आह्वान गरिएको सूचनामा उल्लेख थियो।

आवेदकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तहका लागि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने सर्त राखिएको छ। त्यस्तै, कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले पछिल्लोपटक सञ्चालन गरेको स्नातकोत्तर तहको परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ।

स्नातकतर्फ बायो–मेडिकल इन्जिनियरिङ, एभिएसन एन्ड एरोनटिकल इन्जिनियरिङ, बायो–इन्जिनियरिङ एन्ड बायो–टेक्नोलोजी, केमिकल इन्जिनियरिङ, माइनिङ, आयल एन्ड ग्यास, पेट्रोलियम इन्जिनियरिङका लागि कुल १५ सिट प्राप्त भएको सूचनामा उल्लेख थियो।

त्यसैगरी, स्नातकोत्तरतर्फ जियोम्याटिक्स इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रक एन्ड टनेल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ गरी नौ वटा सिट तोकिएको छ। कृषितर्फ एग्रिकल्चर बायो–टेक्नोलोजी, एग्रिकल्चर बायो–केमिस्ट्री, हर्टीकल्चर र एनिमल साइन्स गरी आठ सिट निर्धारण गरिएको छ। इच्छुक विद्यार्थीले मंसिर १० गतेभित्र छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा दरखास्त दिनुपर्ने सूचनामा प्रष्ट्याइएको थियो।

चीनमा अध्ययनरत विद्यार्थी सांस्कृतिक प्रस्तुतिको तयारीमा

आवेदन दिने समय बितिसकेकाले के-कति विद्यार्थीले आवेदन दिए भन्ने कुराको जानकारी छैन। तर, पछिल्लो समय चीनमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको चाप निकै वृद्धि भएको देखिन्छ।

कोभिड महामारी हुनुभन्दा अगाडिसम्म चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या ७ हजार थियो। सशुल्क रूपमा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या उल्लेख्य नभए पनि केही मात्रामा रहेको मानिन्छ।

पछिल्लो समय विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन गर्न चाहनेहरूका लागि चीन आकर्षक गन्तव्य बन्ने गरेको छ। नेपालबाट मात्र होइन विश्वबाट नै चीनमा विज्ञान तथा प्रविधिमा अध्ययनका लागि विद्यार्थीहरू ओइरिने गरेका छन्। यसो हुनुको खास कारण चीन सरकारले विज्ञान तथा प्रविधिमा गरेको बृहत् लगानी मुख्य हो। यसैगरी, चिनियाँ वैज्ञानिकहरूले खोज तथा अनुसन्धानमा उल्लेख्य उपलब्धि प्राप्त गर्न थालेपछि धेरैको नजर चीनमा पर्न थालेको हो।

चीनमा दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकी मुलुकबाट वर्षेनि हजारौँ विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन्। त्यसैगरी, अमेरिका, युरोपेली मुलुक र अस्ट्रेलियाबाट पनि थुप्रै विद्यार्थीहरू चीनमा अध्ययन गर्न आउने गरेका छन्।

नेपाली विद्यार्थीहरू बेइजिङस्थित एक पार्कमा वनभोजमा रमाउँदै

चीनमा छात्रवृत्ति पाएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूमा नेपाली विद्यार्थीको संख्याले नवौँ स्थान लिएको छ। थोरै जनसंख्या भएको र आकारमा सानो भए पनि नेपाललाई छात्रवृत्ति प्रदान गर्नका लागि चीनले प्राथमिकतामा राखेको एउटा विवरणले स्पष्ट पारेको छ।

चाइना डेलीमा केही समय अगाडि प्रकाशित समाचारअनुसार चीनमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या तीन लाख ९७ हजार ६ सय ३५ रहेकोमध्ये छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ४० हजार ६ सय रहेको छ। चीनमा सबैभन्दा धेरै छात्रवृत्ति पाउनेमा पाकिस्तान पहिलो स्थानमा छ भने दोस्रो स्थानमा मंगोलिया र तेस्रो स्थानमा भियतनाम छन्।

सैगरी, चौथोदेखि दसौँसम्म क्रमश: रुस, थाइल्यान्ड, दक्षिण कोरिया, अमेरिका, लावोस, नेपाल र कजाकस्तान रहेका छन्। छात्रवृत्तिसँगै सशुल्क अध्ययन गर्ने समग्र विदेशी विद्यार्थीको संख्यामा चाहिँ पहिलो दक्षिण कोरिया, दोस्रो अमेरिका र तेस्रो थाइल्यान्ड रहेका छन्। यसैगरी, चौथोदेखि दशौंसम्म क्रमशः भारत, रुस, पाकिस्तान, जापान, कजाकस्तान, इन्डोनेसिया र फ्रान्स रहेका छन्। यो तथ्याङ्क केही वर्ष पहिलेको भएकाले हाल यसमा थप भएको हुन सक्छ।

यो तथ्याङ्कले चीनले ठूलो संख्यामा नेपाली विद्यार्थीहरूलार्इ छात्रवृत्ति प्रदान गरिहेको देखाउँछ। जनसंख्या धेरै भए पनि चीनमा छात्रवृत्ति पाउनेमा भारत धेरै पछि परेको छ। तर, पाकिस्तानसँग सम्बन्ध घनिष्ट भएकाले चीनले प्रदान गर्ने छात्रवृत्तिमा पाकिस्तान पहिलो स्थानमा रहेको छ।

दक्षिण एसियामा पाकिस्तानलाई चीनले ‘फलामे मित्र’को संज्ञा दिने गरेको छ। पाकिस्तानपछि नेपाललाई चिनियाँहरू असल मित्र मान्छन्। तब न सानो देश र थोरै जनसङ्ख्या भए पनि चीनले उपलब्ध गराएको छात्रवृत्तिमा नेपाल उच्च दश राष्ट्रभित्र परेको छ।

घुमफिरमा चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू

सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछि पहिलोपटक छात्रवृत्ति पाएर चीनमा आउने नेपाली विद्यार्थी थिए निरन्जन भट्टराई। भट्टराईले चीनमा पढ्ने छात्रवृत्ति पाएको कथा पनि निकै रोचक छ।

निरञ्जन भट्टराईले सन् १९५१ मा बनारस हिन्दू विश्वविद्यालयमा चिनियाँ भाषाको अध्ययन गरेका थिए। सन् १९५४ मा नेपाल फर्किएपछि उनले चीनबाट नेपाल भ्रमणमा जाने प्रतिनिधिमण्डलका लागि दोभाषेको काम गर्न थाले।

पछि सन् १९५८ मा चीनले नेपालीलाई छात्रवृत्ति दिने भएपछि निरञ्जन भट्टराई चीनमा पढ्न आए। पढ्न आउँदा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चाउ एनलाईलाई लेखेको पत्र लिएर आएका थिए निरञ्जनले। भनिन्छ, उक्त पत्रमा आचार्यले चाउलाई भट्टराईको स्थानीय अभिभावक बनिदिन अनुरोध गरेका थिए।

ही पत्रका कारण निरञ्जन भट्टराईको चाउ एनलाईसँग घनिष्ट सम्बन्ध रहन गयो। निरञ्जन भट्टराई चीनमा अध्ययन गर्न आएकै समयमा वासुदेव तुफान पनि चीनमा अध्ययन गर्न आएका थिए। खासमा उनी उपचार गर्न चीन आएका थिए र उपचारपछि चीनमै छात्रवृत्तिमा अध्ययन गर्न थालेका थिए।

चीनमा अध्ययन गरेर निरञ्जन भट्टराई सन् १९६० मा नेपाल फर्किए र परराष्ट्र मन्त्रालयमा काम गर्न थाले। सन १९६६ मा उनी प्रथम सचिवका रूपमा बेइजिङस्थित नेपाली दूतावासमा काम गर्न आए। त्यही समयमा नेपालका तत्कालीन युवराज वीरेन्द्रको बिहे हुने भयो।

नेपाली राजदूत बिहेमा नेपाल फर्किएका बेला उनी कार्यवाहक राजदूत भए। सोही समयमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई रात्रिभोजका लागि दूतावास गएका थिए।

नेपाली पहिरनमा चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू

सन् १९७६ मा भट्टराई बेइजिङस्थित नेपाली दूतावासमा मिनिस्टर भएर काम गर्न आए। पछि उनी पाकिस्तानका लागि राजदूत भएका थिए।
नेपाली विद्यार्थीले चीनमा छात्रवृत्तिमा पढ्न थालेको इतिहास भट्टराईबाट सुरु भएकाले यो प्रसङ्ग यहाँ उल्लेख गरिएको हो। निरञ्जनका छोरा अनुपरञ्जन भट्टराईले पनि चीनबाटै इन्जिनिरिङ गरेका छन्। उनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक पनि भएका छन्।

सन् १९८२ मा चीनमा अध्ययन गरेर फर्किएका विद्यार्थीहरूले अरनिको समाज नामक एउटा संस्था बनाए। अहिले पनि यो संस्था नेपालमा सक्रिय छ। अनुपरञ्जन भट्टराई अरनिको समाजका अध्यक्ष भएकै समयमा समाजले सन् २००२ मा बेइजिङस्थित श्वेत चैत्यमा अरनिकोको सालिक राखिएको हो।

कुनै समय नेपाल टेलिकम र विद्युत् प्राधिकरणमा उपल्लो दर्जामा पुग्ने व्यक्तिहरू चीनमा अध्ययन गरेका विद्यार्थी थिए। अहिले नेपालका कुनै पनि अस्पताल छैनन् जहाँ चीनमा अध्ययन गरेका चिकित्सक नहुन् । विशेषगरी, प्राविधिक विषयमा चीनमा अध्ययन गरेका नेपालीहरूले नेपाललाई ठूलो गुन लगाएका छन्।

चीनमा विश्वभरिका विद्यार्थी पढ्न आउँछन्। सन् १९९६ मा चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या चार हजार तीन सय सात थियो भने सन् २०१५ मा ४० हजार ६ सय पुगेको थियो। पछिल्लो समय चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या वार्षिक १३ प्रतिशतले बढिरहेको चाइना डेलीले लेखेको छ।

चीनमा सशुल्क अध्ययन गर्ने विदेशी विद्यार्थीहरूमा दक्षिण कोरियाबाट ६२ हजार ४ सय ४२ छन् भने अमेरिकाबाट २३ हजार २ सय ९२ विद्यार्थी चीनमा हाल अध्ययरत छन्। त्यसैगरी, जापानबाट १७ हजार ९ सय ६१, थाइल्यान्डबाट १४ हजार १४५ र भियतनामबाट १३ हजार ५ सय ४९ विद्यार्थी सशुल्क चीनमा अध्ययनरत छन्। यसैगरी रुसबाट १३ हजार ३ सय ४० र इण्डोनेसियाबाट १० हजार ९ सय ५७ जना विद्यार्थी चीनमा हाल अध्ययनरत छन्।

निरञ्जन भट्टराई र उहाँकी श्रीमतीका साथमा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई

चिनियाँ विश्वविद्यालयमा अध्ययन गर्ने चाहना विश्वभरिका विद्यार्थीको भए पनि हरेक वर्ष हजारौँदेखि लाखौँ चिनियाँ विद्यार्थीहरु अन्य देशमा अध्ययनका लागि जाने गरेका छन्। गत सेप्टेम्बर २८ तारिख (असोज १२ गते) चीनको विश्वव्यापी थिङ्क ट्याङ्क, बैंक अफ चाइना र दक्षिण पश्चिमी वित्त विश्वविद्यालयअन्तर्गत विकास अनुसन्धानालयले संयुक्त सम्पादन गरेको ‘विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीसम्बन्धी प्रतिवेदन २०२२’ निलो पत्र सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरूको सम्पूर्ण अवस्थाको जानकारी समेटिएको छ। साथै, चीनमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीलाई अझै धेरै सङ्ख्यामा स्वागत गर्ने चीनले उद्घोष गरेको छ।

उक्त प्रतिवेदनका अनुसार सन् २०१९ मा विदेशी विश्वविद्यालयहरूमा अध्ययनरत चिनियाँ विद्यार्थीहरूको संख्या १० लाख ६१ हजार ५११ रहेको थियो। एउटै देशबाट विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा चीन विश्वमा पहिलो स्थानमा पर्दछ।

श्वव्यापी थिङ्क ट्याङ्कका सचिव तथा उक्त प्रतिवेदनका प्रधान सम्पादक म्याउ लय्वीले सन् २०२० पछि कोरोना महामारीको फैलावट र अन्तर्राष्ट्रिय स्थितिमा परिवर्तन भएकाले विदेशमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरुको अवस्थामा परिवर्तन आएको बताएका थिए।

प्रतिवेदन सार्वजनिक गर्दै उनले भनेका थिए ‘सन् २०१९ देखि २०२० सम्म विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरूको संख्या सबैभन्दा बढी थियो। करिब १० लाख चिनियाँ विद्यार्थीहरूले विदेशी विश्वविद्यालयमा पढ्दै थिए। विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरूको संख्या यथावत रूपमा बढेको थियो। भविष्यमा अरु बढी चिनियाँ विद्यार्थीहरूले युरोप र एसियाका मुलुकहरूमा पढ्ने सम्भावना छ।’

प्राप्त तथ्याङ्कअनुसार, स्नातकोत्तर डिग्री प्राप्त गर्न खोज्ने चिनियाँ विद्यार्थीहरूका लागि जीवविज्ञान, इन्जिनियरिङ र भौतिक विज्ञानलगायत विषयहरू सबैभन्दा लोकप्रिय छन्। यसका अतिरिक्त, वाणिज्य र कानुन लगायतका विषय पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या पनि बढ्दै आएको देखिन्छ।

सीसीटीभीमा प्रसारित निरञ्जन भट्टराई र चाउ एनलाईको एक दृश्य

उक्त प्रतिवेदनले औँल्याएअनुसार, बितेका केही वर्षदेखि विदेशमा पढ्ने चिनियाँ विद्यार्थीहरूको अध्ययन सकिएपछि चीन फर्किने प्रवृतिमा वृद्धि भएको देखिन्छ। चीनमा फर्केर काम गर्ने उत्साह बढ्दै आएको भन्दै म्याउले भने ‘सन् २०१९ मा मात्र विदेशबाट फर्किएका चिनियाँ विद्यार्थीहरूको संख्या ५ लाख ८० हजार पुगेको थियो। यो अंक निरन्तर रूपमा बढेको थियो। सन् २०१९ को अन्त्यसम्म कुल ४२ लाख ३० हजार चिनियाँ विद्यार्थीहरू अध्ययन सकेर चीन फर्केका थिए। उनीहरू चीनको महत्त्वपूर्ण श्रम शक्ति बनेका छन्।’

विदेशबाट फर्केका चिनियाँ विद्यार्थीहरूको रोजगारी र स्वरोजगारी सम्बन्धी सर्वेक्षण प्रतिवदनका अनुसार, सन् २०२० मा विदेशबाट फर्केका चिनियाँ विद्यार्थीहरूले चिनियाँ व्यवसायलाई व्यक्तिगत विवरण पठाउने संख्या सन् २०१९ को तुलनामा ६७.३ प्रतिशतले बढेको छ।

चीनमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीहरूको स्थितिको पनि सो प्रतिवेदनले विश्लेषण गरेको छ। सन् २०१८ मा अध्ययन गर्न चीन आएका विदेशी विद्यार्थीहरूको संख्या विश्वको तेस्रो स्थान र एसियाको पहिलो स्थानमा पुगेको थियो। अरु बढी विदेशी विद्यार्थीहरूले चीनमा पढ्ने चाहना गर्दै आएका छन्।

विश्वव्यापी थिंक ट्यांकका प्रमुख तथा सो प्रतिवेदनका प्रधान सम्पादक वाङ ह्वै याउले भनेका छन् ‘चीन अझ खुला हुँदै आएको परिप्रेक्षमा अरु बढी विदेशी विद्यार्थीहरूले चीन र विदेशका जनता बीचको आदान-प्रदान गर्न सक्छन्। जसबाट चीन र अरु देशले संयुक्तरूपमा विश्व सञ्चालनमा भाग लिन सक्नेछन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved