ढले ओलीका मुख्य खम्बा, संसदीय राजनीतिमा धक्का

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनेर चिनिँदै आएका अधिकांश प्रभावशाली नेताले यो चुनावमा पराजय भोगे। ओलीका सबैभन्दा नजिक रहेर पार्टीको उपल्लो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेता नै चुनावमा पराजित भए ।

नेपालभ्युज

ढले ओलीका मुख्य खम्बा, संसदीय राजनीतिमा धक्का

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनेर चिनिँदै आएका अधिकांश प्रभावशाली नेताले यो चुनावमा पराजय भोगे। ओलीका सबैभन्दा नजिक रहेर पार्टीको उपल्लो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेता नै चुनावमा पराजित भए ।

ओलीको सबैभन्दा नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गर्ने महेश बस्नेतदेखि पार्टीका दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले समेत जित निकाल्न सकेनन् ।

अध्यक्ष ओलीका असाध्यै निकटवर्ती भनिएकाहरु वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेताहरू भानुभक्त ढकाल, राजन भट्टराई, महेश बस्नेत, विशाल भट्टराईलाई जनताले पत्याएनन् ।

ओलीको कोटरीमा रहेका थोरै मात्र नेताले चुनाव जिते। विश्वासपात्र मध्येका कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोट र सूर्य थापा मात्रै संसदमा पुग्न सफल भए ।

दोस्रो वरियताका पोखरेलको हार

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल  काठमाडौ ५ मा कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भए । पार्टीले तनहुँमा टिकट व्यवस्थापन गर्न नसकेपछि जुनसुकै क्षेत्रमा पनि चुनाव लड्ने आँट गरेर आएका युवालाई काठमाडौं ५ का मतदाताले पत्याए।

तर एमालेको शीर्ष स्थानमा बसेका पोखरेललाई भने पत्याएनन् । पोखरेल ओलीको उत्तराधिकारी बन्ने लाइनमा थिए।

महासचिव पोखरेललाई झड्का

दाङ २ बाट चुनाव लडेका महासचिव शंकर पोखरेलले पनि हारे। ओलीको आलोचनामा उत्रिँदा बलियो बचाउ गर्ने नेता थिए पोखरेल। ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा पोखरेलले बलियो साथ दिएका थिए। उक्त साथकै कारण होला ओलीले महासचिवमा एमालेका अरू ‘सिनियर’ नेतालाई पछि पारेर पोखरेललाई अघि बढाए ।

ओलीसँगको बलियो सम्बन्धकै कारण मुख्यमन्त्री र पार्टी महासचिव बन्न सफल भएका पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले प्रतिनिधिसभाको यात्रामा भने ‘ब्रेक’ लगाइदिइन्।

महासचिव पोखरेलको हारले एमालेको आन्तरिक राजनीति र भावी नेतृत्व दौडमा समेत असर पार्न सक्ने आँकलन गरिएको छ। पोखरेललाई ओलीको मुख्य सल्लाहकार मानिन्थ्यो । उनी पार्टी अध्यक्ष हुने लाइनमा पनि थिए । तर यो हारले धक्का लगाएको छ ।

ज्ञवालीलाई पनि काम लागेन ओलीको साथ

उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग गुल्मी १ मा पराजित भए। एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएपछि ओलीले अर्को दरिलो खम्बा संसदीय यात्रामा गुमाए।

ज्ञवालीले पनि ओलीका हरेक विवादित कदमको प्रतिरक्षा गर्दै आएका थिए। पार्टीभित्र पनि राम्रो प्रभाव जमाउँदै गएका ज्ञवालीलाई ओलीले महाधिवेशनमा उपमहासचिव बनाएका थिए ।

उनकै हाराहारीका गोकर्ण विष्टलाई सचिवमा थन्क्याएर ओलीले ज्ञवालीलाई अघि बढाए । तर जनताले भने संसदमा पठाएनन् । ज्ञवाली पनि ओलीको कोटरीका मुख्य नेता थिए । जसले संसद विघटनदेखि अध्यादेशको बाढि चलाउँदा ओलीको प्रतिरक्षा गरेका थिए । उनको हारले अध्यक्ष ओलीलाई पनि ठुलो धक्का लागेको छ ।

ओलीलाई ‘बा” भन्ने अधिकांशको हार

अध्यक्ष ओलीको सबैभन्दा प्रिय पात्रमध्येका एक हुन् महेश बस्नेत। उनीहरुबीच ‘बा’ ‘छोरा’को सम्बाेधनमा कुरा हुने गर्छ। युवासंघको नेतृत्वमा आँउदादेखिनै ओलीका हरेक राजनीतिक गतिविधिलाई नजिकबाट साथ दिँदै आएका बस्नेतले यस पटक भक्तपुर २ बाट पराजय भोगे। यसअघि २०७० मा चुनाव हारे पनि ओलीले २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योग मन्त्री बनाएका थिए।

२०७४ को आम निर्वाचनमा एमाले–माओवादी केन्द्र वाम गठबन्धन भएको समयमा भक्तपुर–२ मा कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई उनले पराजित गरेका थिए। बस्नेत अहिले सोही निर्वाचन क्षेत्रबाट कांग्रेसका दुर्लभ थापासँग पराजित भए ।

ओलीका नजिकका अर्का पात्र राजन भट्टराई पनि पराजित भए । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट कांग्रेसका गगन थापासँग फराकिलो अन्तरले हारेका हुन् । उनी ओलीका वैदेशिक मामिलामा मुख्य सल्लाकार थिए । उनी पनि ओलीका हरेक विवादित कामको प्रतिरक्षामा उत्रने मुख्य पात्र थिए ।

यस्तै ओलीका अर्का प्रिय पात्र भानुभक्त ढकाल पनि यो चुनावमा पराजित भए । उनी मोरङ ३ बाट कांग्रेस उम्मेदवार सुनिल शर्मासँग ठुलो मतान्तरले पराजित भए । स्वास्थ्यमन्त्री हुँदादेखि नै विवादमा परिरहेका ढकाल ओलीकै छत्रछाँयाका कारण पार्टीमा प्रभावशाली थिए ।

ओलीका संसदीय क्षेत्रमा सहयोग गर्ने मुख्य पात्र थिए विशाल भट्टराई । उनी पनि यो चुनावमा पराजित भएका छन् । संसदमा ओलीका पक्षमा कडा रुपमा उत्रने विशाल खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका राजकुमार राईसँग पराजित भए।

बोलीमा लगाम नभएका तीन पात्र संसदमा

गोकुल बाँस्कोटा, सूर्य थापा र कृष्णगोपाल श्रेष्ठ । यी तीनजनालाई एमालेमा छुचो बोली भएका पात्रका रुपमा चिनिँदै आएको छ । तीनैजनाको बोलीमा कुनै लगाम हुँदैन । उनीहरु सार्वजनिक रुपमा पनि कडा मिजासका भनेर चिनिन्छन् ।

ओलीको निकटमा रहेका यी तीनैजना भने यो चुनावमा विजयी भएका छन् ।

प्युठानबाट थापा विजयी भए। त्यहाँ उनले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई हराए । उनी पहिलो पटक चुनाव लडेका हुन्। काठमाडौं ९ मा कृष्ण गोपाल श्रेष्ठले जिते। काभ्रे २ बाट गोकुल बाँस्कोटाले बाजी मारे । श्रेष्ठले बारम्बार चुनाव जित्दै आएका छन् ।

बाँस्कोटा पनि लगातार जित निकाल्न सफल भए । थुप्रै निकटवर्तीको हारमा पनि यी तीन पात्रको जितले ओलीलाई केही राहत पुगेको हुनु पर्छ ।

हारको अर्थ

एमालेमा ओलीको टिमका अधिकांशले चुनाव हार्नुले साङ्केतिक अर्थ राख्ने वामपन्थी विश्लेषक झलक सुवेदी बताउँछन् ।

उनी भन्छन्, ‘‘कांग्रेसमा केही नेताले पद नछाडे पनि केही उदाउँदा नेताका कारण पुस्तान्तरणको एउटा लय देखिन्छ। अहिले संस्थापनमा शेरबहादुर देउवा र इतर पक्षमा कोइरालापछि अरू नेताहरू गगन थापा, विश्व प्रकाश शर्मा, प्रदीप पौडेललगायत छन्। एमालेमा भने पार्टीको जिम्मेवारी लिन्छु भन्ने खासै छैनन्। ओलीसँग निकट भएकाहरुको लोकप्रियता खासै देखिँदैन। उनीहरू पार्टी नेतृत्वको लागि पनि तयार छैनन्। यस कारण हारेका हुन सक्छन्।’’

एउटा चुनाव हार्दैमा कुनै नेताको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन भने नमिल्ने उनको तर्क छ। तर यसले दिएको अर्को सन्देश भने आफ्ना नेताका गलत कामको पनि हरेक समयमा पक्षपोषण गर्नेलाई जनताले रुचाउँदैनन् भन्ने पनि हुनसक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved