३१ वर्षमा पहिलोपटक पराजय भोगेका विरोध खतिवडा

खतिवडाको पराजयमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीसमेत कारक भने । लामो समय नेपाली काङ्ग्रेसको नेता रहेका पराजुली केही समय अघि मात्र रास्वपा प्रवेश गरेका हुन् । उनले काङ्ग्रेसको ठूलो भोट लैजाँदा बर्तौलालाई सहज भएको थियो ।

३१ वर्षमा पहिलोपटक पराजय भोगेका विरोध खतिवडा

हेटौंडा। एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । मकवानपुर–२ बाट उम्मेदवारी दिएका खतिवडा नेकपा एमालेका महेश कुमार बर्तौलासँग फराकिलो मतान्तरले पराजित भएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर २ मा खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौला ३४ हजार ९ सय १६ मतका साथ विजयी भए । पराजित खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरे । बर्तौला र खतिवडाको ४ हजार ५ सय २१ मतान्तर छ ।

२०७४ साल र  त्यसअघिका निर्वाचनमा सधैं विजयी भइरहेका खतिवडाको संसद यात्रामा ब्रेक लागेको छ । संसद् विघटन हुनुअघि एमालेको सूर्य चिन्हबाट प्रत्येक निर्वाचनमा विजयी भइरहेका खतिवडा यस पटकको संघीय निर्वाचनमा सूर्य चिन्हका प्रतिद्वन्दीसँगै पराजित हुन परेको छ ।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनी एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए ।

गठबन्धनको बलमा उठेका खतिवडाको आफ्नै दलको मत थियो एकिन छैन । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार उनलाई गठबन्धनकै मतदाताको पनि मत नआएको देखिएको छ ।

खतिवडालाई हराउँदै संसद प्रवेश गरेका बर्तौला विरोधले नै राजनीति सिकाएका विद्यार्थी हुन् । संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेतामध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा विराम लागेको छ ।

उनले २०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।

उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चारपटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा-व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।

तर, पाँचौँ पटकको प्रयासमा भने उनी असफल भएका छन् ।

गुरु चेलाको भिडन्त

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलोपल्ट संसदीय चुनाव लडेका हुन् ।

बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार-प्रसार विभाग प्रमुख छन् । २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु-चेला नै एक-अर्काको प्रतिस्पर्धी बने ।

उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।

क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो ।

स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो । जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो । अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे ।

खतिवडाको पराजयमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीसमेत कारक भने । लामो समय नेपाली काङ्ग्रेसको नेता रहेका पराजुली केही समय अघि मात्र रास्वपा प्रवेश गरेका हुन् । उनले काङ्ग्रेसको ठूलो भोट लैजाँदा बर्तौलालाई सहज भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved