निर्वाचनपूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

नेपालभ्युज

काठमाडौं। निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो ।

समितिले निर्वाचन पूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता रहेको अवस्था नपाएको बताएको छ । निर्वाचन आयोग तथा सरकारका सुरक्षा निकायहरुले विगतको तुलनामा सुदृढ रुपमा निर्वाचनको तयारी भएको समितिले जानकारी दिएको छ । समितिले विगतका निर्वाचनको अनुभवले अहिलेको निर्वाचनमा मतदाता नामावली,उम्मेदवार दर्ता, निर्वाचन आचारसंहिता पालना, सुरक्षा प्रबन्ध, मतपत्र, मतदान केन्द्र, मतदाता शिक्षा, कर्मचारी व्यवस्थापनमा सुधार भएकोसमेत प्रतिवेदन सार्वजनिक भएको छ ।

निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा साँच्चै प्रजातन्त्रको सही प्रयोग भएको जस्तो आभास भएको बताए । उनले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरू टाँस्ने तथा प्रचार-प्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताए ।

उनले आफूलाई एक जनाभन्दा बढी उम्मेदवारले भोट नमागेको बताए । कार्कीले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा उम्मेदवार र पार्टीहरू सजक देखिएको बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा आयोग कडारूपमा प्रस्तुत भएको बताए । कार्कीले स्थानीय तहको निर्वाचनको अनुभवले जनता धेरै अनुशासित रहेको भन्दै निर्वाचनमा प्रजातन्त्रको परिपालना भएको देखिएको बताए । उनले पैसाको चलखेल हुने भनिए पनि अहिले देखिने गरी कतै पनि त्यस्तो नदेखिएको बताए ।

त्यस्तै,पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनको अवस्था निर्वाचनभन्दा अघिसम्म शान्त र नियमित दैनिकी स्थितिमा रहेको बताए । उनले यस्तो वातावरणले निर्वाचनलाई आन्दोलित र विचलित गरिरहेको अवस्था नभएको बताए । उनले राजनीतिक पार्टीका उम्मदेवारहरूलाई निर्वाचन आचारसंहिता अनुसार मौन अवधिको राम्रो रूपमा परिपालना गरेको देखिएको बताए ।

श्रेष्ठले मौन समय भनेको मतदाताहरू निर्वाचनका न्यायाधीशहरू भएकाले आफूले पाएको सूचनाहरूको आधारमा आफ्नो विवेक प्रयोग गर्नलाई सोच्ने समय भएको बताए । उनले मौन समय अविचलित,अप्रभावित र हस्तक्षेपरहीत समय भएको बताए । उनले विगतको तथा स्थानीय तहको निर्वाचनभन्दा निर्वाचन प्रणाली विकसित र व्यवस्थित हुँदै गएको पाएको पनि बताए । उनले निर्वाचन आयोगको निरन्तर प्रयासले निर्वाचन बढी खर्चिलो हुन नपाएको बताए ।

त्यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रजातन्त्रको अभ्यासको बाटोमा हिँडेपछि निर्वाचन प्रणालीमा सुधार आएको देखिएको बताए । उनले निर्वाचन व्यवस्थापनमा सुधार,राजनीतिक दलहरूले आचारसंहिताको बाटोमा हिँडेको र कर्मचारीहरूमा जागरुकता आएको बताए ।

उनले विकसित मुलुकको जस्तो निर्वाचन प्रणाली होस् भन्ने सबैको अपेक्षा रहेको बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा हालसम्म कतै समस्या नआएको बताए । उनले समयअनुसार नयाँ-नयाँ चुनौतीहरू थपिँदै गएको भन्दै निर्वाचनसम्बन्धी अफवाह फैलाउनसक्ने सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved