इमरान खानमाथिको गोली प्रहार : पाकिस्तान अराजकताको पराकाष्ठामा पुगेको प्रमाण

इमरान खानमाथिको गोली प्रहार : पाकिस्तान अराजकताको पराकाष्ठामा पुगेको प्रमाण

गत हप्ता बजिरावादमा जे भयो, त्यो सायद पूर्वानुमानित कथा थियो । इमरान खानमाथि गरिएको बन्दुक आक्रमणले देशलाई अझ गहिरो अराजकतामा धकेलेको छ । हत्यारा प्रक्राउ परेका होलान् तर, गोली चलाइनुको कारण भने रहस्यमै छ । पूर्वप्रधानमन्त्री खानले घटनाका लागि शीर्ष सरकारी नेता र केही आईएसआई अधिकारीलाई तुरुन्तै आरोपित गरेका छन् । उनले नाम नै लिएका छन्।

यो आक्रमणमा कुनै एक्लो षड्यन्त्रकारी संलग्न हुन सक्ला, तर घटना समग्रमा एक हिंस्रक अवस्थाको उपज हो । घटनाले अस्थिरता र अराजकताको पारोलाई अझै बढाएको छ। पीटीआईको राजनीतिक यात्रालाई यसको निहुँ बनाइएको छ । सेनाको उच्च कमान्ड यतिखेर एकप्रकारको महत्त्वपूर्ण संक्रमणमा छ । यस्तो बेला सुरक्षा निकायमाथि दबाब बनाउन राम्रै हिसाब किताब भरिएको छ। इमरान खानले राष्ट्रपतिलाई लेखेको पत्रमा ‘कानुन र संविधानको उल्लंघन र शक्तिको दुरुपयोग’ का विरुद्ध कार्य गर्नका साथै आईएपीआरलाई ‘स्पष्ट परिचालन’ मापदण्ड निर्धारण गर्न आह्वान गर्नुले राजनीतिक ध्रुुवीकरण र विभाजनले जोड पक्रेको छ ।

खानले राष्ट्रपतिलाई उनले ‘गम्भीर गल्तीहरू’ भनेर औंल्याएका कुरालाई ध्यान दिन आह्वान गरेका छन् । साथै, दोषीहरू उपर नियन्त्रणको माग गरेका छन् । प्रष्टै छ– खानको संकेत सेनाको संस्थापन पक्ष भित्रैतिर छ । खानको राष्ट्रपतिलाई कारबाहीका लागि अपिल ती आईएसआई र आईएसपीआर अधिकारीतिर लक्षित छ जसले गत अप्रिलमा मिडिया ब्रिफिङ गर्दै पूर्वप्रधानमन्त्रीको ‘विदेशी षड्यन्त्रको भाष्य’ झुठो कथा हो भन्दै निन्दा गरेका थिए । खानले आफूलाई विदेशी षड्यन्त्रमार्फत् सत्ताच्युत गरिएको बताउँदै आएका छन्।

पूर्व संघीयमन्त्री तथा सिनेटर आजम स्वातीलाई कथित हिरासतमा यातना दिइएपछि पीटीआई र सुरक्षा निकायबीचको गतिरोध झनै खराब भएको थियो । विवादास्पद ट्विट गरेको आरोपमा पक्राउ परेका वृद्ध सिनेटर अहिले धरौटीमा छुटेका छन्। उनले यस अपराधमा दुई वरिष्ठ गुप्तचर अधिकारी संलग्न भएको आरोप लगाएका छन्।

यसैबीच, उनी र उनकी श्रीमतीलाई देखाएको आपत्तिजनक भिडियो सार्वजनिक भएको छ । त्यसले राजनीतिक विभाजनलाई जनआक्रोशमा पुर्‍याएको छ । पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएको बृद्ध सिनेटरको तस्वीरले देश नै हल्लायो । माननीय सांसदको निजी जीवनको भिडियो खिचेर सार्वजनिक गर्ने जस्तो घृणित कार्य अरू केही हुन सक्दैन । अनुमानित नै सही, यसका घृणित कार्यका लागि सुरक्षा निकायतर्फ नै औँलाहरू उठेका छन्।

इमरान खानले आफूलाई मार्ने षड्यन्त्रमा संलग्न संदिग्ध व्यक्तिहरूको रूपमा प्रधानमन्त्री, गृहमन्त्री र गुप्तचर अधिकारीहरूको नाममा जाहेरी गर्ने जिद्दी गरेपछि सुरक्षा संस्थापनसँगको तनाब बढेको छ । आईएसपीआरले यो आरोपको कडा र आश्चर्यजनक खण्डन गरेको छ । सेनाको प्रेस वक्तव्यमा खानका ती आरोपलाई ‘आधारहीन र गैरजिम्मेवार’ भन्दै अस्वीकार गरिएको छ । साथै, यो चेतावनी दिइएको छ कि ‘संस्था र सेनाका वरिष्ठ अधिकारी’ विरुद्धका आरोपहरू ‘बिल्कुलै अस्वीकार्य र अनावश्यक’ हुन् । सेनाले यो पनि भनेको छ कि सुरक्षा निकायको बदनामी हुने अभिव्यक्तिका लागि पूर्वप्रधानमन्त्री खानलाई सरकारले कारबाही गरोस् ।

यस प्रकारको सार्वजनिक आरोप-प्रत्यारोप आफैँमा दुर्लभ र घृणित कार्य हो । यसले पूर्वप्रधानमन्त्री खान र उनका भूतपूर्व संरक्षकहरूबीचको वैमनष्यतालाई स्पष्ट गर्दछ । सैनिक नेतृत्वमाथि खानको आक्रोशले यो स्पष्ट पार्दछ कि जर्नेलहरूसँग भइरहेको पर्दा पछाडिको वार्ताले कुनै सार्थक उपलब्धि हासिल गरेको छैन ।
प्रष्ट छ कि खानका मागहरू सेनालाई स्वीकार्य हुन सकिरहेका छैनन्, तर बढ्दो लोकरञ्जनवादी समर्थनले खानको घमण्ड भने चुलिएको छ।

संघमा विपक्षमा हुँदा हुँदै पनि पीटीआई आजाद काश्मिर र गिल्गिट–बाल्टिस्तानमा सत्तामा छ भने थप दुई प्रदेशको राजनीतिमा महत्त्वपूर्ण प्रभाव राख्दछ । पञ्जाब सरकारमा हुनुले पीटीआईलाई ठूलो राजनीतिक लाभ भइरहेको छ। यसले सृजना गर्ने चुनौती सामना गर्न केन्द्रको संस्थापनलाई निकै गाह्रो भइरहेको छ । यसका बाबजुद आफ्नो हत्या गर्ने प्रयास गरेको आरोपमा वरिष्ठ सैनिक अधिकारीलाई आरोपित गर्दै जाहेरी गर्न खानलाई सम्भव भइरहेको छैन । प्रदेश मुख्यमन्त्री आफैँले यसको विरोध गरेका छन्। मुख्यमन्त्री प्रवेज इलाहीलाई नै सेनालाई मनाउन गाह्रो भयो ।

पीटीआई प्रमुखका सबै प्रयत्नका बाबजुद प्रधानमन्त्री, गृहमन्त्री र वरिष्ठ गुप्तचार अधिकारीविरुद्ध मुद्दा दायर गर्न प्रहरीले अस्वीकार गर्‍यो । सर्वोच्च अदालतले घटनास्थलमा पक्राउ परेका बन्दुकधारीको मात्रै नाम उल्लेख गरी प्रथम सूचना दर्ता गर्ने आदेश दिएपछि जाहेरीमा त्यही मात्र नाम परेको छ। यो कुरा पूर्वप्रधानमन्त्री खानको शक्तिको सीमितताबारे सेनाको प्रष्ट सन्देश थियो । सेनाले पूर्वप्रधानमन्त्री खानका आरोपको खण्डन सीमाभन्दा अघि नबढ्नका लागि चेतावनीसमेत थियो । तर, यसले पनि खानका कदमलाई रोक्न सकेको छैन ।

बजिरावाद दुर्घटनाको छानबिनका लागि पूर्ण इजलास गठन गर्न सर्वोच्च अदालतलाई अनुरोध गरेर प्रधानमन्त्रीले राम्रो कदम चालेका छन्। इमरान खान भने न्यायिक आयोगको पक्षमा उभिएका छन् । उनले आफ्नो असफल हत्या प्रयासको घटनामाथि सुरक्षा निकायको छानबिनप्रति आपत्ति प्रकट गरेका छन् । उनले यस्ता अनुसन्धानको फैसलालाई स्विकार गर्ने सम्भावना कम छ।

खानले गोलीकाण्डपछि स्थगित भएको आफ्नो ‘लङ मार्च’ फेरि सुरुवात गर्ने घोषणा गरेका छन्। जबकि, पञ्जाबका मुख्य सहरमा हिंसा फैलिरहेको छ । स्थिति शान्त हुने सम्भावना धेरै कम छ । मार्च इस्लामावाद पुग्न अझै केही दिन लाग्न सक्ने छ तर, पीटीआईका समर्थकहरूले राजधानी सहरका मुख्य प्रवेश विन्दुमा अहिले नै कब्जा जमाइसकेका छन्।

खानले माग गरेबमोजिम सेवारत वरिष्ठ सैनिक अधिकारीलाई कार्वाही गर्नु राष्ट्रपतिको संवैधानिक अधिकारभन्दा बाहिरको कुरा हुनेछ । तर, खानले राष्ट्रपतिलाई पठाएको पत्रले देशको शक्ति संरचनामा भएको फराकिलो त्रुटि रेखालाई उजागर गर्दछ । विगत एक साताका घटनाक्रमले जटिलताका गाँठाहरू खुल्न सकेका छैनन् । विभाजित राज्य संरचनाको बढ्दो स्थितिले शक्ति शून्यताको झनै खराब अवस्था निम्त्याएको छ ।

राज्य प्राधिकारको पूर्ण विघठन भएको छ । राज्यका संस्थाहरू धरमराउन थालेका छन र गृहयुृद्धको भय बढेको छ । जारी राजनीतिक ध्रुवीकरण र टक्करले लोकतान्त्रिक प्रक्रियालाई लिकबाट उतार्ने धम्की दिएका छन् । इमरान खानको सैन्य संस्थापनसँगको टसललाई नागरिक सर्वोच्चताको लडाइँ मान्न सकिँदैन । यो निर्मम शक्ति संघर्ष हो । देश समाधान विनाको संकटले अराजकतातिर धकेलिँदै छ ।

-डनबाट अनुदित 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved