प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण

नेपालभ्युज

प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण

काठमाडौं। नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन्।

एक समारोहका बीच प्रधानमन्त्री देउवाले आज भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन्। उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे।

प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल संवत्‌लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved