पार्की दाजुभाइलाई एकै दिन स्वर्ण

नेपालभ्युज

पार्की दाजुभाइलाई एकै दिन स्वर्ण

काठमाडौं। गोपीचन्द्र पार्की र शिवराज पार्की दाजुभाइ हुन्। पार्की दाजुभाइका लागि बिहीबारको दिन विशेष बन्यो। गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जितेका छन्।

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते। त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते।

३३ वर्षीय गोपीको नवौंमा पहिलो स्वर्ण भएकाले उनका लागि त्यसै पनि विशेष भयो। ३० वर्षीय शिवराजले भने नवौं राष्ट्रियमा भाग लिएका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेका छन्।

५०० हजार मिटरमा गोपीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा स्वर्ण जिते। उनले कीर्तिमान बनाउन नसके पनि आफ्नो बेस्ट टाइमिङ निकाले। यसअघि आठौंमा १४ राखेको १४ मिनेट ४३ सेकेण्डको व्यक्तिगत टाइमिङ उनले सुधार गरे।

गोपीको ५ हजारमा ह्याट्रिक

नवौंमा १० हजार मिटर दौडमा सहभागी गोपीचन्द्र दोस्रो भए। १० हजारमा स्वर्ण जित्न नसके पनि ५ हजारमा भने गोपीले स्वर्ण जिते। साथै राष्ट्रिय खेलमा ५ हजार मिटर दौडमा गोपीले स्वर्णमा ह्याट्रिक गरे। उनले सातौं र आठौंमा पनि ५ हजारमा स्वर्ण जितेका थिए।

१० हजारमा स्वर्ण जित्न नसके पनि ५ हजारमा ह्याट्रिक स्वर्ण जितेकोमा उनले खुशी व्यक्त गरे। कर्णालीका दुर्गा बहादुर बुढासँगको प्रतिस्पर्धामा बाजीमा मारेका गोपीले १४ मिनेट २९.६७ सेकेण्ड टाइमिङ निकाल्दा दुर्गाले १४ मिनेट २९.९३ सेकेण्डको टाइमिङ निकालेका थिए।

आफूले स्वर्ण जित्न अन्तिम दिन पर्खनु परे पनि भाइ शिवराजले लगातार स्वर्ण जित्दा आफूले खुशी मनाइरहेको गोपीचन्द्रले बताए। टोकियो ओलम्पिकमा सहभागी हुनबाट अन्तिम समयमा बन्चित भएका गोपीले आफ्नो लक्ष्य ओलम्पिक नै रहेको र त्यसमा डिजर्भ गर्छु भन्ने लागेको बताए।

यस्तै दाइले स्वर्ण जितेपछि आफूले पनि स्वर्ण जित्दा शिवराज निकै खुशी छन्। ‘दाजुभाइले एकै दिन स्वर्ण जित्दा धेरै खुशी छु। मैले जिते भन्दा पनि दाइको जित ठूलो हो। दाइले जित्दा धेरै खुशी छु,’ शिवराजले भने।

शिवराजले २०० मिटर दौडमा आफ्नै क्लबका आशिष धौधरीलाई पछि पारेर पदक जितेका हुन्। आशिष पहिलाको च्याम्पियन हुन्। आठौं राष्ट्रियमा १०० र २०० मिटर दुवैमा स्वर्ण जितेका आशिषको यस पटक भने स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन। दुवै विधामा शिवराजले नै स्वर्ण जिते।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved