‘हेभिवेट’लाई टक्कर दिँदै यी महिला उम्मेदवार

थोरै मात्रै महिला उम्मेदवार भए पनि ती मध्य कतिपय उम्मेदवार ‘हेभीवेट’का लागि चुनौती बनेका छन्। दाङ, गुल्मी, डोटी लगायतका जिल्लामा महिला उम्मेदवारले यसपटक पुरुष नेतालाई कडा टक्कर दिँदैछन् ।

नेपालभ्युज

‘हेभिवेट’लाई टक्कर दिँदै यी महिला उम्मेदवार

काठमाडौं। राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्। थोरै मात्रै महिला उम्मेदवार भए पनि ती मध्ये कतिपय ‘हेभीवेट’का लागि चुनौती बनेका छन्। दाङ, गुल्मी, डोटी लगायतका जिल्लामा महिला उम्मेदवारले यसपटक पुरुष नेतालाई कडा टक्कर दिँदैछन् ।

दाङ– २ मा एमाले महासचिव शंकर पोखरेलेसँग प्रतिस्पर्धामा छिन् माओवादी केन्द्रकी नेतृ रेखा शर्मा। २०७० र २०७४ की समानुपातिक सांसद उनी यसपटक प्रत्यक्ष चुनाव लडेकी हुन्। यसअघि प्रदेशमा जितेका पोखरेल अहिले प्रतिनिधि सभातर्फ आएका छन्।

पोखरेल एमालेका महासचिव र केन्द्रमा प्रभुत्व राख्ने हेभिवेट नेता मानिन्छन्। शर्मा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरिसकेकी नेतृ हुन्। शर्मा र महासचिव पोखरेलबीच कस्तो प्रतिस्पर्धा होला भन्ने चासो भइरहेको छ । शर्मालाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ भने एमालेका उम्मेदवार पोखरेल एक्लै उभिएका छन्।

यसपटक पोखरेललाई शर्माले कडा टक्कर दिने अनुमान गरिएको छ । गठबन्धनमा घात नभएमा पोखरेललाई चुनाव जित्न सहज नहुने आकलन धेरैको छ ।

डोटी मा नेकपा एमालेकी गौरी ओली नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व पर्यटन मन्त्री प्रेम आलेसँग भिड्दै छिन्। पूर्वमन्त्री आले २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित सांसद हुन्। एमाले विभाजित भएपछि नेकपा एसमा गएका आले फेरि चुनावी मैदानमा छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको सो जिल्लाबाट एमालेले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज ओलीलाई उम्मेदवार बनाएको हो।

आलेलाई गठबन्धनका कारण केही सहज भए पनि ओली पनि मजबुत उम्मेदवार हुन् ।

गुल्मी– २ मा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पनि हेवीवेटसँग भिड्दै छिन्। उनी एमाले सचिव गोकर्ण विष्टसँग चुनावी भिडन्तमा छिन्। एमाले विभाजनअघि उनीहरू सहकर्मी थिए। विष्ट प्रत्यक्षमा चुनाव जितेर सांसद भएका थिए भने झाँक्री समानुपातिक ।

झाँक्री पूर्व मन्त्रीसमेत हुन्। विष्ट पटक–पटक सांसद र मन्त्री भइसकेका छन् । अघिल्लो चुनावमा उनले वाम गठबन्धनका बलमा फराकिलो अन्तरको जित निकालेका थिए । त्यतिबेला झाँक्री सँगै थिइन । तर, एमाले विभाजनसँगै उनी नेकपा एसमा गएकी हुन्। यी दुई पूर्व सहकर्मीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ।

काठमाडौं– ९ मा नेकपा माओवादी केन्द्रकी कल्पना धमला पनि एमालेका चर्चित नेतासँग चुनावी भिडन्तमा छिन्। पूर्व शिक्षा स्वास्थ्य तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग भिड्ने कल्पना पनि पूर्वमन्त्री हुन्। उनी सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी छन्।

२०६४ मा धादिङ–२ बाट निर्वाचित भएकी धमला डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्री थिइन्। कृष्णगोपाल २०४८ मा काठमाडौं– ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं– ७ बाट निर्वाचित उनले अघिल्लो पटक काठमाडौं ९ बाट चुनाव जितेका थिए ।

धमलालाई गठबन्धनको साथ छ भने श्रेष्ठलाई स्थानीय हुनुको फाइदा । त्यसैले यी दुईबीचको भिडन्त पनि रोचक हुने अनुमान गरिएको छ ।

दाङ– १ मा शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीसँग एमाले नेतृ शान्ता चौधरी भिड्दै छिन्। विगतका सहकर्मी उनीहरू एमाले विभाजनसँगै प्रतिस्पर्धी बनेका हुन्। मेटमणि २०७४ मा दाङ– १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । शान्ता भने समानुपातिक सांसद बनेकी थिइन् ।

थारू समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवार सोही समुदायबाट छन् । मेटमणिलाई गठबन्धनको साथ रहे पनि कांग्रेसको कति मत जान्छ भन्ने यकिन छैन । त्यसैले उनलाई शान्ताले कडा टक्कर दिने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved