ओलीको खालमा उपेन्द्रको च्याँखे : सत्तारुढ दललाई यसरी गुन लगाएर गयो जसपा

जसपाको बहिर्गमनपछि सत्ता गठबन्धनका सबै दल सिट संख्यामा सन्तुष्ट हुने वातावरण बनेको छ । अझ लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई पनि गठबन्धनमा समेटेर जसपाबाट हुने क्षति केही हदसम्म पूर्ति गर्ने प्रयास भएको छ । जसपाको बहिर्गमनले गठबन्धनभित्रको अविश्वास र किचलो धेरै हदसम्म समाप्त भएको छ। गठबन्धन र दलहरूभित्रको असन्तुष्टि साम्य पार्ने अवसर बन्नु राजनीतिमा एक प्रकारको फाइदा नै हो । यसले गर्दा गठबन्धनका दल र कार्यकर्ता अझ बढी सक्रिय र एकताबद्ध हुने सम्भावना बढ्छ । अन्तिम क्षणमा सत्तारुढ गठबन्धनबाट बाहिरिएर जसपाले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई गुन लगाएको छ। 

ओलीको खालमा उपेन्द्रको च्याँखे : सत्तारुढ दललाई यसरी गुन लगाएर गयो जसपा

काठमाडौं। मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाहरूको निर्वाचनका लागि उम्मेद्वारी दर्ताको २ दिन अघि राष्ट्रिय राजनीतिको समीकरणमा नाटकीय बद्लाव आयो । सत्तारुढ ५ दलीय गठबन्धनको तेस्रो ठूलो दल जसपा गठबन्धनबाट बाहिरिएको मात्र छैन, प्रतिपक्षी दल नेकपा ( एमाले ) सँग चुनावी तालमेल समेत गरेको छ ।

२०७७ साल पुस ५ गते तत्कालीन नेकपा (नेकपा) सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको असंवैधानिक विघटन गरेपश्चात् त्यस कदमलाई ‘प्रतिगमन’ भन्दै जसपा गठबन्धनमा सामेल भयो । ओलीको दोस्रोपटकको संसद् विघटनको समेत जसपाले विरोध गरेको थियो। यही राजनीतिक मतभेदका कारण जसपा विभाजित भई लोसपा गठन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठनदेखि नै जसपा सत्ता गठबन्धनको एक महत्त्वपूर्ण घटक रहँदै आएको थियो ।

जसपा कार्यकारिणी समितिको बैठकले केही दिनअघि ‘गठबन्धनबाहिरका अन्य दलसँग पनि चुनावी तालमेल गर्न सकिने वा एक्लै पनि चुनावमा जान सकिने’ निर्णय गरेको थियो । यस निर्णयपछि जसपाले सत्तारुढ गठबन्धन छोड्न सक्ने सम्भावना बढेको थियो ।

पाँचदलीय गठबन्धनका अन्य दल भने जसपालाई ‘साइजमा राखेरै’ मनाउने प्रयत्नमा थिए। गठबन्धनमा आफ्नो पार्टीको शक्ति र भूमिकालाई नजरअन्दाज गरिएको गुनासो जसपा नेताले गर्दै आएका थिए । अर्कोतिर विपक्षी एमाले भने गठबन्धनको कुनै न कुनै घटकलाई तोडेर सत्तारुढ गठबन्धनलाई कमजोर पार्ने रणनीतिमा थियो।

सत्तारुढ गठबन्धनको वास्तविक स्थितिको प्रष्ट चित्र नभइसकेको कारणले एमाले टिकट वितरण नगरिकन पर्खेर बसेको थियो । लोसपा र राप्रपाले एमालेसँग तालमेल वा गठबन्धन गर्ने मनसाय बारम्बार व्यक्त गरेका थिए । तर, गठबन्धनभित्रको जसपालाई फोड्न सकिने सम्भावनालाई दृष्टिगत गरी एमालेले लोसपा र राप्रपाप्रति खासै रुचि देखाइरहेको थिएन। यसबाट एमालेले लोसपा र राप्रपालाई भन्दा जसपालाई बढी महत्त्व दिएको प्रष्टै बुझ्न सकिन्थ्यो ।

गठबन्धनबाट कुनै न कुनै घटकलाई बाहिर निकाल्नु एमालेका लागि राप्रपा र लोसपासँग तालमेल गर्नु भन्दा बढी लाभदायक र उपयुक्त चुनावी रणनीति हुन सक्दथ्यो । किनकि, ५ दलीय गठबन्धन कायमै रहेको अवस्थामा राप्रपा र लोसपासँगको तालमेल र गठबन्धनले तात्विक भिन्नता ल्याउने थिएन। संसदीय चुनावको रणनीतिमा आफ्नो थैली बलियो बाँधेर मात्र हुँदैन, विपक्षी मोर्चालाई कमजोर बनाउने कला र चातुर्यसमेत चाहिन्छ । यो एमाले अध्यक्ष ओलीले नबुझ्ने कुरा थिएन।

विशेषतः मधेस राजनीति र राष्ट्रिय शक्ति समीकरणमा जसपाको भूमिका अद्यपि महत्त्व पूर्ण हुन सक्ने देखिन्छ । जसपा मधेस सरकारको नेतृत्वदायी दल हो । यो गत स्थानीय निर्वाचनमा मधेस प्रदेशमा तेस्रो ठूलो र समग्र देशमा चौथो ठूलो दलका रुपमा स्थापित भएको थियो। स्थानीय निर्वाचनको मत आँकलन गर्दा जसपाले करिब ६ प्रतिशत मत प्रभावित गर्न सक्ने सम्भावना देखिन्छ ।

त्यसो त स्थानीय चुनावपछि यो दलमा उल्लेखनीय विग्रह र विभाजनसमेत भएको छ । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव समूहले भिन्नै नेपाल समाजवादी पार्टी गठन गरेका छन्। त्थापि जसपा अझै ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ जस्तो देखिन्छ । जसपाको भूमिकाले प्रत्यक्ष तर्फको निर्वाचन परिणामलाई कुनै न कुनै मात्रा प्रभावित गर्दछ ।

सत्तारुढ गठबन्धनले जसपालाई १६ सिट दिन चाहेको थियो । जसपाले गठबन्धनबाट कम्तीमा २० सीटको अपेक्षा गरेको थियो । तर, एमालेसँगको गठबन्धनमा पनि उसलाई एक सिट मात्रै बढी प्राप्त भएको छ । त्यसैले यस्तो गठबन्धनको राजनीतिक फाइदा जसपालाई भन्दा बढी एमालेलाई नै हुन सक्दछ । जसपासँगको नयाँ समीकरण र सहकार्यले एमालेलाई ३ वटा प्रष्ट देखिने राजनीतिक फाइदा हुनेछ ।

एक– एमालेमाथि लाग्ने गरेको मधेस, संघीयता र पहिचान विरोधी आरोप कमजोर वा मत्थर हुनेछ । मधेस आन्दोलनको नेतृत्वकर्ता, पहिचानसहितको संघीयताको मुख्य पैरवीकर्ता दल नै एमाले गठबन्धनमा सामेल भएपछि त्यस्ता आरोप  आफैँ फितलो सावित हुनेछ । एमालेका लागि सबैभन्दा कमजोर मानिएको मधेस प्रदेशमा जरा गाड्ने अवसर प्राप्त हुनेछ ।

दुई– ५ दलीय गठबन्धन सुदृढ भएको अवस्थामा एमालेका लागि प्रत्यक्ष निर्वाचनतर्फको जोखिम निक्कै उच्च हुन्थ्यो । गठबन्धनबाहिरका अन्य सबै दललाई समेटेर त्यो जोखिमको मात्रा कम गर्न त एमालेले सक्थ्यो, तर त्यो निर्णायक हुने सम्भावना कम थियो । चुनावी रणनीतिका दृष्टिले ५ दलीय गठबन्धनलाई फोड्नु एमालेको अनिवार्य आवश्यकता जस्तो थियो ।

तीन–५ दलीय गठबन्धनको कारणले एमाले राजनीतिक वृत्तमा एक्लोजस्तो बन्दै गएको थियो । उसलाई कोही न कोही भरपर्दो राजनीतिक साझेदार चाहिएको थियो । एकातिर ५ दलीय गठबन्धन र अर्कोतिर एमाले एक्लै वा लोसपा र राप्रपाजस्ता कमजोर संगठन, जनमत र छवि भएका दल हुँदा मतदाताको मनोविज्ञान एमालेको अनुकूल हुन त्यति सहज थिएन । तसर्थ गठबन्धन वा तालमेलको खाल थापेर बस्नु एमालेको राजनीतिक बाध्यताजस्तो थियो ।

तर, एमालेको खालमा च्याँखे थापेर जसपाले भने ठूलो राजनीतिक जोखिम मोलेको छ । पहिलो कुरा त एमालेसँगको गठबन्धनपछि जसपाको राजनीतिक मुद्दा कमजोर बनेको छ । मूलतः मधेस आन्दोलन विरोधी भावनाको नेतृत्व गरेको, पहिचान सहितको संघीयता हुन नदिएको, प्रदेशहरूको पहिचान आधारित नामांकनमा अवरोध गरेको र नागरिकता विधेयकमा राष्ट्रपतिमार्फत् बखेडा निकालेर जन्मसिद्धका सन्तानको समस्या हल हुन नदिएको वा वैवाहिक अंगीकृतमा मधेसी समुदायका लागि असहजता सिर्जना हुने प्रावधान राख्न खोजेको आरोप जसपाले एमालेमाथि लगाउँदै आएको थियो ।

एमालेसँगको गठबन्धनपछि जसपाका यी सबै मुद्धा कमजोर भएका छन् । अब विचार, सिद्धान्त र एजेण्डाप्रतिको जसपाको दाबी हास्यास्पद वा अविश्वासनीय बन्ने छ । साथै, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक गरेको असंवैधानिक संसद विघटनलाई ‘प्रतिगमन’ भन्ने राजनीतिक तथा नैतिक अधिकारसमेत जसपाले गुमाएको छ । प्रदेशसभाका केही थप सिटको लोभमा जसपाले आफ्नो राजनीतिक हैसियतलाई साँच्चैको च्याँखे दाउमा राखेको छ ।

त्यो भिन्नै कुरा हो कि सत्तारुढ ५ दलीय गठबन्धनसँग जसपाका सबै एजेन्डा मिल्दैनथे । तथापि प्रतिनिधिसभाको असंवैधानिक विघटन विरुद्धको राजनीतिक मोर्चाका रूपमा ५ दलीय गठबन्धनको झिनो राजनीतिक आधार बाँकी थियो । एमालेसँगको जसपाको गठबन्धन झनै अवैचारिक, अराजनीतिक र विजातीय देखिनेछ । पार्टी कार्यकर्ता, शुभेच्छुक र मतदाताको आँखामा यस्तो गठबन्धन अस्वाभाविक छ, बिझाउने छ । त्यसबाट हुने राजनीतिक हानीसमेत जसपाले बेहोर्नुपर्ने छ ।

अंक गणितका हिसाबले पनि एमालेसँगको गठबन्धन जसपाका लागि फलदायी नहुन सक्दछ । किनकि, ५ दलीय गठबन्धनमा जसपाले प्राप्त गर्ने सिट लगभग सबै जसो जित्ने सम्भावना हुन्थ्यो । तर, एमालेसँगको गठबन्धनमा जितको सुनिश्चतता हुँदैन । जसपाले प्राप्त गर्ने अधिकांश सिट मधेस प्रदेशमा छन् । स्थानीय चुनावको जनमतलाई हेर्दा त्यहाँ नेपाली कांग्रेस पहिलो पार्टी हो । मधेसमा कांग्रेस र जसपा बीचको गठबन्धन जति प्रभावकारी र निर्णायक हुन सक्थ्यो, एमालेसँग त्यति हुनेछैन ।

जसपाको बहिर्गमनपछि सत्तारुढ गठबन्धनमा एकप्रकारको स्तब्धता देखिए पनि अर्को कोणबाट भने सहजता सिर्जना गरेको छ । ५ दल बीच सिटको भागबन्डा गर्नु पर्दा त्यहाँ सबै दल असन्तुष्ट थिए । नेतृत्वकर्ता कांग्रेस आफै असन्तुष्ट थियो । माओवादी केन्द्र र नेकपा ( एकिकृत समाजवादी ) पनि खासै सन्तुष्ट थिएनन् । राष्ट्रिय जनमोर्चालाई भने जसपाको बहिर्गमनले खासै फरक पर्ने देखिन्न । उसले दाबी गरिरहेका २ सीटमा जसपाको दाबी थिएन ।

जसपाको बहिर्गमनपछि सत्ता गठबन्धनका सबै दल सिट संख्यामा सन्तुष्ट हुने वातावरण बनेको छ । अझ लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई पनि गठबन्धनमा समेटेर जसपाबाट हुने क्षति केही हदसम्म पूर्ति गर्ने प्रयास भएको छ । जसपाको बहिर्गमनले गठबन्धनभित्रको अविश्वास र किचलो धेरै हदसम्म समाप्त भएको छ।

गठबन्धन र दलहरूभित्रको असन्तुष्टि साम्य पार्ने अवसर बन्नु राजनीतिमा एक प्रकारको फाइदा नै हो । यसले गर्दा गठबन्धनका दल र कार्यकर्ता अझ बढी सक्रिय र एकताबद्ध हुने सम्भावना बढ्छ । अन्तिम क्षणमा सत्तारुढ गठबन्धनबाट बाहिरिएर जसपाले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई गुन लगाएको छ।

समग्रमा सत्तारुढ गठबन्धनबाट जसपाको नाटकीय र अराजनीतिक बहिर्गमनले मंसिर ४ गतेको निर्वाचन परिणाममा तात्विक फरक नआउन सक्छ । किनकि, मधेसमा लोसपाको राम्रै प्रभाव छ । केही जिल्लामा एकीकृत समाजवादीले पनि राम्रै उपस्थिति देखाएको छ । माओवादी कमजोर देखिए पनि केही क्षेत्रमा उसको पनि उल्लेख्य मत छ । कांग्रेस त झन् सबैभन्दा ठुलो दल नै हो । यी दलबीचको गठबन्धनले परिणाम जसपाका लागि स्तब्ध बनाउने खालको आयो भने आश्चर्य हुनेछैन ।

एकातिर सिटमा पनि फाइदा नहुने र अर्कातिर राजनीतिक मुद्दा पनि सकिने अवस्था आउनु जसपाको राजनीतिक भविष्यकै लागि ठूलो दुर्भाग्य हुनेछ । जुन कुरा जसपाको नेतृत्वले जानजानी निम्त्याएको छ । अर्कातिर जसपाका पछिल्ला क्रियाकलापले राजनीतिक दलहरूका लागि विचार, सिद्धान्त र मुद्दा भनेको फलत: देखाउने दाँत मात्रै हुन्, चपाउने दाँत भनेको सत्ता स्वार्थ मात्रै हो भन्ने अभ्यास र बुझाईलाई झनै गहिरो बनाएको छ । लोकतन्त्रलाई अनैतिक र अराजनीतिक सेन्डिकेटतन्त्र बनाउने दुस्प्रयासहरू झनै बलशाली हुनेछन् । यसको बात जसपाले अझ बढी बेहोर्नुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved